स्थानीय तहले जग्गा नदिएपछि जनता आवास कार्यक्रम राेकियाे – Naya Bikalpa
November 13, 2026, Friday      Epaper

स्थानीय तहले जग्गा नदिएपछि जनता आवास कार्यक्रम राेकियाे


नयाँ विकल्प


सप्तरी -दलित, भूमिहीन, सुकुम्बासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा सिरहा र सप्तरीमा जनता आवास कार्यक्रम प्रभावित भएको छ । सरकारले जनता आवास कार्यक्रमका माध्यमबाट भूमिहीन, सुकुम्बासी, दलित परिवारका लागि आवास भवन बनाउन लागे पनि भवन निर्माणका लागि चाहिने जग्गा व्यवस्थापन नहुँदा भवन कुन ठाउँमा भने अन्योल बढेको हो ।

आवास भवनका लागि छनोट भएका लाभग्राहीसँग घर बनाउन जग्गा नभएको खण्डमा स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले त्यसमा सक्रियता नदेखाउँदा जनता आवास कार्यक्रम निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भइरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरी राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।

“धेरैजसो विपन्न, दलित परिवारसँग घर बनाउने जग्गा छैन्”, प्रमुख झाले भने, “जसका कारण घर कहाँ बनाइदिने अन्योल छ, ती परिवारको घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई पटकपटक पत्राचार गरे पनि अझै व्यवस्था गर्न सकेको छैन् ।” कतियप स्थानीय तहले जग्गा व्यवस्थापन मिलाए पनि लाभग्राही त्यो जग्गामा जान नरुचाएका कारण जनता आवास भवन बनाउन नसकिरहेको प्रमुख झाको भनाइ छ ।

कतिपय स्थानीय तहले व्यवस्थापन गरेको जग्गामा लाभग्राही जान रुचाए पनि वरिपरिका जग्गाधनीले विभिन्न बहानामा अवरोध सिर्जना गर्ने गरेका कारण पनि जनता आवास कार्यक्रम प्रभाबित भएको उनले बताए । जग्गा व्यवस्थापन गर्न नसकेको दुवै जिल्लाका स्थानीय तहलाई माघ मसान्तभित्रमा जग्गा व्यवस्थापन नगरिए कार्यक्रम कटौती गरिने चेतावनीसहितको पत्र शहरी विकास तथा भवन निर्माण कार्यालयले पठाएको छ ।

लामो समयसम्म जनता आवास निर्माण नहुँदा विपन्न दलित समुदायको पक्की घरमा सुत्ने सपना अधुरै छ । “लाभग्राहीको सुचीमा आफ्नो नाम पनि छनोट हुँदा खुशीले गद्गद भएको थिए”, राजविराज नगरपालिका–६ का मनोज मेहतरले भने, “तर घर बनाउन चाहिने जग्गा नहुँदा समस्या भइरहेको छ ।” छनोट भएको दुई वर्ष बित्नै लाग्दासमेत जग्गा अभावमा घर निर्माण हुन नसकेको उनको दुखेसो छ ।

जग्गाको व्यवस्था मिलाइदिन वडाध्यक्षलाई पटकपटक ताकेदा गर्दासमेत अझै जग्गा व्यवस्थापन नभएकाले घर बन्ने वा नबन्ने भने चिन्तामा परेको उनले गुनासो गरे । जग्गासम्बन्धी विवादकै कारण आर्थिक वर्ष २०७६÷७७ मा छनोट भएकामध्ये सिरहाका १२१ वटा र सप्तरीको २२३ वटा आवास भवन निर्माण कार्य अझै शुरु हुन नसकेको कार्यालय प्रमुख झाले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा सिरहामा ३९७ आवास भवन छनोट भएकामा हालसम्म २७६ वटा भवन निर्माण भइरहेको छ भने सप्तरीमा ६०३ भवन छनोट भएकामा ३८० भवन निर्माण कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । निर्माणाधीन जनता आवास भवन आउँदो चैत र वैशाख महिनाभित्रमा सम्पन्न गरी लाभग्राहीलाई हस्तान्तरण गरिने प्रमुख झाले बताउनुभयो । बजेट आभावका कारण चालू आर्थिक वर्ष २०७७÷७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन ।

चालू आवमा सिरहाको औरही गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा ५०० आवास भनव बनाउन प्रक्रिया अघि बढाइसकेको प्रमुख झाले बताउनुभयो । जनता आवास जिल्ला समन्वय समितिको केही दिनअघि बसेको बैठकले सप्तरीमा एक हजार २०० आवास भवनको माग गर्ने निर्णय गरी सरकारलाई पत्र पठाएको प्रमुख झाले जानकारी दिनुभयो । बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रति घरबापत रु तीन लाख १७ हजार ५०० र शौचालयबापत रु १५ हजारसमेत गरी रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । 

सम्बन्धित समाचार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
  • २०७७ माघ १८, १४: ००

काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
  • २०७७ माघ १८, १४: ००

काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०७७ माघ १८, १४: ००

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...