पशुपतिमा सुनको जलहरी प्राचीन ऐन, २०१३ विपरीत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पशुपतिमा सुनको जलहरी प्राचीन ऐन, २०१३ विपरीत

नयाँ विकल्प
काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताए ।

नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताए । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ ।

“ऐन उल्लङ्घन गरी सुनको जलहरी राखेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण्ण ऐन, २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ”, पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य वैद्यले भने ।

सम्पदा मास्न सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनशन बस्नेसमेत उनको भनाइ थियो । सम्पदा संरक्षण अभियानमा लागेका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए । सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाइ थियो ।

पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले गुह्येश्वरीको गर्भगृहमा राखिएको सुन दश÷दश वर्षमा खिइएर जाने गरेकाले पशुपतिनाथमा समेत त्यस्तै हुनसक्ने भएकाले भण्डारीले जिम्मा लिन नसक्ने बताए ।

पशुपतिको प्राङ्गण बिस्तार गर्ने नाममा समेत सम्पदालाई नाश गर्ने काम भइरहेको उनले बताए । पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका चीजबिजसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने उनले बताए ।

अर्का पालोवाला भण्डारी ओम भण्डारीले भने हराउँदा, नासिँदा वा मासिँदा, खिइँदा भण्डारीले जिम्मा लिनु नपर्ने हो भने १०४ जना भण्डारीमध्ये धेरैले सहमति जनाउने बताए । पशुपति मूल मन्दिरभित्र सुनको घण्टा, सुनको नागलगायत सामग्री बनिसकेकाले सुनको जलहरीलाई पनि कसैले रोक्न नसक्ने उनको तर्क थियो ।

कोषले मूल मन्दिरभित्र सुनको जलहरी राख्न लागेको हो । यसका लागि सरकारले रु ३० करोड दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । करिब रु एक अर्ब सुनको जलहरी बनाउन लाग्ने कोषले जनाएको छ । अरु रकम कोषले व्यवस्थापन गर्ने जनाइएको छ ।

पशुपतिको छाना र बसाहामा पनि सुनको लेपन गरिने जनाइएको छ । छाना र बसाहामा यसअघि पनि सुनको लेपन लगाइएको थियो । कोषले पहिले लगाएको सुनको लेपन उड्न थालेकाले फेरि लगाउन लागिएको बताए पनि स्थानीयवासीले भने नउडेको बताएका छन् । कार्यक्रममा कोष र पुरातत्व विभागका अधिकारीलाई समेत बोलाइएकामा नआएको समाजले जनाएको छ । रासस

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ माघ ३०, १२: ०७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ माघ ३०, १२: ०७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ माघ ३०, १२: ०७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...