अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता दिइरहेको दाबी गर्छ । तर, सरकारकै विभाग भने बैदेशिक लगानीकर्तालाई हतोत्साहित र दुख दिँदै आइरहेको छ ।

वैदेशिक लगानी भित्र्यान राज्यले विभिन्न ऐन कानूनहरु बनाईसकेको र त्यसकै आधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाईरहेको छ । तर सरकारको एउटा निकाय अध्यागमन विभागको व्यवहारले भने प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्रै संचालित एउटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।

विभागले भिषाको विषयलाई लिएर चिनियाँ नागरिक चाङ सिङ्चोङलाई दुःख दिँदा नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा ५ वर्षदेखि चलाईरहेको गणपति ईट्टा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । यदि उद्योग बन्द भए ५० कामदारको रोजगारी र उद्योगको लगानी तथा प्रविधि गुम्ने खतरा देखिएको छ ।

गत वर्ष कोभिड १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साईसियुको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो ।

नेपालमा ओभर स्टे (लामो समय) बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनु पर्ने र एक वर्ष नेपाल आउन नपाउने भनेर निर्णय गरेको थियो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित गणपति ईट्टा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।

यसअघिका महानिर्देशक रमेश कुमार केसीले नै उनीहरुलाई चीन फर्काउन निर्णय गरेका थिए । ‘यदि लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनु पर्याे भने यहाँको उद्योग बन्द हुन सक्छ’,उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमनले गरेको सो निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग (एकल विन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवैको पासपोर्ट अध्यागमनले नियन्त्रणमा लिएर राखेको छ । हामीलाई दिएको छैन ।’

‘अहिलेका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाई हुन सकेको छैन, उनले भने, ‘यहाँ धेरै चाईनिजहरु ओभर स्टे छन् । विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे । तर हाम्रा लगानीकर्ताले राज्यलाई कर तिरेर उद्योग चलाइरहेको हुँदा उल्टै समस्या भोग्नु परिरहेको छ ।’

‘भिसा सम्बन्धी समस्या नेपाली व्यावसायिक साझेदारका कारण उत्पन्न भएको हो’ उद्योगका व्यवस्थापक मगरले भने, ‘हामीले नचाहँदा नचाहँदै पटक पटक लाखौं रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरि राख्यौं । नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र कर सम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’

‘नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आईरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिवाना तिर्दै निश्चित अवधिका लागि टुरिष्ट भिसा लिनुपर्ने र यस बीचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायतका समस्याले जरिवाना बिलम्ब शुल्क तिरी भिसा अपडेट गराई राखेको मगरले बताए ।

नेपाली साझेदार सन्दिप अधिकारीसँग चाङले उक्त ईट्टा उद्योग चलाएका हुन् । सुरुका दिनहरुमा राम्रैसँग सञ्चालन हुँदै आएको ईट्टा उद्योग २०७५ बाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाब किताब बिग्रँदै गईरहेको, नेपाली साझेदारले डकुमेन्ट तथा कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत कर सम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनीको अपडेट हुन नपाएकोले व्यावसायिक (बिजनेश) भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ ।

चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेशन ईन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा चालु रहेको गणपति ईट्टा उद्योगमा मिति २०७३ बैशाख १५ मा विदेशी लगानी स्वीकृति गराई नेपाली साझेदार सन्दिप अधिकारीसँग मिलेर उद्योग चलाईरहेको छ ।

यसअघि चिनियाँ लगानीकर्ता र अधिकारीबीच कम्पनीको विषयमा विवाद भएर अद्यावधिक हुन नसकिरहेको उक्त उद्योगको सबै हिसाब किताब तथा कर फर फारक भई नेपाली पक्षमा शेयर समेत मुख्य लगानीकर्ता चाङले खरिद गरी आफ्नो नाममा पूर्ण स्वामित्वको उद्योग बनाईसकेका छन् ।
वैदेशिक लगानीको उक्त उद्योग हाल कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत अद्यावधिक भईसकेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख १७, २१: ४४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख १७, २१: ४४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख १७, २१: ४४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...