
नयाँ बिकल्प,
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै परराष्ट्र मन्त्री भएका प्रदिपकुमार ज्ञवलीले मन्त्रालयको तर्फबाट शुक्रबार ११ देशको राजदूत नियुक्तिका लागि सिफारिस गरेका छन् ।
परराष्ट्र मन्त्रालयको पदभार ग्रहणपछि मन्त्री ज्ञावलीले ११ जनालाई ११ देशको राजदूत नियुक्तिका लागि शुक्रबार नै संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएका हुन् ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका अनुसार राजदूत नियुिक्त गर्दा ५० प्रतिशत परराष्ट्र सेवाका राजपत्रांङ्कित प्रथम श्रेणीका कर्मचारी र ५० प्रतिशत परराष्ट्र सेवाबाहेकको क्षेत्रबाट (राजनीतिक कोटा) मा नियुक्ति गर्नु पर्छ ।
तर परराष्ट्र मन्त्रालयले शुक्रबार नियुक्तिका लागि सिफारिसमा परेका ११ मध्ये २ जना अर्थात १० प्रतिशतलाई मात्र समाबेस गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिवहरु निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टको राजदूतमा सिफारिस गरिएको छ ।
झापाका तीन जनालाई राजदूतमा सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट तीन जनालाई राजदूत नियुक्तिको लागि सिफारिस गरिएको छ । ओलीको गृह नगर दमकमा ‘दाहाल फार्मेसी’ सञ्चालन गरेर बसेकी सुमित्रा सुवेदी भण्डारीलाई डेनमार्कको राजदूतमा नियुक्तिको लागि सिफारिस गरिएको छ ।
एमाले निकट अखिल नेपाल महिला संघ झापाकी पूर्वअध्यक्ष भण्डारी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको उपमेयरकी बलियो दाबेदार थिइन् । तर चर्चित ठेकेदार मदन अधिकारीको दबाबमा उनकी श्रीमती गीता अधिकारीलाई उपमेयरको उम्मेदवार बनाइएको थियो ।
त्यस्तै, ओलीको निर्वाचना क्षेत्र झापा ५ गौरादहका पूर्वमन्त्री युवराज कार्कीलाई बहराईनको राजदूतमा नियुक्त गरिएको छ । उनी भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएर पराजित भएका थिए ।
यसरी नियुक्ति पाउनेमा झापा आन्दोलनमा संलग्न नेता नारायणप्रसाद संग्रौलालाई म्यान्मारको राजदूतमा सिफारिस गरिएको छ ।
एमालेको तर्फबाट विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेललाई श्रीलंकाको र एमालेका पूर्वसांसद पाल्पाका कुलप्रसाद नेपाललाई ब्राजिलको राजदूतमा नियुक्तिको लागि सिफारिस गरिएको छ ।
वामपन्थी नेता स्वर्गीय पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई अष्ट्रेलियको राजदूतमा सिफारिस गरिएको छ । उनी तुलाधर सिविन नेपालकी कार्यकारी संयोजक हुन् भने गौरी प्रधानकी धर्मपत्नी हुन् ।
काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत रूसी भाषा अनुवादक जंगबहादुर चौहानलाई रूसका लागि, त्रिभुवन विश्वविद्यालय, राजनीति शास्त्र विभाग पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूतको लागि सिफारिस गरेको छ।
यसअघि परराष्ट्र मन्त्रालयले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको थियो भने जापानका लागि प्रतिभा राणा र ओमानका लागि राजदूत शर्मिला पराजुलीको म्याद थपेको थियो । दाहाललाई तत्कालीन नेकपाले २०७६ मा पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा अष्टे«लियाको राजदूतमा नियुक्त गरिएको थियो ।
जापानका लागि राजदूत प्रतिभा राणा राप्रपाकी नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन ।
तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष तथा हाल कांग्रेसका उपसभपाति विजयकुमार गच्छदारको सिफारिसमा ओमानको लागि राजदूत बनेकी शर्मिला पराजुली ढकाललाई पनि यथावत राखिएको छ ।
हाल साउदी अरेबियाको लागि महेन्द्रप्रसाद सिंह राजपूत ,म्यानमारका लागि भीम उदास, बहराइनका लागि पदम सुन्दास र डेनमार्गको लागि युवनाथ लम्साल राजदूत छन् । यी राजदूतहरुको कार्यकाल यही मे महिनामा सकिदैछ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...