नेपालसमूहका १५ स्थायी कमिटी सदस्यले भने- ओली स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी हुन् – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपालसमूहका १५ स्थायी कमिटी सदस्यले भने- ओली स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी हुन्


नयाँ बिकल्प,
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका १५ जना स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, निरंकुस र प्रतिगमनकारी भएको भन्दै ओलिबिरुद्धको संघर्षमा एकीकृत हुन पार्टी नेताहरुमा आव्हान गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टीका ११ जना नेतालाई पार्टीबाट निष्कासन र बाँकीलाई स्पष्टीकरण सोधेपछि नेताहरुले ओलीविरुद्ध एकजुट हुन अपिल गरेका हुन् ।

‘पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरूलगायत पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितका नेता, सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्कासन र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्नु पर्ने भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा हस्ताक्षर नगर्ने स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले समेत बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

‘पार्टीलाई एकताको दिशामा काम हुनुको साटो हठात् प्रतिनिधि सभा भंग गर्ने दुराशयका साथ नेपालको संविधानको धारा ७६ को उपधारा ४ र ५ मिच्दै राष्ट्रपति विद्यादेवी भण्डारीसंग मिलामतो गरी आफैलाई प्रधानमन्त्री घोषित गर्नुका साथै फेरी प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कार्य भयो’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको भन्दै बक्तव्यमा यसका लागि आफूहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर भएको बताएका छन् ।

नेकपा (एमाले)का १५ स्थायी कमिटि सदस्यहरुको सामूहिक वक्तव्य –

मितिः जेठ १२, २०७८प्रेस वक्तव्यनेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयं अवैध अध्यक्ष बन्नुभएका केपी ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेका छन् ।

पार्टी महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी सञ्चालन हुुनुपर्ने आवाज उठाउने पार्टीका नेता र कार्यकर्ता र सांसदहरु विरुद्ध अत्यन्त निरंकुश र हैकमवादी शैलीले पटक–पटक कथित कार्वाईको डण्डा चलाइएको छ ।

यसै क्रममा हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरु लगायत पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरु एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्काशन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ ।

यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौं ।गत फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुर्निजीवित भएपछि पार्टी र सम्बद्ध जनसंगठनहरुलाई पूर्ववत् स्थितिमा सञ्चालन गर्नुपर्नेमा नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान कुल्चदै केपी गुटबाट गत फागुन २८ गते भेला गरी मनपरी किसिमले केन्द्रीय कमिटी भंग गर्ने, महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने र पार्टी सदस्य नभएकाहरुलाई जिम्मेवारी दिनेजस्ता अवैध निर्णय गरियो ।

यस्ता अवैध निर्णय बदर गर्दै पार्टीलाई अदालतको फैसला अनुसार २०७५ साल जेठ २ गते अघिको स्थितिमा सञ्चालन गरी पार्टी एकता जोगाउन हामीले अध्यक्ष केपी ओलीलाई अनेक पटकका वार्ता र पत्राचार मार्फत आग्रह ग¥यौं । कार्यदलमा रहेर पनि हामीले सोही आग्रह ग¥यौं ।

तर उहाँबाट पार्टी एकताको दिशामा काम हुनुको साटो हठात् प्रतिनिधि सभा भंग गर्ने दुराशयका साथ नेपालको संविधानको धारा ७६ को उपधारा ४ र ५ मिच्दै राष्ट्रपति विद्यादेवी भण्डारीसंग मिलामतो गरी आफैलाई प्रधानमन्त्री घोषित गर्नुका साथै फेरी प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कार्य भयो ।

केही समय अघि प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ आउन नआउँदै फेरी प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकोले त्यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतन्त्रवादी देशभक्त राजनीतिककर्मीको कर्तब्य हुन्थ्यो ।

हामी देश र जनताप्रतिकोकर्तब्य निर्वाह गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरुसंग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएका हौं ।

प्रधानमन्त्री केपी ओली स्वयं देशको संविधान र पार्टी विधान उल्लंघन गर्ने, लोकतान्त्रिक मूल्य र मान्यता कुल्चने, निरंकुश र तानाशाही व्यवहार गर्ने, जनता कोरोना महामारीबाट आक्रान्त भएको स्थितिमा आफ्नै दल र राष्ट्रलाई एकताबद्ध तुल्याउनुको साटो फुट र अराजकताको बाटो समात्ने, देशमा जताततै अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राष्ट्रिय हित तथा स्वाभिमान विपरीतका क्रियाकलाप गर्ने र यस्ता कामकुराको विरोध गर्दा कार्वाई गर्ने कार्य निन्दनीय र हास्यास्पद छ ।

पार्टीमा मात्र होइन देशमा नै प्रधानमन्त्री केपी ओलीबाट विधि र पद्धति विपरीतका क्रियाकलापहरु बढ्दै गएकाले देशको संविधान, पार्टी विधान र पद्धतिको रक्षाको लागि पाइला चाल्नै पर्ने बाध्यतात्मक स्थिति सिर्जना भएको हो ।

नेपाली जनताले निर्वाचनबाट झण्डै दुई तिहाई मतदिएर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्ने प्रधानमन्त्री केपी ओलीका संविधान, लोकतन्त्र, पार्टी विधान र राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमान विपरीतका कामकुराले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत भइरहेको छ ।

राज्ययन्त्र, सत्ता र सरकारको व्यक्तिगत र गुटस्वार्थमा चरम दुरुपयोग गरिएको छ । यसरी जनताको लामो र कठोर संघर्ष तथा कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुको आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएको छ ।

अतः प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं ।

यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौ । राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन हार्दिक आग्रह गर्दछौं ।

स्थायी कमिटी सदस्यहरु क. झलनाथ खनाल क. माधव कुमार नेपाल क. युवराज ज्ञवाली क. अष्टलक्ष्मी शाक्य क. भीम रावल क. घनश्याम भुसाल क. भीम आचार्य क. गोकर्ण बिष्ट क. योगेश भट्टराई क. सुरेन्द्र पाण्डे क. मुकुन्द न्यौपाने क. रघुजी पन्त क. बेदुराम भुसाल क. अमृत कुमार बोहरा पदेन स्थायी कमिटी सदस्य क. प्रमेश हमाल पदेन स्थायी कमिटी सदस्य

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १२, १८: ५३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १२, १८: ५३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १२, १८: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...