
नयाँ विकल्प
काठमाडाैं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन्।
सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा राणाले त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन्।
सर्वोच्च बारका पदाधिकारीले मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई भेटेर संवैधानिक इजलास विवादरहित ढंगले सञ्चालन गर्न सुझाव दिएका थिए।
उनीहरूले सर्वोच्चमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठताका आधार इजलास गठन गर्न सकिने सुझाएका थिए। नयाँ नियमावली सर्वोच्चको फुल कोर्टबाट पारित गर्ने सहमति प्रधानन्यायाधीश राणाले गरेका छन् ।
प्रतिनिधि सभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे प्रश्न उठेको थियो।
रिट निवेदकका वकिल यी दुई जना न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने तर्क गरेका थिए। आइतबार भएको बहसमा न्यायाधीशहरूमाथि प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाले बारम्बार आग्रह गरेका थिए।
तर निवेदक पक्षका लगभग सबै वकिलले दुई न्यायाधीश इजलासबाट हट्नु पर्ने माग जारी राखेपछि आफूहरू बसेर निर्णय गर्ने भन्दै प्रधानन्यायाधीश राणाले त्यो दिनको इजलास टुंग्याएका थिए।
इजलास टुंगिएपछि पाँच न्यायाधीशहरूबीच रिट निवेदकहरूले उठाएको विषयमा छलफल भएको थियो। इजलासका दुई न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले दुई न्यायाधीशहरू इजलासबाट हट्नु राम्रो हुने सुझाव दिएका थिए।
सोबारे छलफल गर्न संवैधानिक इजलासको रोष्टरमा भएका १३ न्यायाधीशबीच छलफल गर्न पनि उनीहरूले सुझाएका थिए। सोमबार दिउँसो प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठबाहेक संवैधानिक इजलासको रोष्टरमा भएका १० न्यायाधीश बसेर छलफल गरे।
श्रेष्ठ र केसी इजलासमा कायम रहिरहे अरू न्यायाधीशहरू सो इजालसमा नबस्नेसम्मको छलफल भएको थियो। त्यसले प्रधानन्यायाधीश राणालाई दबाबमा पारेको थियो। सर्वोच्च न्यायालयको शीर्ष नेतृत्व तहमा देखिएको यो विवाद सुल्झाउने सुझाव दिन सर्वोच्च बारका पदाधिकारीले मंगलबार बिहान प्रधानन्यायाधीशलाई भेटेका थिए।
आजको इजलासमा प्रधानन्यायाधीश राणाले सर्वोच्च कार्य सञ्चालन नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने जानकारी दिने सम्भावना छ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...