
नयाँ बिकल्प,
जनकपुरधामः जनता समाजबादी पार्टी नेपालको केन्द्रमा देखिएको अनौपचारिक विभाजनपछि त्यसको असर प्रदेश २ मा पर्ने भएको छ।
पार्टी एकीकरण भएको एक वर्षसम्म पनि संसदीय दल एकीकृत हुन नसक्नु र केन्द्रमा पूर्वराजपा र पूर्वसंघीय समाजबादीमा शिर्ष नेता नै विभाजित भएपछि त्यसको असर प्रदेश २ सरकारमा परेको हो।
प्रदेश २ को सरकारको नेतृत्व जनता समाजबादीका सांसद लालबाबु राउतले गरेका छन् । उनी संघीय समाजबादीका अध्यक्ष उपेन्द्र यादव निकटका हुन्। जसपाको केन्द्रमा देखिएको बिबादमा पूर्वसमाजबादीका केही सांसद तठस्थ छन् भने पूर्वराजपाका नेता यादवतर्फ लागेका छन्।
तत्कालिन एमाले र एमाओबादी एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी हुँदा समेत प्रदेश २ मा नेकपाइत्तर दलको नेतृत्वमा प्रदेश सरकार बनेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई मुख्यमन्त्री राउतको नेतृत्व त्यति प्रिय थिएन् ।
प्रदेश २ बाट राउत नेतृत्वको सरकार ढाल्न केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजबादीका अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग सहयोग नमागेका होइनन्। तर, यो प्रदेशमा जसपा भित्रको ठाकुर र महतो गुट र एमालेको ओली गुट निकै कमजोर देखिएको छ।
नेकपा एमालेको ओली समूहको समर्थनमा प्रदेश १ मा ठाकुर र महतोले जसपा नेता तथा पूर्वराजपा नेता मनिषकुमार सुमनलाई मुख्यमन्त्री बनाउन चाहन्छन्। तर सुमन मुख्यमन्त्री बन्ने सम्भावना नगण्य छ। प्रदेश २ को संसदीय दलका नेताबाट राउतलाई हटाएर सुमनले नेता बन्न खोजेको प्रयास निररर्थक देखिन्छ।
तर पूर्वराजपाका संसदीय दलका नेता तथा हालको प्रदेश सरकारका मन्त्री जीतेन्द्र सोनल आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको लागि दौडधुपमा लागेका छन्। सोनलले नेपाली कांग्रेस, ओली समूहको एमालेसहित पूर्वराजपा खेमाका सांसदहरूलाई भेटेर नयाँ सरकार गठनका लागि आफूलाई सहयोग गर्नको लागि दौडधुप बढाएका छन्।
यता प्रदेश सभामा तेश्रो ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस आफैँ प्रदेश सरकारको नेतृत्व लिने दाउमा छ। प्रदेशमा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री राउत र प्रदेश मन्त्री सोनलसँग जसपाको औपचारिक विभाजन भएर आफ्नो आफ्नो पक्षमा साथ दिन प्रस्ताव गरेका छन्।
जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच एक अर्कालाई कारबाही गर्ने खेल चरिहँदा उपेन्द्र यादवले केन्द्रमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका नेताहरु माधवकुमार नेपाल समूह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रदेश २ मा नयाँ समीकरणको सरकार बनाउने विषयमा सहमति भइसकेको छ।
सरकारमा रहेका पूर्वराजपा पृष्ठभूमिका प्रदेश सांसदलाई प्रदेश सभाले बजेट पारित गरिसकेपछि सरकारबाट हटाउने र नयाँ समिकरण बनाउने दाउमा छन्। नयाँ समिकरणको सरकारको नेतृत्व राउतले गर्ने कि कांग्रेसका यादवले गर्ने भन्ने स्पष्ट खाका बनिसकेको छैन्।
हाल प्रदेश सरकारमा रहेका पूर्वराजपा पृष्ठभूमिका दुई जना सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, तथा बन मन्त्री रामनरेस यादव अहिले पूर्व समाजबादी पार्टी पृष्ठभूमिका उपेन्द्र यादवको खेमामा खुलेर लागेका छन्।
एमालेको ओली र जसपाको ठाकुर पक्ष यसकारण कमजोर

दुई नम्वर प्रदेश सभा एक सय सात सदस्यीय रहेको छ। तर, माओबादी केन्द्रले तीन प्रदेश सांसदलाई कारबाही गरेपछि प्रदेशसभामा कायम रहेको सदस्य सख्या एक सय ४ मात्र छ। त्यसैले यो प्रदेशमा सरकार बनाउन कम्तीमा ५३ सांसदको समर्थन चाहिन्छ।
प्रदेश २ मा पूर्वसंघीय समाजवादी पार्टीका ३०, पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन्। यो प्रदेशमा माओबादी केन्द्रका ११ मध्ये तीन सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका थिए।
पूर्वराजपाका २ सांसद जो हाल मन्त्री छन्, नवलकिशोर साह र रामनरेश राय यतिवेला उपेन्द्र यादव पक्षमा लागेपछि यादवको पक्षमा ३२ सांसद छन भने २५ सांसद रहेको पूर्वराजपासँग अब २३ सांसद मात्र रहेका छन्।
एमालेमा २१ प्रदेश सांसदमध्ये १३ जना नेपाल–खनाल समूहमा छन् भने ओली समूहमा ८ जना मात्र सांसद छन्। एमाले प्रदेश २ संसदीय दलको नेता सत्रुधन महतो नै खनाल–नेपाल समूहका हुन्। ओली समूहमा ८ सांसद छन् जसको नेतृत्व एमाले स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले गरेका छन्।
ओली समूहका नेता तथा सांसद सत्यानारायण मण्डल भने राउत नेतृत्वको सरकार फेर्नु पर्ने पक्षमा थिए। तर एमालेको ओली समूहका ८ र जसपाको ठाकुर समूहका २३ सांसद मिलेर बहुमतको सरकार बन्ने सम्भावना देखिँदैन्।
जसपाको राउत समूहले आफूसँग भएको ३२ सांसदसहित एमालेको नेपाल समूहका १३ र माओबादीका ८ गरेर मात्रै ५३ सांसद हुन्छन्। त्यसैले राउतले जसपाका थप सांसद तान्ने वा कांग्रेसको समर्थनमा आफ्नै पद जोगाउने भन्ने दाउमा छन्।
कांग्रेस एक्लैसँग १९ सांसद भएकाले कांग्रेसको समर्थन लिएर सरकारको नेतृत्व गर्ने वा कांग्रेसको नेतृत्व स्वीकारेर सत्तामा सहभागी हुने भन्ने दुई विकल्प जसपाको राउत समूहलाई छ। कांग्रेसले एमालेको ओली समूह वा जसपाको ठाकर समूहलाई समर्थन गर्ने सम्भावना बिल्कुल छैन्।
सत्ता समिकरण बदलिन खोजेको अवस्थामा पूर्वराजपा संसदीय दलको नेता समेत रहेको हालका प्रदेश मन्त्री समेत रहेका जितेन्द्र कुमार सोनल राजपामा बिद्रोह गरी कांग्रेस र एमालेको ओली समूहको समर्थनमा सरकारको नेतृत्व लिने दाउमा छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...