‘रातो पासपोर्ट काण्ड’मा मुछिएका मन्त्री गुरुङले सांसदलाई गाली गरेपछि प्रदेशसभा स्थगित – Naya Bikalpa
November 13, 2026, Friday      Epaper

‘रातो पासपोर्ट काण्ड’मा मुछिएका मन्त्री गुरुङले सांसदलाई गाली गरेपछि प्रदेशसभा स्थगित


नयाँ बिकल्प,
विराटनगर । रातो पासपोर्ट काण्डमा मुछिएका बिबादस्पद पृष्ठभूमिका प्रदेश १ का प्रदेशमन्त्री अमिरबाबु गुरुङले प्रदेश सांसदलाई जताभावी गाली गलौज गरेपछि नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

प्रदेश नं १ को प्रदेशसभाको आइतबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री गुरुङलाई मन्त्रालयगत बजेट वितरणको विषयमा ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद मोहन खड्काले प्रश्न गर्दा मन्त्री गुरुङले गालीगलौज गरेका थिए।

मन्त्री गुरुङले आइतबार सदनमा दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्दै उनको अभिव्यक्ति सदनको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने भन्दै सोमबार बसेको सदनको कारबाही माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन्।

नेकपा माओबादी केन्द्रका सांसद मोहन खड्का ‘हिमशिखर’ले मन्त्रालयको बजेट बिनियोजन गर्दा गुटगत आधार बनाइएको हो? भनी प्रश्न गर्दा मन्त्री गुरुङले ‘भिजन नभएको नेता.., सच्चिएर आउनुस ..यत्रा सांसदलाई बेबकुफ बनाउन खोज्ने ?..भनेका थिए।

सांसद खड्काको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गाली गलौज, अपमान, असंसदीय र अमर्यादित भाषा प्रयोग गरेको भन्दै नेकपा माओबादी केन्द्रले सोमबार प्रदेश १ को प्रदेश सभा बैठक मन्त्रीले माफि नमागेसम्म चल्न नदिने अडान राखेपछि सदनको कारबाही अबरुद्ध भएको हो।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक भोली मंगलबारसम्मको लागि स्थगित गरेका छन्।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मन्त्रीको अभिव्यक्ति अमर्यादित र संसदीय मूल्य–मान्यताविपरीत भएको भन्दै सभामुख प्रदीप कुमार भण्डारीले पटक–पटक रुलिङ गर्दा पनि अटेर गरेर सदनको रोष्टमबाट बोलेका थिए।

माओवादी केन्द्रका सांसद् खड्काबिरुद्ध खनिएका मन्त्री गुरुङले सम्बोधनका क्रममा सांसद खड्कालाई ‘सच्चिएर र अलिक सुध्रिएर आउनुहोस्’ भनी चेतावनी दिएका थिए। मन्त्री नै व्यक्तिगत आलोचनामा उत्रिएपछि सभामुख भण्डारीले पटक पटक रुलिङ गरेका थिए।

जनता समाजवादी दलका नेता जयराम यादवले नियमापत्ति गरेपछि सभामुख भण्डारीले चार पटक रुलिङ गरेपछि मात्रै मन्त्रीले आफ्नो भनाइ अन्त्य गरेका थिए।

मन्त्री गुरुङको पृष्ठभूमि नै बिबादस्पद

ओखलढुंगा स्थायी घर भएका गुरुङ २०५४ सालमा राजधानीको कुपण्डोलस्थित बागमति पुल किनारामा रहेको मितेरी रेष्टुरेष्ट संचालन गरी बस्दथे।

२०५४ सालमा दर्जनौं व्यक्तिको पासपोर्टमा फोटो परिवर्तन गरी एलिजा थापा नाम गरेकी एक महिलासँग मिलेर गुरुङले दुई दर्जन व्यक्तिलाई संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका पठाएर रकम असुल गरेका थिए।

उनले केही सांसदको रातोपोर्ट दुरुपयोग गरी अरु नै व्यक्तिलाई पठाउने, अतिविशिष्ट व्यक्तिको पासपोर्टमा फोटो परिवर्तन गरी एकै व्यक्तिबाट लाखौं रकम असुलेका गुरुङलाई तत्कालिन गृहमन्त्री बामदेव गौतम र सञ्चार मन्त्री राधाकृष्ण मैनालीले संरक्षण गरेका थिए।

रातो पासपोर्ट दुरुपयोग प्रकरणमा प्रहरीले अनुसन्धान गरी गुरुङलाई दोषी देखाएपछि तत्कालिन गृहमन्त्री गौतमले गुरुङलाई जोगाएका थिए।
पछिल्लो समय निवर्तमान उपप्रधानमन्त्री इश्वर पोखरेलको इसारा र संरक्षणमा रहेका गुरुङले विभिन्न व्यक्तिको घर जग्गा बैंकमा धितो राखेर रकम निकाले बिजोग बनाएका छन्।

एमालेका शीर्ष नेताको संरक्षणका कारण उनी प्रदेश सांसद मात्र भएनन कि प्रदेशको मन्त्री नै बन्न सफल भए। एक दर्जन व्यक्तिको घर जग्गा धितो बापत लिलाम भएपछि उठीबास गराउँदा समेत गुरुङ सँधै राजनीतिक आडमा अहिलेसम्म दुई दर्जन बढीको करोडौं रकम कुम्ल्याएका छन्।

२०४६ सालको जनआन्दोलनमा लागेको बाममोर्चामा रहेको बाम घटकमध्ये एक नेकपा बर्मामा तत्कालिन अध्यक्ष कृष्णराज बर्माका छोरा २ करोड रुपैयाँ खाएर गुरुङले ठगी गर्ने गरेका छन्।

नेपाल प्रहरीका हरेक प्रमुखसँगको हिमचिमका कारण उनी प्रहरीको नजरबाट सँधै बच्दै आएका छन्। प्रहरी अधिकृतको सरुवा र बढुवामा सेटिङ र बिचौलियाको काम गर्ने गुरुङ नेपाल प्रहरीका अघिल्ला प्रहरी महानिरिक्षकसँग बाक्लै उठबस थियो।

बिबादस्पद छबिका गुरुङले सत्तारुढ नेकपाको बिबादमा प्रदेश १ को सरकार ढल्नबाट जोगाउन मुख्यमन्त्री शेरधन राईइत्तरका सांसदलाई फकाउने भूमिका खेलेको भन्दै दुई महिनाअघि उनलाई प्रदेश मन्त्री बनाइएको हो।

सम्बन्धित समाचार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
  • २०७८ असार १४, १४: ५२

काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
  • २०७८ असार १४, १४: ५२

काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०७८ असार १४, १४: ५२

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...