शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गरी जातिय भेदभावको कसूरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गरी जातिय भेदभावको कसूरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट


नयाँ बिकल्प,

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गरी जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाही गर्न माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी छन्।

शिक्षा मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै सुनारले उनलाई पदमुक्त गर्न माग गरेकी हुन्।

मन्त्री श्रेष्ठलाई जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसूर र सजाय) ऐन २०६८ बमोजिम कारबाही गर्न माग गरिएको हो। सञ्चारकर्मी सुनारले जातीय विभेद गरी कोठा भाडामा नदिएको भन्दै बबरमहलकी सरस्वती प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

सुनारको जाहेरीपछि महानगरिय प्रहरी वृत्त सिंहदरबारले प्रधानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बेला स्वास्थ्य मन्त्री श्रेष्ठले आफ्नो झण्डावाल गाडी लिएर थुनामा रहेकी प्रधानलाई आफ्नै गाडीमा हालेर प्रधानको घर बबरमहल पुर्याएका थिए।

सुनारले मन्त्री मन्त्री श्रेष्ठविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा जाहेरी दिए पनि दर्ता नभएको भन्दै सुनारले दिएको रिटमा उक्त जाहेरी तत्काल दर्ता गरी कानुन बमोजिम अनुसन्धान गर्न गराउन आदेश माग गरेकी छन्।

रिटमा मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं, महानगरिय प्रहरी वृत्त सिंहदरबार र घरधनी सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ।

घरबेटी प्रधानमाथि अनुसन्धान भइरहेका बेला उनलाई के आधारमा छोडिएको हो भनी जानकारी माग्न जाँदा सरकाकरी वकिल कार्यालय र प्रहरी वृत्त सिंहदरबारले कुनै जवाफ नदिए पछि सत्ताको बल र हस्तक्षेपमा प्रधानलाई छुटाइएको जनाइएको छ।

रिटमा सरस्वती प्रधानविरुद्धको मुद्दामा के कस्तो प्रगति भएको छ, सोको प्रगतिसहित अभियुक्तलाई छाड्ने गरेको निर्णयको लिखित जानकारीसमेत माग गरिएको छ।

मुद्दाको प्रमाण नष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिमार्फत मुद्दाको अनुसन्धान तथा तहकिकातमा बाधा उत्पन्न गर्ने काम गरेकाले आगामी दिनमा अनुसन्धान प्रभावित पार्न नदिन सरस्वती प्रधानलाई पक्राउ गर्न पनि माग गरिएको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २०, १८: ०३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २०, १८: ०३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २०, १८: ०३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...