राजदूत झैं संवैधानिक आयोगका पदाधिकारी फिर्ता गर्न कानूनी अड्चन आउने सरकारलाई सुझाव – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

राजदूत झैं संवैधानिक आयोगका पदाधिकारी फिर्ता गर्न कानूनी अड्चन आउने सरकारलाई सुझाव

फाइल फाेटा

नयाँ बिकल्प,

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाए झैं संवैधानिक निकायका पदाधिकारी र सदस्यलाई फिर्ता बोलाउँदा कानूनी अड्चन आउने सुझाव निकटवर्तीले दिएका छन्।

निवर्तमान प्रधानमन्त्री ओलीको समयमा संवैधानिक परिषदको सिफारिसमा विभिन्न संवैधानिक निकायमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी पदाधिकारी हटाउँदा कानूनी बाधा र अड्चनका साथै व्यवहारिक कठिनाई हुने भन्दै त्यस्तो निर्णय नलिन कानून व्यवसायीहरुले सुझाव दिएका हुन्।

कतिपय संवैधानिक निकायको नियुक्तिमा तत्कालिन प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा देउवाको समेत संलग्नता, सुझाव र सिफारिस भएकाले पूर्ववर्ती सरकारले गरेको सबै संवैधानिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति बद्धर गर्न व्यवहारिक कारणले समेत नमिल्ने सुझाव देउवालाई कांग्रेसकै नेताहरुले दिएका हुन्।

एक वर्षभित्रै हुन लागेको स्थानीय तहको निर्वाचन र एक महिना भित्रै हुन लागेको पार्टीको महाधिवेशनलाई समेत ध्यानमा राख्दै बिबादस्पद निर्णय नलिन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई यस्तो सुझाव आएको हो।

राजदूत फिर्ता गरेजस्तो यो सजिलै त्यस्तो नियुक्ति बदर हुने अवस्था नभएको संवैधानिक कानूनका बिज्ञ भिमार्जुन आचार्य बताउँछन्। उनकाअनुसार प्रतिनिधि सभाले कानुन संशोधन गरी त्यस्तो नियुक्ति फिर्ता गर्नुपर्ने हुन्छ तर त्यस्तो अवस्था अहिले रहेको छैन्।

संवैधानिक परिषद्को काम कर्तब्य अधिकार र कार्यविधि सम्वन्धी अध्यादेशपछि संवैधानिक परिषद्ले गरेको निर्णयहरु के हुने भन्ने मुद्दा सर्वोच्चमा बिचाराधिन रहेकोले त्यस्ता निर्णयमा हात नहाल्न डेमोक्रेटिक लयर्स एसोसिएसनका कानून व्यवसायीहरुले सल्लाह दिएको बालुवाटार स्रोतले जनायो। संवैधानिक परिषदले समेत संवैधानिक निकायमा नियुक्ति गर्ने भनि गरेका निर्णयहरु फिर्ता गर्ने कानुनी प्रावधान छैन।

संवैधानिक निकायका पदाधिकारी वा सदस्यबिरुद्ध महाभियोगको प्रस्ताव दर्ता भए, पदाधिकारी स्वयम्ले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा र पदाधिकारीको मृत्यु भएमा मात्र पद रिक्त रहने कानूनी व्यवस्था छ।

संवैधानिक परिषद्का तत्कालिन अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले ति नियक्ति गरेको भए पनि परिषद् सदस्यको रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमेतको बैठकले ती नियुक्ति गरेका थिए।

परिषद् सदस्यको हैसियतमा प्रधानन्यायाधीश राणा संलग्न परिषद् बैठकले मानवअधिकार आयोगको अध्यक्ष, निर्वाचन आयोगका आयुक्त, अख्तियारका प्रमुख आयुक्त र आयुक्त, समावेशी आयोगका अध्यक्ष लगायतका नियुक्ति गरेको थियो।

संवैधानिक परिषदले गरेको पछिल्लो नियुक्तिको सिफारिसको सम्वन्धमा सर्वोच्चमा मुद्धा बिचाराधिन भएकाले सो विषयमा प्रधानमन्त्री देउवा हात हाल्ने मनस्थितिमा नरहेको बालुवाटार स्रोत जनाउँछ।

परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान भए पनि तत्कालिन प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सभामुख अग्नीप्रसाद सापकोटाको अनुपस्थितिमै ति निर्णय गरेका थिए। विगत २३ महिनादेखि संवैधानिक परिषद्को सदस्य रहने प्रतिनिधिसभाको उपसभामुख पद अझै पनि रिक्त छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकै दिन २०७७ साल मंसिर ३० गतेसंवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य संवैधानिक आयोगमा ३५ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो। दोस्रो चरणमा ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरिएका थिए। संविधानको धारा दुई सय ८४ मा संवैधानिक परिषद सम्बन्धी व्यवस्थामा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण १२, १६: ०७

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण १२, १६: ०७

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण १२, १६: ०७

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...