बन्धक बनाई मुख्यमन्त्री निवासमा राखिएको भन्दै प्रदेश सांसद खत्रीले भनिन्–शौचालयको चप्पल लगाएर भागेँ (भिडियाे) – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बन्धक बनाई मुख्यमन्त्री निवासमा राखिएको भन्दै प्रदेश सांसद खत्रीले भनिन्–शौचालयको चप्पल लगाएर भागेँ (भिडियाे)


नयाँ बिकल्प।

बुटबल । नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि आफ्नो सत्ता जोगाउन प्रदेश सभा सदस्यलाई बन्धक बनाएको गम्भीर आरोप लागेको छ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दाङ क्षेत्र नम्वर ३ को ‘ख’को उपनिर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित सांसद विमला कुमारी खत्रीले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी आफूलाई बन्धक बनाई मुख्यमन्त्री पोखरेलको निवासमा राखिएको सार्वजनिक गरेकी हुन्।

उनले गत वैशाख १९ गते नै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी दिएकी थिइन्। लुम्विनी प्रदेशमा सत्ता साझेदार दल नेकपा माओबादी केन्द्र मुख्यमन्त्री बिरुद्धमा उभिएपछि आफ्नो सत्ता जोगाउन पोखरेलले सांसद खत्रीलाई आफ्नो पक्षमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएका थिए।

प्रदेश सभा सदस्य खत्रीले आफूलाई लिन साउन १५ गते एमाले लुम्विनी प्रदेशका प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको बताएकी छन्।

एमालेमा आउन दबाव दिनकै लागि सचेतक ढकाल र नेता राउतले उपचारका लागि आफू नेपालगञ्ज जान लागेको बताउँदा ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको र ‘विश्वास गरेर गाडीमा बसेंको’ बताइन।

तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको र ‘यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गर्दा एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो’, सांसद खत्रीले भनिन्।

मुख्यमन्त्री पोखरेलले ‘पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन। एमालेमा आउनुस् मन्त्री बन्नुस्’ भनेर प्रलोभन देखाएको तर आफूले लगातार इन्कार गरिरहेपछि आफूलाई साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिइ राखिएको बताईन।

मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको र केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको उनले बताईन। उनले भनिन्, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन।’

प्रदेश सभा सादस्य खत्रीले जबर्जस्ती हस्ताक्षर गराएपछि आफूलाई घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको भए पनि झन कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखिएको बताइन्।

आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको भन्दै सांसद खत्रीले साउन २० गते मुख्यमन्त्री निवासमा मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको खुलस्त पारिन।

आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन्। उनले आफूलाई मुख्यमन्त्री निवासमा जबर्जस्ती राखिँदा २० गते बिहान असहय मानसिक पीडा भयो र जसरी पनि निस्कनु पर्छ भन्ने सोचेर पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको बताइन्।

सांसद खत्रीले एमालेले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर आफूले कहिल्यै नसोचेको पनि बताइन्। सांसद वलीले आफू माओवादी केन्द्रप्रति पूर्ण प्रतिबद्ध रहेको पनि बताइन्। उनले भनिन् ‘मेरो नामबाट एमाले लुम्बिनी प्रदेश संसदीय दलले फैलाएका भ्रम र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठा हुन्।’

प्रदेशसभा सदस्य खत्रीले जारी गरेकाे विज्ञप्ति –

भिडियाे…

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण २१, १४: ४८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २१, १४: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २१, १४: ४८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...