कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको अनशन – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको अनशन

फाइल तस्बिर


नयाँ विकल्प,

काठमाडौं- कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गरेका छन्।

कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले सो माग गर्दै मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो भने आजदेखि माग पूरा नभएसम्म रिले अनशन सुरु गरेको काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए।

अनशनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभ्रेका सभापति आचार्य, धादिङका सभापति रमेश धमला, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्ण र पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी बसेका छन्।

यस सन्दर्भमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताको सहमतिमा नै क्रियाशील सदस्यताको सबै निर्णय गरिसकेको र सो कार्य कार्यान्वयनको चरणमा गएको बताए।

सभापति देउवाले निर्धारित समयमै अधिवेशन गराउन वरिष्ठ नेता पौडेलको सहमतिमा निर्णय गर्नुभएको र जिल्ला सभापतिका माग पनि स्वीकार भइसकेको सन्दर्भमा अनशन किन भनी उनले प्रश्न गरे।

सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग्र्यार अन्तिम रुप दिएको थियो। नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएका थिए।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते हुनेछ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र ९, १३: ४५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र ९, १३: ४५

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ९, १३: ४५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...