
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको सभापतिमा दुई जना आकांक्षी प्रतिष्पर्धामा उत्रिएका छन्।
२०३६ सालको विद्यार्थी आन्दोलनमा लागेर राजनीतिमा होमिएका निलकाजी शाक्यलाई नेपाल तरुण दल महानगरको संस्थापक सचिव भएका युवा प्रगतिमान रञ्जितले टक्कर दिएका छन्। पार्टीको संस्थापन पक्षबाट प्रगतिमान रञ्जित उम्मेदवार बनेका छन् भने संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धामा छन्।
कांग्रेसको काठमाडौं महानगर समितिको १५ वर्षपछि हुन लागेको अधिवेशनमा परिपक्व नेता शाक्यलाई युवा नेता रञ्जितले पछ्याइरहेका छन्। ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनको समयमा काठमाडौं महानगरको अधिवेशन हुन सकेको थिएन।
नीलकाजी शाक्यले ‘राजनीतिक कर्म मेरा लागि विशुद्ध सेवा हो, समाजबादी चिन्तनको प्रवद्र्धन, लोकतन्त्र र विधिको शासनमा मेरो प्रतिवद्धता’ भन्ने नारालाई अघि सारेका छन्। उनलाई पार्टीका पूर्वमहामन्त्री प्रकशमान सिंहले साथ दिएका छन्।
शाक्यलाई संस्थापनइतर समूहका नेता पूर्वमहामन्त्री महामन्त्री सिंहसहित पार्टीको काठमाडौं जिल्ला सभापति सबुज (कृष्ण) बानियाँ, महानगर मेयरका प्रत्याशी राजुराज जोशी, क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजाललगायतको समर्थन छ।
अर्का उम्मेदवार रञ्जितलाई भने संस्थापन समूहका नेताहरु सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, किरण गिरीलगायतले अघि सारेका छन्। उनलाई संस्थापन पक्षका काठमाडौ जिल्ला सभापतिका आकांक्षी उपेन्द्र कार्की र कृष्णप्रसाद सिटौला समूहका नेता भीमसेनदास प्रधानको समर्थन रहेको बताइन्छ।
काठमाडौं महानगर पालिका वडा नं २५का वडाध्यक्ष नीलकाजी शाक्य स्थानीय निर्वाचनमा कांग्रेसले आफ्नो क्षमताअनुसार जित हासिल गर्न नसकेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वसहित बहुमत वडामा कांग्रेस जिताउने एजेण्डा लिएर आफू उम्मेदवार भएको बताउँछन्।

मुलुककै सबैभन्दा धेरै जनसख्या भएको शहर र राजधानी भएकाले महानगरमा बलियो कांग्रेस बनाएर देशैभरी ऊर्जा भर्ने आफ्नो उदेश्य रहेको शाक्यले बताएका छन्।
२०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा लागेका शाक्य २०४४ मा पब्लिक युथ क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए। २०५४मा नेपाल तरुण दलको केन्द्रीय सदस्य भएका उनी पार्टीको नयाँ र पुरानो दुवै पुस्ताको भावना समेटेर महानगर नेतृत्व लिन चाहेको बताउँछन्।
अर्का उम्मेदवार रञ्जितले पार्टीका नेतार कार्यकर्ताबीचको दूरी घटाउन आफूले भूमिका खेल्ने भन्दै लामो सयमसम्म महानगरमा समिति नहुँदा कांग्रेसको क्रियाशीलता घटेकोले नयाँ र पुराना नेता कार्यकर्ताबीच दूरी घटाउने उदेश्यले महानगरको सभापतिको उम्मेदवार भएको बताएका छन्।
नेपाल तरुण दलको काठमाडौं महानगरको पूर्वसभापति रञ्जित पार्टीको काठमाडौं क्षेत्र नम्बर ६ को पूर्वसचिवसमेत हुन्। पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य रहेका रञ्जित महानगर वडा नम्वर १६का स्थायीवासिन्दा हुन्।

२०७४को स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट महानगरको मेयरका प्रत्यासी बनेका राजुराज जोशी एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यसँग १९ हजार बढी मतले पराजित भएका थिए। कांग्रेसले उपमेयर उठाएकी उम्मेदवार हरिप्रभा खड्गीले भने अत्याधिक मतले जितेकी थिइन्। काठमाडौं महानगरका ३२ वार्डमध्ये कांग्रेसले १४ वडामा अध्यक्ष जितेको थियो।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...