पौडेल ‘फेक इन्काउन्टर’का संरक्षक थापा, खनाल,मेयर, प्रजिअदेखि संलग्न हवल्दारलाई कारबाही हुने – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

पौडेल ‘फेक इन्काउन्टर’का संरक्षक थापा, खनाल,मेयर, प्रजिअदेखि संलग्न हवल्दारलाई कारबाही हुने


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको अर्धभूमिगत दल नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथि भएको ‘फेक इन्काउन्टर’का दोषी र संरक्षक पूर्वगृहमन्त्री रामबहादुर थापा बादलदेखि प्रहरीका हवल्दारसम्मलाई कारबाही हुने भएको छ।


२०७६ साल असार ५ गते प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ माथि पुन अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि आरोपित तत्कालिन गृहमन्त्री थापादेखि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसहित प्रहरीका अधिकृतदेखि हवल्दारसम्मलाई कारबाही हुने भएको छ।

मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न यही असोज १२ गते सर्वोच्च अदालतका न्यायाधीश अनिकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले आदेश दिएपछि घटनामा संलग्न प्रहरी अधिकृत र हवल्दारदेखि घटना ढाकछोप गर्न भूमिका खेल्ने चिकित्सकमाथि पनि छानबिन हुने भएको हो।

मृतककी आमा दुर्गादेबीको जाहेरीमा कुमारको हत्या भएको दाबी गर्दै तत्कालिन गृहमन्त्री थापा र तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनाल, सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपाल भट्टराई, प्रदेश नं २ प्रदेश प्रहरी प्रमुख तत्कालिन डिआईजी हरिबहादुर पालमाथि कारबाहीको माग गरिएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्र्की, जिल्ला अस्पताल सर्लाहीमा कार्यरत डा. बीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न आदेशमा भनिएको छ ।

आमा दुर्गादेबीले प्रहरीले जाहेरी लिन नमानेपछि २०७७ साल मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्। सोही घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धान प्रतिवेदन कार्यन्वयन नगरी संसदीय समिति समेतलाई ढाँटेका तत्कालिन गृहमन्त्री थापा र महानिरीक्षक खनालबिरुद्ध फौजदारी अभियोगमा अनुसन्धान हुने भएको हो।

राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी प्रधान कार्यालयबाट विशेष ब्युरोमा काजमा रहनेगरि खटाएका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह तत्कालिन महानिरीक्षक खनालका निकटको टोलीले गरेको इन्काउन्टरमा मारिने कुमारको कुर्कुचा भन्दा तल पोईतालामा गोली लागेको तथ्य फेला परेको निष्कर्ष निकालेको थियो।

आयोगले पोष्टमार्टम रिपोर्टमा ‘कुमारमाथि ६ राउण्ड गोली प्रहार भएको र त्यो मध्ये एउटा गोली कुर्कुचा मुनीबाट हानिएको र पिडौलाबाट निस्किएको छ। मुठभेडमा गोली हान्दा पोइतालामुनीबाट बोली माथि कसरी निस्कियो भन्ने प्रश्नले फेक इन्काउन्टरको संकेत गरेको’ जनाएको थियो।

कुमार पौडेल मुठभेडको बिस्तृत अनुसन्धान गरिरहेका आयोगका सदस्य गोविन्द शर्मा पौडेलले कुमारको कुर्कुचामा गोली हानिएको विवरण आयोगले प्राप्त गरेको त्यतिबेला बताएका थिए। पौडेललाई २०७६ असार ५ गते स्थानीय लखन्ती खोलामा मुठभेडमा मृत्यु भएको प्रहरीले दाबीगर्दै आएको थियो। प्रहरीले उनीसँगै रहेका अन्य भागेको र कुमारले फायर खोलेपछि जवाफी कारबाही भएको दाबी गर्दै आएको थियो।

आयोगको प्रारम्भीक अनुसन्धानमा कुमारलाई बन्धक बनाएर त्यसको केही घण्टापछि उनको गोली हानी हत्या गरिएको प्रमाण भेटिएको थियो।
आयोगले पौडेलको इन्कान्टर नभई हत्या भएको भन्दै त्यसमा प्रत्यक्ष संलग्न प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा तथा आदेश दिनेलाई विभागीय कारबाही गर्न दुई वर्षअघि नै सरकारलाई सिफारिस गरेको थियो। तर सरकारले आयोगको सुझावलाई लत्याएको थियो।

गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो। २०७६ कात्तिक ४ गते आयोगले यस्तो सिफारिस गरेको थियो। स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानी हत्या गरिएको निष्कर्ष आयोगले निकालेको थियो ।

गृहमन्त्री थापा र महानिरीक्षक खनालले राज्यव्यवस्था समितिमा दिएको सूचना झुटो

तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले संसदको राज्यव्यवस्था समितिको २०७६ असार ९ गतेको बैठकमा जवाफदिँदै विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका थिए। विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका थिए।

बैठकमै सर्लाहीका सांसद डा. अमरेसकुमार सिंह र मिना पाण्डेले पौडेलको दोहोरा भिडन्त नभइ नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै आईजीपी खनालका घुमुवा इन्सपेक्टर साहले गोली हानेको तथा सल्लाह र निर्देशन बागमति नगरपालिकाका मेयरले दिएको दाबी गरेका थिए।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन १५, १८: ५०

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन १५, १८: ५०

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ आश्विन १५, १८: ५०

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...