राणा र लोहनीको राप्रपाबीच एकीकरण बोहोरा असन्तुष्ट – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

राणा र लोहनीको राप्रपाबीच एकीकरण बोहोरा असन्तुष्ट

काठमाडौ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकीकरण भएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजधानीमा शुक्रबार आयोजित घोषणासभामा पार्टी एक भएको घोषणा गरेका हुन् ।

एकीकरणपछि पार्र्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको छ । दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताको टुंगो लागेको हो । एकीकरणमा बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एकीकृत नयाँ पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको थियो । एकीकृत पार्टीको चुनाव चिह्न हलो राखिने भएको छ ।

दुवै पार्टीको एकीकरण प्रक्रिया एक महिना भित्र र अधिवेशन एक वर्र्षभित्र गर्ने सहमति भएको छ । नयाँ पार्टीको विधान एक महिनाभित्र तयारी गरिने छ भने पार्टीले संवैधानिक राजतन्त्र र स्वतन्त्रसहितको सनातन हिन्दु राज्य हुने व्यवस्थालाई विधानमा समट्ने सहमति भएको नेता राजाराम श्रेष्ठले दिए । तर पूर्वमन्त्री तथा राप्रपा प्रजातन्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहोरले पार्टी एकताप्रति असन्तुष्टी जनाएका छन् ।

उनले राप्रपा (प्रजातान्त्रिक), राप्रपा र एकिकृत राप्रपा (राष्ट्रवादी) वीच एकता गरी एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने पहल भईरहेको अवस्थामा राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) वीच एकताको खबरले आफू अचम्भित भएको बताएका छन् । सो घटनालाई तमाम पार्टी कार्यकर्ताहरुको भविष्यमाथि भएको खेलवाड भन्दै त्यस्तो निर्णयप्रति आफ्नो सहमति नरहेको बताएका छन् ।

दुई पार्टीबीचको एकता न हर्ष न विस्मातको अवस्था हो भन्दै बोहोराले ३ वटै राप्रपा पार्टीबीचको एकताले मात्र एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण हुँदै एउटा बलियो राष्ट्रवादी पार्टीको रुपमा स्थापित हुने आफ्नो ठम्याइ रहेको बताएका छन् । उनले पार्टी सबै नेता तथा कार्यकर्ताहरुलाई तिनै पार्टी वीच एकता नहुँदासम्म धैर्य धारण गरी बस्न अपिल समेत गरेका छन् ।

उता एकिकृत राप्रपा (राष्ट्रवादी), राप्रपा (प्रजातान्त्रिक) र राप्रपा वीच एकता गरी एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने पहल भैइरहेको अवस्थामा पार्टी भित्र कुनै छलफल नै नगरी एकाएक एकिकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) वीच एकताको कुनै अर्थ र महत्व नभएको भन्दै एकीकृत राप्रपा राष्ट्रवादीका महामन्त्रीद्धय तीर्थप्रसाद श्रेष्ठ र केशवराज श्रेष्ठ तथा उपाध्यक्ष प्रा.डा. सुश्मा आचार्यले असन्तुष्टी जनाएका छन् ।

उनीहरुले एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्दै एउटा बलियो निर्णायक राष्ट्रवादी पार्टीको रुपमा स्थापित गर्न तीन पार्टीबीचको एकता हुनुपर्ने माग धारणा सार्वजनिक गरेका छन् । उनीहरुले तिन वटै पार्टी एकता नहुँदासम्म आ–आफ्नो क्षेत्रबाट जोडदार पहल गर्न उनीहरुले माग गरेका छन् ।

यता कमल थापा नेतृत्वको राप्रपा केन्द्रीय समिति बैठकले आगामी फागुन ७ गतेबाट संघर्ष गर्ने घोषणा गरेकोछ । राप्रपा केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले फागुन ७ बाट सुरु गर्ने संघर्षलगायतका कार्यक्रम घोषणा गरेको हो । राप्रपाले स्थगित गरेको राष्ट्रिय स्वाभिमान यात्रा र जनसंघर्ष फागुन ७ बाटै गर्ने घोषणा गरेको हो ।

हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित संघर्षको अभियान शुरु गर्ने राप्रपाको तयारी गरिरहेको छ । संघर्षको कार्यक्रमले राप्रपाप्रति सशक्त जनमत र सरकारविरुद्ध दबाव सिर्जना गर्ने दाबी गरेको छ ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७५ माघ २१, ०८: ५०

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७५ माघ २१, ०८: ५०

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७५ माघ २१, ०८: ५०

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...