
काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनि जित्दैन् । अब कांग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिए । उनले भने,‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको गम्भीर आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारे ।
उनले अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको सुनाए । उनले भने,‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् । एक्सपोर्ट–ईम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खाजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’
उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको सुनाए । उनले भने,‘एकाविहानै हाम्रो राष्ट्रको अस्तित्वमाथि चूनौति आउने त होईन भनेर अहिले चिन्ता बढेको छ, ताइवान नजिकै त्यस्ता घट्ना जो भैरहेका छन्, त्यसले अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान नेपाल नहोस भनेर हामी सचेत भएर जानुपर्छ । कहीँ हामी असंलग्न परराष्ट्र नीतिबाट विचलित त छैनौं ? भन्ने पनि प्रश्न उठेको छ ।’ उनले अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।
उनले सार्कलाई रिभाईभ गर्न नसकेको स्मरण गराए । उनले भने,‘हामीले सार्कलाई एक्टिभ गर्न सकेका छैनौं । यत्रो समयसम्म सार्कलाई एक्टिभ गर्न सकिएन ।’
उनले निर्वाचनअघि नै गठबन्धनवालाहरुले चुनावमा पनि गठबन्धन गर्न खोजेकोमा प्रश्न उठाए । उनले थपे–‘अहिले नीतिहीन, सिद्धान्तहीन र गन्तव्यहीन गठबन्धनका साथ जो निर्वाचनमा गईँदैछ । निर्वाचन पहिले नै कोलिसन गठबन्धनको परिकल्पना गरिँदैछ । समाजवादतर्फ कसरी यात्रा तय गर्छौ ? यो वित्तिय गठबन्धन हो । राजश्वको दर फेरबदल गर्न अनधिकृत व्यक्ति गएकै हो । हामीले ठोकुवाका साथ यो कुार भनेका छौं । जसको प्रत्यक्ष प्रभाव फलामको उद्योगमा देखिएको छ । स्यानिटरी प्याडको उद्योगमा पनि देखिएको छ । टायर उद्योगमा देखिएको छ । चाउचाउ उद्योगमा देखिएको छ । हामीले कल डिटेल हेरौं भनेका थियौं ।’
उनले आफूहरुले सरकार छोड्दा अर्थतन्त्र राम्रो अवस्थामा रहेको दाबी गरे । उनले भने,‘अहिले त कोरोनाको भ्याक्सिन हराए । शालिनतापूर्वक सत्तापक्षलाई सचेत गराएका हौं । राष्ट्रिय सार्वभौमिकतालाई सवल बनाउने कुरा मुख्य हो । विकासलाई तिव्र गति दिने र रोजगार दिने कुरा हो । हामी मूलतः आफ्नो खुट्टामा उभिएर जान्छौं । गठबन्धन बन्दैन । तर, हामी चुनावमा सहकार्य र तालमेलको रुपमा अघि बढ्छौं ।’
तपाईंहरुले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई किन अघि सार्नुभएको छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा अधिकारीले अहिले देशको आवश्यकत्ता नै केपी ओली भएकोले आफूहरुले भावी प्रधानमन्त्रीको रुपमा उनलाई अघि सार्न खोजेको सुनाए ।
उनले भने,‘उहाँले नेपालालई नयाँ युगमा प्रवेश गराउनुभयो । किनभने लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा वैदेशिक सैन्य छ, त्यसलाई हटाउनुपर्छ भनेर मैले संकल्प प्रस्ताव तीन पटकसम्म संसद्मा राखें । त्यो संकल्प प्रस्ताव सूचिमा आएपछि पनि हटाईयो । केपी ओलीले के गर्नुभयो भन्ने कुरा छर्लङ छ, त्यस्तो प्रधानमन्त्री अहिलेसम्म पाउनुभयो ? राष्ट्रिय स्वाभिमानको लागि केपी ओली चाहिन्छ । समकालिन विश्वमा, भूराजनीतिको यो अवस्थितिमा दक्षिण र उत्तरतर्फ आफ्नो लविङ र क्याम्पेन गर्नसक्ने, त्यो हैसियत पनि चाहिन्छ । अहिले युवाहरुले प्रधानमन्त्री चलाउँछु भन्ने कुरा त रमाईलो कुरा हुनसक्छ । रोमाञ्चित कुरा हुनसक्छ, तर हामीले त्यो टावरिङ पर्सानिलिटीका साथ लविङ गर्न सक्छ कि सक्दैन्, त्यो हेर्नुपर्छ । अहिले देश संकटमा छ । हामीले उत्तरबाट पाएका सुविधाहरु, त्यो सपना देख्ने केपी ओली । स्ट्रिम त चलिसके । विकासको नयाँ युग सुरु गरेकोले एकपटक नेतृत्व दिनुपर्छ । देशभक्तिको भावनाले उहाँ ओतपोत हुनुहुन्छ । विकास र नयाँ युगको नेतृत्व केपी ओलीले गर्नुभयो ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विद्येयकको बारेमा आफ्नो निर्णय लिने विश्वास व्यक्त गरे । प्रचण्डले तत्काल राष्ट्रपतिले विद्येयक प्रमाणिकरण गर्नुपर्छ भनेको विषयमा उनले प्रश्न गर्दै भने–‘प्रचण्ड को हो ? प्रधानमन्त्री हो र ? प्रचण्डको आदेश तामेल गनुपर्ने राष्ट्रपति उहाँको कार्यकर्ता होईन होला नि । प्रचण्ड त मजस्तै सांसद हो । सत्तापक्षको घटकको नेता न हो । सांसद न हो । उहाँ र म मा के फरक छ ? राष्ट्रपतिले समयभित्र आफ्नो निर्णय लिनुहुन्छ ।’ उनले कतिपय विद्येयकहरु पूनविर्चार भएका पनि स्मरण गराए । तर, आफूले वैवाहिक अंगीकृतहरुले ७ वर्ष पछिमात्रै नागकिरता पाउनुपर्छ भन्ने अडान राखेको र यसलाई निरन्तर राखिरहने सुनाए ।
नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ । उनले भने,‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस । स्थानीय तहमा २०० सय सिट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो । अबको संसद्को निर्वाचनमा एक सिट चाहीँ आउने सम्भावना छ । केपी ओली जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन् । मैले दोहोर्याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस । यसपटक एमाले शुन्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ ।’
उनले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए । उनले भने,‘एमालेका साथीहरुलाई म भन्छु–अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोशिस नगर्नुहोस । किताब त छाप्नुभयो । किन पुर्याउनुभएन ? स्कुलमा किताब देखिनँ । तुईन हटाउछु भन्नुभएको थियो, हट्यो त ? तपाईँहरुले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन । यो सरकारले छोटो अवधिबाट देशलाई श्रीलंका हुनबाट बचाईदियो ।’
उनले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपति कहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गरे । उनले भने,‘राष्ट्रपतिले अहिलेसम्म विद्येयक प्रमाणिकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन् । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नु भएको छैन् । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि दिओस, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस । अविलम्ब विद्येयक प्रमाणिकरण गर्नुहोस ।’
नेता यादवले अहिलेको पाँच दलीय गठबन्धन नेपाली जनताले आवश्यकत्ता महशुस गरेर बनेको सुनाए । उनले भने,‘यो गठबन्धन नेपाली जनताले आवश्यकत्ता बोध गरेर बनेको हो । गठबन्धन आजपनि कायमै छ, भोलि पनि कायम रहन्छ । भोलि पनि यही गठबन्धनको सरकार बन्छ । यसमा जनता ढुक्क हुनुहोस ।’
उनले यसअघि जनतामाथि धोका र विश्वासघात गरेको कारण अब केपी ओलीलई अब प्रधानमन्त्री बन्ने नैतिक आधार नै नभएको दाबी गरे । उनले भने,‘अब एमालेबाट प्रधानमन्त्री बन्ने नैतिक आधार छैन, र हुँदै हुँदैन् । उहाँहरुले सरकार चलाउने भनेर ०७४ को निर्वाचनमा पनि पाँच वर्षको लागि जनताबाट म्याण्डेट लिनुभएको थियो, तर, केपी ओलीले तीन वर्ष पनि चलाउन सक्नुभएन । जनतालाई सास्ती दिनुभयो । लोकतान्त्रिक संस्थालाई समाप्त गर्नुभयो । राष्ट्रिय एकता र अखण्डतालाई बोलीबाट धरापमा पार्ने कोशिस गर्नुभयो । जनताले ओली सरकार नहटाएसम्म घर फर्किन्नौं भनेपछि उहाँ हट्न बाध्य हुनुभयो । एकचोटी सफल भैसकेको व्यक्तिलाई अब प्रधानमन्त्री बनाउनुहुन्न ।’
यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको दाबी गरे । उनले भने,‘सरकारले भर्खरै बजेट ल्याएको छ । अब द्रुत गतिमा विकासको काम सुरु हुन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा उहाँले चैत्र-बैशाखभित्र खोप दिन्छु भन्नुभएको थियो । उहाँले समयमै सबैलाई खोप उपलब्ध गराउनुभयो । स्थानीय तहको चुनावपनि एकै चरणमा गर्नुभयो । त्यो पनि निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नुभयो । देउवा सरकारले श्रीलंकाको हालतमा जानबाट देशलाई बचाएको छ । यी सबै कामको लागि प्रमुख प्रतिपक्षी दल र यसका नेताहरुले पनि थ्यांक्स भन्नुपर्छ । आगामी निर्वाचनमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्दैछ ।’
उनले आफूले नेपाली जनताको मुड हेरेको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र उम्मेद्धवारहरुले एक-दुई वटा ठाउँमा जित्न सक्ने तर एमालेले एक सिट पनि नजित्ने ठोकुवा गरे । उनले आगामी निर्वाचनमा सत्तापक्षीय गठबन्धन एकताबद्ध भएर जाने दाबी गरे । निर्वाचनको लागि सिट बाँडफाँडको लागि काम भैरहेको उनको भनाई छ । उनले भने,‘म अहिले नै भनिदिन्छु यो निर्वाचन ९० प्रतिशत गठबन्धनले जितिसिक्यो । जनता अहिले गठबन्धनसँगै छन् । एमालेसँग जनताको वितृष्णा छ। एक वर्षमा हामीले जनतामा आशा जगाएका छौं ।’
उनले १६५ सिटमध्ये आफूहरुको दाबी १०० सिटमा रहेको सुनाए । तर, गठबन्धनभित्र सहमति कायम गर्नको लागि ९० सिटसम्म मान्न सकिने उनको भनाई छ । उनले गठबन्धनको महत्वपूर्ण घटकको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई सन्तुष्ट बनाएर गठबन्धनभन्दा बाहिर जान नदिने पनि विश्वास दिलाए । उने भने,‘माओवादीलाई जति दिनुपर्ने हो, त्यो दिन्छौं । हामी माओवादीलाई सन्तुष्ट गरेर हामीभित्रै राख्छौं । कांग्रेस आँफै शक्तिशाली छ । हामी सुध्रिएर नै जनता जोगाएका छौं ।’ उनले एमालेलाई लाजै नभएको पार्टीको पनि संज्ञा दिए । यस्तै, महाकाली सन्धि गलत हो भने केपी ओली पनि गलत भएको उनको टिप्पणी थियो ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...