
काठमाडौं । यही १४ गते हुन गइरहेको ३८ स्थानको ५२ पदहरुमा उपनिर्वाचन हुँदैछ । राजनीतिक दलहरु आ–आफ्ना उम्मेदवारहरु जिताउन भन्दै जिल्ला दौडाहमा पुगेका छन् । कास्कीको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा मुख्य भीडन्त कास्की काँग्रेसका नेता खेमराज पौडेल र नेकपाकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । यसै अनुरुप दुवै पार्टीको केन्द्रीय शक्ति नै चुनावमा परिचालित गरिरहेका छन् ।

विद्या भट्टराई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । खेमराज नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका कास्की काँग्रेसका सर्वमान्य नेताका रुपमा चिनिन्छन् । त्यसो त विद्या पनि अखिलको राजनीतिक पृष्ठभूमिबाट ओझेल पर्दै प्राध्यापन पेशामा रहँदै गर्दा एक्कासी टिकट लिएर जनतासामु आएकी हुन् ।
खेमराज शिक्षण पेशा र राजनीतिक यात्रालाई निरन्तरता दिंदै चिनी कारखानाको अध्यक्ष र सुकुम्बासी आयोगको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । उनले सुकुम्बासी आयोगको अध्यक्ष छदाँ कास्कीका सुकुम्बासीले लालपूर्जा वितरण गर्दा आफ्नै पार्टीका तर्फबाट जितेको वडाध्यक्षले उठाएको घूस वापतको रकम सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरी दिएर उदाहरणीय कार्य प्रस्तुत गरेका थिए ।
पौडेल काँग्रेसको वीपी, गणेशमान, किसुनजीसँग निकट भई सादगी जिवनयापन नेताका रुपमा परिचित भएको हुँदा काँग्रेसले खेमराज पौडेललाई अघि सारेको र जनताको विश्वास जित्ने रणनीतिमा लागेको बताइन्छ ।

काँग्रेसले नेकपाको अलोकप्रियता, महङ्गी, भ्रष्टाचार र अस्वभाविक कर वृद्धि जस्ता विषय जनतासामु पु¥याएर चुनाव आफ्नो पोल्टामा पार्ने रणनीति समेत बनाएको छ । उता नेकपाले विद्यालाई स्व. रवीन्द्रको उत्तराधिकारीका रुपमा अघि सार्दै सहानुभूतिको भोटबाट आफ्नो साख जोगाउने धौंधौं परिरहेको पोखरावासी बताउँछन् ।
हाल कास्की २ मा ७१ हजार आठ सय ७० मतादाता छन् । तीमध्ये करिब ७० प्रतिशत मत खस्ने अनुमान छ । अहिलेको प्रारम्भिक मत सर्वेक्षणमा काँग्रेसभन्दा चार हजार मत बढी रहेको नेकपाको दावी रहेता पनि स्व. रवीन्द्र अधिकारी वाइडबडी खरिद प्रकरण, तारागाउँ रिजेन्सी होटलको शेयर लिलामी प्रकरण, काठमाडौं तराई जोड्ने द्रुतमार्गमा नेपाली सेनाको जग्गा खरिद घोटला प्रकरण, एनसेल प्रकरण जस्ता भ्रष्टाचार प्रकरणमा मुछिएको घटनाले अहिले पोखरा क्षेत्र नं. २ मा काँग्रेसलाई समर्थन एकाएक बढ्दै गइरहेको हाम्रा संवाददाताले बताउका छन् ।
त्यतिमात्र होइन रवीन्द्रमाथि शक्तिको दुरुपयोग गरी विभिन्न हाइड्रोपावर कम्पनीबाट शेयर लिएको, फेवातालको जग्गा अतिक्रमणकारी तथा भ्रष्टाचार अभियोग लागेको व्यक्तिहरूलाई विज्ञ टोलीमा मनोनित गरेको लगायतका आरोपहरु समेत लागेको थियो ।
रवीन्द्र अधिकारीले एकाएक पदमा रहँदा कमाएको अकुत सम्पत्ति विभिन्न व्यापार व्यवसायमा लगानी रहेको र रवीन्द्र ‘हिडेन पार्टनर’ का रुपमा रहेको स्रोतको दावी छ । उनको अकुत सम्पत्तिको लगानीमा मालिक बनेका छद्मभेषी उद्यमीहरुको सम्पत्तिको स्रोतमाथि छानवीन गर्नुपर्ने माग उठिरहेको स्रोतले बतायो ।
त्यस्तै कास्की २ मा नेकपाका थुप्रै त्यागी र हस्ती नेताहरू हुँदाहुँदै विद्यालाई स्व. रवीन्द्रको उत्तराधिकारी बनाएर अघि सारिएपछि अन्य नेताहरु निराश बनेका छन् । यद्यपि पार्टीको केन्द्रीय शक्ति नै विद्याको पक्षमा लाग्दा स्थानीय नेताहरू देखिने गरी विरोधमा आउन भने सकिरहेका छैनन् । उता विद्याको चुनावी कमाण्डर पूर्व माओवादीतर्फका नेता हाल नेकपा कास्कीका इञ्चार्ज राजकाजी गुरुङ् (करण)लाई बनाइएको हुँदा उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा मुछिएको व्यक्तिको रुपमा चिनिन्छन् ।
विमानस्थल भ्रष्टाचार प्रकरणपछि दोस्रो संविधान सभा निवार्चनमा गृह जिल्ला पर्वतबाट प्रत्याशी बनेका गुरुङ पराजय भोग्न पुगे । त्यसपछि ७४ को आम निर्वाचिनमा पुनः कास्की २ को प्रदेश ख बाट पराजित भए । पूर्वएमाले र पूर्वमाओवादीको साझा उमेद्वारको रुपमा रहेता पनि पूर्वएमाले नै चुनाव हराएको पूर्वमाओवादीहरुको विश्लेषण रहेको थियो । तर उनीमाथि लागेको विमानस्थल भ्रष्टाचार प्रकरण मुद्दा नै उनको चुनावी हारको कडी रहेको पूर्वएमालेतर्फका एक नेताले बताए । अहिले उनै करणलाई चुनावी कमाण्डर बनाउँदा विद्यामा घात नहोला भन्ने अवस्था देखिदैैन ।
त्यसैगरी साँच्चै विद्यालाई न्याय वा सहानुभूति दिनुनै पर्ने भए राष्ट्रिय सभामा मनोनित गरी मन्त्री बनाउन सकिने अवस्था हुँदाहुँदै चुनावी मैदानमा उठाएकोमा पार्टीवृतमा निकै आलोचना भएको बताइन्छ । यद्यपि नेकपाले सहानुभूतिको मतबाट कास्की २ गुम्न नदिने रणनीति बनाएर विद्यालाई अघि सारिएको भए पनि नतिजा भने फरक निस्कने विश्लेषण गर्न थालिएको छ ।
विद्याको विकल्पमा नेकपाभित्र धेरै आकाँक्षी रहेकाले शक्ति सन्तुलन लागि विद्यालाई अघि सारिएको भए पनि सकारात्मक नतिजा आउनेमा शंका उब्जिएको नेकपाको उच्च स्रोतले बतायो ।
विद्या रवीन्द्रको उत्तराधिकारी बनिरहँदा रवीन्द्रमाथि लागेका भ्रष्टाचारको उत्तराधिकार पनि बन्छु भनेर मतदातासामु जान प्रमुख प्रतिस्पर्धी पार्टीका नेताहरूले चुनौति दिएका छन् ।
अर्कोतर्फ विद्यामाथि रवीन्द्रको काजक्रिया समेत नगरी धर्मसंस्कृतिमाथि प्रहार गरेको आरोप लाग्दै आएको छ । यसले काँग्रेसबाट प्रत्याशी उमेद्वार खेमराज पौडेललाई निकै सहज हुने राजनीतिक विश्लेषकहरु बताउँछन् । यद्यपि खेमराजको जित र हारले संसद्मा त्यति ठूलो उथलपुथल नभएतापनि नेकपाको स्वेच्छाचारीको अन्त्यका लागि र पार्टीलाई सच्चिनका निम्ति पनि खेमराजको पक्षमा जनमत निर्माण हुने अवस्था बन्दै गइरहेको छ । यद्यपि काँग्रेसले नेकपाको स्वेच्छाचारी शैली, जनतामाथि थोपारिएको करको भारी, रवीन्द्र अधिकारी मुछिएका भ्रष्टाचार प्रकरणबारे जनतालाई बुझाएर मत आफ्नो पक्षमा पार्न कडा मिहिनेत खर्चिनुपर्ने देखिन्छ ।
उता साझा पार्टीकी रजनी केसीले भ्रष्टाचार विरोधी मत समेत तान्ने आँकलन गरिएको छ । त्यसैगरी धर्मराज गुरुङ संघीय समाजवादी पार्टीबाट प्रत्याशी बनेका छन् भने राप्रपाबाट उमेद्वार रोमबहादुर भण्डारीले पनि राम्रै मत तान्ने आँकलन गरिएको छ । त्यसैले यसपालीको उपनिर्वाचन आमनिर्वाचन जस्तो नभई नयाँ खालको राजनीतिक परिवेश निर्माण हुने हुँदा काँग्रेसबाट उम्मेदवार बनेमा खेमराज पौडेलको पक्षमा जनमत ह्वात्तै बढ्ने आंकलन गरिदै छ ।
त्यसैगरी भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को क प्रदेशमा पनि चुनाव प्रचारप्रसार तिव्र रुपमा अगाडि बढीरहेको छ । नेपाली काँग्रेसले पुराना र इमान्दार नेताका रुपमा परिचित चाँगुनारायण निवासी कृष्णबहादुर भडेललाई चुनावी मैदानमा उतारेको छ भने नेकपाका तर्फबाट सिन्धुपाल्चोकबाट भक्तपुर कमल विनायकमा बसोवास गर्दै आएका वर्षमान पुनका सहयोगीका भूमिकामा रहेका डिपी ढकाललाई उम्मेदवार बनाइएको छ ।
भडेल सोही ठाउँका पुख्र्यौली वासिन्दा भएका कारण चाँगुनारायण क्षेत्र लगायत भक्तपुर भरिनै परिचित छन् । हाल उनी आफ्नै माताको काजक्रियामा रहेता पनि उनको प्रचारप्रसारमा नेपाली काँग्रेसका नेताहरु पूर्व सहमहामन्त्री तथा पूर्व अर्थमन्त्री रामशरण महत्त, वर्तमान सहमहामन्त्री प्रकाश शरण महत्त, पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी, काठमाडौं महिला संघ लगायत भातृ तथा शुभेच्छुक संस्थाहरु चुनाव प्रचारप्रसारमा जुटेका छन् ।
भडेललाई काँग्रेसको इमान्दार नेताको रुपमा लिइन्छ । भडेलको चुनाव अभियान र घरदैलो कार्यक्रम तीव्र रुपमा अगाडि बढेको हुँदा निर्वाचनमा जित हासिल गर्ने दाबी गर्छन् भक्तपुरका काँग्रेस सभापति दूर्लभ कुमार थापा ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको वडा नं. ३ को वडा अध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । वडा निर्वाचनमा पनि काँग्रेसले केन्द्रीय नेतृत्वदेखि जिल्लास्तरका नेतालाई समेत खटाएको हुँदा घरदैलो कार्यक्रम र प्रचारप्रसार तीव्र बनाइएको छ ।
वडा नं. ३ को वडाअध्यक्ष पदको लागि काँग्रेसबाट जयशंकर के.सी तथा नेकपाबाट शिबभक्ति बलामी, राप्रपाबाट रुपा देवकोटालाई उम्मेदवार भएका छन् । काँग्रेसले जयशंकर के.सी सोही ठाउँका शिक्षक र समाजसेवी भएको हुँदा जित आफ्नो पोल्टामा पर्ने दाबी गरेको छ ।
जयशंकर के.सीको प्रचारप्रसार र घरदैलो कार्यक्रममा महिलाहरुको उल्लेखनीय सहभागिता देखिएको छ भने नेकपाबाट उम्मेदवार बनेका शिबभक्ति बलामी ठमेलका व्यापारी भएको हुँदा पैसा बाँडेर भोट किन्ने रणनीति बनाएको स्थानीयवासी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...