सवारी साधन र शक्तिको दुरुपयोगः कांग्रेस – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सवारी साधन र शक्तिको दुरुपयोगः कांग्रेस

निर्वाचनका बेला सरकार हिंसामा उत्रियोः प्रवक्ता

काठमाडौं । नेपाली कांग्रसले मंसिर १४ गतेको निर्वाचनमा सरकारले आचारसंहिताको उल्लंघन गर्दै हिंसामा उत्रिएको आरोप लगाएको छ । आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्य मन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएर र कयौं स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग गरेको कांग्रेसको आरोप छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि भौतिक आक्रमण नेकपाका कार्यकर्ताहरूद्वारा गराइनुलाई उदाहरणको रुपमा प्रस्तुत गरेका छन् ।

शनिबार विज्ञप्ती जारी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चितवन खैरहनी नगरपालिका वडा नं. ४ मा मंसिर ६ गतेको चुनावी सभामा ३९ युवा सहित ४६ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका र प्रवेश गराउने भूमिका निर्वाह गरेका स्थानीय प्रखर युवा टेकबहादुर परियारलाई मंसिर ९ गते राति भौतिक आक्रमण गरिएको जनाएका छन् ।

उनले निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौं कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने कार्य भएको जनाएका छन् । मौनअवधी शुरू भएपछि पनि कास्कीको वैदामका डिएसपीलाई सरूवा गरिएको छ । अरूबेला काममा ढिलासुस्ती भएको वेला हाल कयौं ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजनामै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौं भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।

महोत्तरीको पिपरामा बम विष्फोट पश्चात मौन अवधिमा पनि चुनाव प्रचारकै शैलीमा गतिविधिहरू भएको, आचारसंहिता उल्लंघनका सबै घटना र भय–त्रासमा बृद्धि भएको भन्दै कांग्रेसले त्यसलाई रोक्न र दोषीलाई कारबाहीको पहल गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि भएको आक्रमण निन्दनीय रहेको कांग्रेसले जनाएको छ । उसले शुल्क वृद्धिकाविरुद्ध आवाज उठ्नु सहि छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद मात्रै होइन दण्डनीय भएकोले कारबाहीको माग कांग्रेसले गरेको छ ।

त्रिचन्द्रमा सम्मानित गुरु माथि आक्रमण गर्ने संगठनकै सदस्यहरुले नेपाल कमर्श क्याम्पस, मिनभवमा नेविसंघका सदस्यहरु माथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएका छन् । कालापानी लगायतको प्रकरणमा सिंगो राष्ट्र एकढिक्का भई उभिनु पर्ने समयमा नेपाली कांग्रेसले एकातिर आफू निकटका विद्यार्थीलाई फेरिपनि संयमित रहन निर्देशित गरेको छ तर सत्तापक्षमा त्यो ढंगको संस्कार नदेखिनु दुःखद भएको भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाका दोषीहरुलाई कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले कालापानी लगायतको भूभागको रक्षाका लागि सरकारको भूमिका शुन्य भएको आरोप लगाएका छन् । शर्माले भनेका छन्, ‘नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका वावजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो । हिजोको उग्र राष्ट्रवादको नारा यो प्रकरणमा आइपुग्दा विषर्जित हुँदै गएको चित्रले जनसमक्ष वास्तविकता उजागर त गर्दैछ नै तर कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा पनि बढेको छ ।’

यसैगरी नेपाली कांग्रेसले शनिबार ३७ जिल्लाका ५२ स्थानको लागि भएको निर्वाचनमा सरकारी साधन–श्रोतको दुरुपयोग, सत्ताको संरक्षणमा भएका भौतिक आक्रमणका घटना, अनेक भय र प्रलोभनका घटना भएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

कांग्रेसले सरकारको त्यस्तो क्रियाकलापको खेद व्यक्त गर्दै सरकारी पक्षको असहयोग र अनेक दबाबकावीच निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, मतदानमा सरिक भएका राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय एवं निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकारहरुप्रति नेपाली कांग्रेसले धन्यवाद र आभार प्रकट गरेको छ । कांग्रेस मुख्यालले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धांधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायीत्वबाट सरकार भागेको जनाएको छ ।

कांग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको तर वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद र लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल भएको दाबी पार्टीले गरेको छ ।

सभापति देउवाले समेत निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने भन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरुपयोग गरीएको वताउँदै त्यसका बावजुद प्रतिकुल वातावरणमा मतदानमा सहभागी सवै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

देउवाले मतगणना लगायतको बाँकि कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई आव्हान समेत गरेका छन् । सभापति देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता राख्न उपनिर्वाचन सम्पन्न भएका सबै ठाउँका साथीहरुलाई सजगता रहन अपिल गर्दै निर्वाचनमा अहोरात्र खटिनु भएका पार्टीका सवै तहका साथी एवं शुभचिन्तकहरुमा निरन्तर उत्साह र कृयाशिलताका लागि अपिल समेत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७६ मंसिर १६, ०७: २३

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७६ मंसिर १६, ०७: २३

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७६ मंसिर १६, ०७: २३

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...