
काठमाडौं । नेपाली कांग्रेस भित्र १४औं महाधिवेशनको संघारमा आएर नेताहरुबीच पुन धु्रवीकरण र गुटबन्दी शुरु भएको छ । एजेण्डा र अन्तरवस्तुमा भन्दा पनि आगामी महाधिवेशनलाई लक्षित गरी नेताहरु एकले अर्कोलाई कमजोर देखाउन बैधानिक बाटो छाडेर घुक्र्याउने लाईनमा अघि बढेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहीबार पार्टी केन्द्रीय कार्यालय सानोपामा बोलाएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर नेता रामचन्द्र पौडेल र केही पदाधिकारीहरु नै हिँडेपछि असन्तुष्टी र गुटबन्दी बाहिर देखिएको हो ।
केन्द्रीय कार्यसमितिको बैठक शुरु हुने अघिल्लो दिन बुधबार बिहान सभापति देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले औपचारिक बैठकमा पेश गर्ने एजेण्डाका विषयमा छलफल भएको थियो ।
औपचारिक बैठकमा पेश गरिने एजेण्डाका विषयमा कुनै विमति नराखे पनि बुधबार बेलुकी पार्टी कार्यालय सानेपामा बोलाइएको पदाधिकारी बैठकमा नेता पौडेल नआएपछि केही गडबड हुँदैछ भन्ने कुरा सानेपामै बसेका उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्माले त्यही बेला थाहा पाएका थिए ।
साँढे तीन बजे बोलाइएको पदाधिकारी बैठक केही ढिला गरी ४ बजे बस्ने तय भएको थियो । तर निर्धारित समयमा पार्टी केन्द्रीय कार्यलयमा नेता पौडेल आएनन् । महामन्त्री डा शशांक कोइराला भने ४ बजेर १५ मिनेटमा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका थिए ।
तर, आफू सवार गाडी भित्रै टेलिफोनमा करिव सात मिनेट गफ गरेका कोइराला पार्टी कार्यालयमा नउत्रीएर नै फिर्ता भए । महामन्त्रीलाई स्यालुट हान्नको लागि केन्द्रीय कार्यालयको गेटमा वसेका सुरक्षा गार्ड र पालेहरु समेत जिल्ल परे, जुनबेला महामन्त्री गाडीबाट नउत्रिएर चालकलाई पुन गाडी पार्टी कार्यालयको ढोकाबाटै फर्काउन लगाए ।
शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा नेता पौडेलले १४औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डामा प्रस्तुत गर्ने गरी एजेण्डा ल्याउनु पर्ने अडान राखेका थिए ।
अनौपचारिक बैठकमा सभापति देउवाले निर्वाचन समिति संयोजक अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा गठित सममितले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कार्य समितिको तदर्थ समिति गठनको रिपोर्ट दिए पछि १४औं महाधिवेसनको कार्यतालिका पेश गर्ने बताएका थिए ।
नेता पौडेललाई उपसभापति निधि, सहमहामन्त्री डा. प्रकाशशरण महतले समेत अन्तरिम समायोजन सम्बन्धी निर्देशीका कति कार्यान्वयन भयो भन्ने विषयमा समिति अध्यक्ष अधिकारीले रिपोर्ट दिएपछि महाधिवेशनको कार्यतालिका ल्याउन सजिलो हुने भनेका थिए ।
तर, वरिष्ठ नेता पौडेलले भने कुनै हालतमा पनि महाधिवेशनको कार्यतालिकाको खाका अगाडि नसारे बैठक बस्नै नसक्ने भन्दै बहिस्कार गर्छाै भने ।
पौडेललाई मनाउनको लागि निधि र डा. महतले गरेको प्रयास अन्तत ः असफल भयो । र तीन घण्टासम्म पौडेलको सहमतिलाई कुरेर बसेका सभापति देउवाले अपरान्ह चार बजे बैठक शुरु गरे ।
सभापति देउवाले पौडेलसँगको कुराकानीमा निर्वाचन समिति संयोजक रहेका अधिकारीले पार्टीको स्थानीय तहको अन्तरिम समायोजन सम्वन्धी प्रतिवेदन पेश नै नगरी महाधिवेशको कार्यतालिका ल्याउन समस्या हुने वताएका थिए ।
देउवाले स्थानीय तहको अन्तरिम संरचना निर्माण भए वा नभएको थाहा नभइ कसरी महाधिवेशनको मिति तोक्ने भन्ने प्रश्न गरेका थिए । देउवाले आफू निकटका जिल्ला सभापति भएका तनहुँका जितप्रकाश आले (कार्यवाहक) र काभ्रेपलाञ्चोकका मधु आचार्यले समेत स्थानीय तहको अन्तरिम संरचनाको प्रतिबेदन निर्वाचन समितिलाई नबुझाएको जानकारी दिएका थिए ।
जिल्लाबाट आएको प्रतिवेदनकै आधारमा समितिले प्रतिवेदन तयार पार्ने भएको हुँदा सबै जिल्लालाई अन्तरिम संरचनाको रिपोर्ट चाडो बुझाउन निर्देशन दिने बताएका थिए ।
त्यस्तो विषयमा समेत पौडेलले सकारात्मक धारणा नराखेपछि देउवाले जिल्लाबाट स्थानीय तहको अन्तरिम संगठनको प्रतिवेदन केन्द्रमा नपठाउने अनि केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका चाहिने ? भनेर झोंक्किएका थिए ।
देउवाले पार्टीलाई चल्न नदिन सँधै हलो अड्काएर गोरु चुट्ने काम बन्द गर्न पौडेललाई चेतावनी समेत दिएका थिए । पौडेलले महाअधिवेशनको कार्यतालिका भन्दा पनि बैठकमा थप १३ वटा विभागमा आफ्नो गुटलाई वा आफूले भने बमोजिमकालाई ४० प्रतिशत अर्थात १७ वटा विभाग दिनुपर्ने भन्ने भित्री रहस्य भएको एक नेताले बताए ।
पौडेलले १७ वटामा पनि शक्तिशाली विभाग आफैलाई दिनुपर्ने प्रस्ताव गरेका रहेछन् । त्यसैले बैठकमा एउटा कुरा गर्ने र उदेश्य अर्को राख्ने बानी परेका पौडेलले वाहिर संचार माध्यमलाई भने महाधिवेशन गर्ने र टार्ने उदेश्यले बैठकमा एजेण्डा पेश भएको तथा विभागको सख्या महाधिवेशनको मुखमा थप्न खोजेकोले असहमति जनाएको बताउँदै आएको कुरा एक नेताले बिकल्पलाई बताए ।
पौडेलसँगै बैठकमा भाग लिन गएका पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवले पनि बैठक बहिस्कार गरेर हिँडे ।
तर असन्तुष्ट पक्षका नेताले बैठक बहिस्कार गरे पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा सहभागी हुन आएका महामन्त्री डा. शशांक कोइराला बहिस्कार गरेर पार्टी कार्यालयबाट निस्किएको र अर्का महामन्त्री पूर्णबहादुरख खड्का व्यक्तिगत काम विशेषले बैठकमा उपस्थित नभएपछि बैठकमा एजेण्डा प्रस्तुत गर्ने काम सहमहामन्त्री डा.प्रकाशशरण महतले गरेका थिए ।
बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, नेताहरु धनराज गुरुङ्लगायतका नेताहरु बैठकमा उपस्थित नै भएनन् ।
असन्तुष्ट नेताहरुसँगै संस्थापन पक्षका नेता उपसभापति विमलेन्द्र निधिले बिभाग गठन र संख्या थप, नेविसंघ नेतृत्व चयन तथा तरुण दलको अबधि थप र बिस्तारमा सहयोग गर्न बरिष्ठ नेता रामचन्द्र पौडेलसंग आग्रह गरेका छन् ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै बिहिबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेर हिँडेका नेता पौडेललाई भेट्न सभापति देउवालाई लिएर बोहोराटार पुगेका निधिले यस्तो आग्रह गरेका थिए ।
पौडेललाई भेट्न सभापति देउवा उपसभापति निधि शनिबार बिहान उनकै निवास बोहोराटार पुगेका थिए । पौडेलले देउवाको आग्रहपछि सभापतिलाई सघाउन आफू सधैं तयार रहे पनि महाधिबेशनको कार्यतालिका नआएसम्म बैठकमा भने भाग लिन नसक्ने अडान दोहो¥याएका थिए । पार्टीको तल्लो तहको सामायोजन टुंगो नलागेसम्म निर्वाचन समितिले कार्यतालिका बनाउन नसक्ने जवाफ दिएका थिए ।
पार्टीले सांसद राधेश्याम अधिकारी संयोजक रहेको निर्बाचन समितिले कार्यतालिका बनाउन समिति गठन गरेको थियो । समितिलाई कात्तिक मसान्त भित्रमा प्रतिवेदन बुझाउन म्याण्डेड दिए पनि अधिकारीले जिल्लाबाट रिपोर्ट नआएको भन्दै विवसता प्रस्तुत गरेका थिए ।
केन्द्रीय कार्यसमितिको विहीबारको बैठकमा बोलाइएका समिति संयोजक अधिकारीले १० वटा जिल्लाबाट मात्र पार्टीको जिल्ला कार्यसमिति मातहतको सबै तहको समायोजन भएको रिपोर्ट आएको वताएका थिए ।
अझै ६७ जिल्लाबाट प्रतिवेदन आउन बाँकी रहेपछि अधिकारीले प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न नसकेको जानकारी दिएका थिए । कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि पौडेल समूहले प्रकाशमान सिंहको नेतृत्व दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी रहेको समिति बनाएको छ । संस्थापन पक्षबाट विमलेन्द्र निधिको नेतृत्वमा वार्ता समिति गठन गरिएको छ ।
दुबै पक्षका प्रतिनिधि सम्मिलित कार्यदलले न्यायपूर्ण, पारदर्शी र सम्मानजनक ढंगले बिबादको समाधान खोज्न सक्ने पौडेलले दावी गरेका छन् । सोही बमोजिम शनिबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारीमा दुवै पक्षबीच छलफल भएको छ ।
छलफल सकारात्मक भनिए पनि कुनै सहमति भएन । असन्तुष्ट पौडेल पक्षधर नेताहरुले पार्टीको विभागको संख्या २८ बाट बढाएर ४१ बनाउने प्रस्ताव फिर्ता लिन वा तिमध्ये असन्तुष्ट समूहले कति पाउने भनेर जिज्ञासा राखेका थिए ।
केन्द्रीय कार्यसमितिको निर्णय
नेता पौडेल लगायतका असन्तुष्ट नेताले बहिस्कार गरेको पार्टी केन्द्रीय कार्यसमितिको विहीबार अपरान्ह ४ बजे बसेको बैठकले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजन सम्बन्धी निर्देशिका कार्यान्वयन कति सम्पन्न भएको र कति बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको थियो ।
समितिको जानकारी लिएपछि सभापति देउवाले चाँडो भन्दा चाँडो प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । पार्टी सभपाति देउवाको निर्देशनपछि संयोजक अधिकारीले पार्टीका सबै जिल्लाका सभपातिलाई सम्पक गरी चाँडो समाजयोजनको प्रतिवेदन केन्द्रमा पठाउन भनेका छन् । बैठकमा उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा गरेको थियो ।
बैठकले नेपाली कांग्रेसका भ्रातृ संघ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन बुझाइएको थियो । केन्द्रीय सदस्य एनपी सावदको संयोजकत्वमा गठित समितिले सबैजसो भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधन, परिमार्जन वा नयाँ भातृ वा शुभेच्छुक संस्था दर्ता सम्मको विषयलाई समेटेर प्रतिवेदन तयार भएको छ ।
यस्तै पार्टीको सो बैठकले नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन गरेको छ । तीन वर्षअघि पोखरामा भएको तरुण दलको तेश्रो महाधिवेशनबाट जीतजंग बस्नेतलाई सहमतिको आधारमा अध्यक्ष बनाइएको थियो ।
चार सदस्यीय केन्द्रीय कार्य समिति रहेको नेपाल तरुण दलको म्याद गत मंसिर ३ गतेदेखि समाप्त भएको थियो । त्यसतै बैठकमा कालापानी लगायतको सीमा अतिक्रमण सम्बन्धी प्रस्ताव पनि पेश भएको थियषे । यस्तै, सात सय ५३ स्थानीय तहमा केन्द्रीत रहने तेस्रो चरणको जागरण अभियानको मिति पुस १६गतेबाट सारेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गर्ने निर्णय बैठकले गरेको छ ।
यसैबीच, संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डीत गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त माथिनै आघात पु¥याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषद् सम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साता मात्र राष्ट्रपति समक्ष प्रस्तुत गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा संवैधानिक परिषद्को निर्णय बहुमतको आधारमा गर्न सकिने प्रस्ताव गरिएको छ । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनैतिक पूर्वाग्रहका आधारमा लान्छीत गर्ने, झुठ्ठा मुद्दा चलाउने गरी संवैधानिक आयोग जस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।
यसरी दुराग्रह र वद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी दिएको छ । विहीबारको बैठकमा केन्द्रीय सदस्य महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले बोलेका थिए ।
१३ विभाग थप्ने प्रस्ताव
नेपाली कांग्रेस केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी विहीबार केन्द्रीय कार्यालयमा पेश भएको प्रस्ताव अनुसार पार्टी विधानको दफा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई विधानको दफा ५० (५) बमोजिम व्याख्या गरी विभागको सख्या २८ बाट बढाएर ४१ गर्ने प्रस्ताव गरिएको छ ।
जसअनुसार कतिपय विभागलाई छुट्याइएको छ भने कतिपय विभाग थप गरिएको छ । तर संगठन, अन्तराष्ट्रिय सम्वन्ध र संसदीय मामिला जस्ता विभागहरु यथावत राखिएको छ । कांग्रेसले प्रस्ताव गरेको ४१ वटा विभागहरु यस्ता छन् ।
१. सङ्गठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. आर्थिक नीति तथा योजना विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९. संसदीय मामिला विभागः
१०. संवैधानिक तथा कानुन विभाग
११. स्थानीय तह समन्वय विभाग
१२. महिला विभाग
१३. तरुण विभाग
१४. विद्यार्थी विभाग
१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६. पेशागत तथा बुद्धिजीवि विभाग
१७. शिक्षा विभाग
१८. स्वास्थ्य विभाग
१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०. उद्योग व्यापार विभाग
२१. पर्यटन विभाग
२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३. कृषि तथा किसान विभाग
२४. आदिवासी जनजाती विभाग
२५. खेलकुद विभाग
२६. प्राकृतिक श्रोत विभाग
२७. साहित्य, कला तथा संस्कृति विभाग
२८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०. दलित विभाग
३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२. मुस्लिम विभाग
३३. वन तथा वातावरण विभाग
३४. तराई मधेश विभाग
३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग
३६. पिछडिएको क्षेत्र समन्वय विभाग
३७. विज्ञान तथा प्रविधि विभाग
३८. भू.पू. सैनिक विभाग
३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
जागरण अभियानको समिक्षा ७ प्रदेशमा
नेपाली कांग्रेसले हिमाल, पहाड र तराई मधेश ‘हिपतम’ जागरण अभियानको दोस्रो चरणमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग ७ प्रदेश स्तरीय समीक्षा एवं तेस्रो चरण तयारी सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
जानकारी अनुसार प्रदेश एकको धरानमा, प्रदेश २ को धनकपृुरधाममा, प्रदेश ३ को भरतपुरमा, गण्डकी प्रदेशको दमौलीमा, प्रदेश ५ को तौलिहवामा, कर्णाली प्रदेशको बीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा यस्ता कार्यक्रम संचालन हुने भएका छन् ।
यसैबीच, नेपाली कांग्रेसले हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गरी विजयी हासिल गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा नेपाली कांग्रेस हार्दिक बधाइ ज्ञापन गरेको छ । बैठकले नेपालको समग्र खेलकूदको प्रगति र खेलाडीहरुको व्यवसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाई निर्वाचित भएकोमा नेपालीले हार्दिक बधाइ ज्ञापन गरेको छ ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...