बुढिगण्डकी – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

बुढिगण्डकी

सुशीला अंगाईं

वालीका चपला मनासलु उचा, शैलादिकी सृजना
वाणी दिव्य सफेद भावलहरी, आनन्दकी अर्चना
छल्किन्छ्यौ मधुतालले सुरसुधा, सज्जा बनी नागिनी
भर्दै शीतलता सुरम्य तटको आवाहवामा पनि ।

देखिन्थ्यौ कहिले लुकाइ चपला, झैँ ध्यान गंगा बनी
काव्यकौशलकी नवीन रसना, हौ भावकी वाहिनी
खोल्थ्यौ भाव सुसाइ नित्य दुरको, हौ ज्ञान गंगा तिमी
चल्थे हर्हर वासना कुसुमका झङ्कारकी मोहिनी ।

सँगाली बुँद भानुका किरणमा गुञ्जन्न गाना बनी
भर्दै दिव्य गला र नित्य सुरमा छल्किन्न छाल पनि
तिम्रा मञ्जिल सिन्धु माझ सहजै पुग्ने इरादाहरू
बस्छेऊ अब टिल्पिलाइ कसरी मेटाइ आशाहरू ।

बाँध्यो वन्धनमा विकास युगले छेकी नयाँ जञ्जिर
ओढायो पगरी डुबाइ सपना वैविध्यको आखिर
यात्रा ती अपुरा गरीकन बसी टील्पील ताल महाँ
आलापै मनको रहन्छ मनमै खुल्दैन भाका जहाँ ।

झेल्दै विघ्न अनेका भीर–पहरा संघर्षकी साधना
चुम्ने उन्नत मार्ग जीवनकला हे गानकी अंगना
फेरीँदो छ सबै नवीन युगको वीधान नै निष्ठुर
गंगा सानि भनेर भन्नु कसरी खुल्थे तिमीमा सत्वर ।

दिएरै अमृत समान जलको धारा बगायौ तर
लाग्यो डुब्न सबै परेर भेलमा वस्तीहरू सुन्दर
ऊठाइकन लालबालहरू लिइ गन्तव्य खोजी नयाँ
आँशुका दहमा डुबी विवश भै साँची सबै सम्झना ।

मोतीमा लहरी सरी वगरमा फैलेर रम्ने कला
शुष्मा शून्य सरी बने नजरमा बस्ती उठेका थला
बस्ती, गाउँ र फाँट धेर वनका छिप्ला मधु कानन
गौरीका हिमकी सुधांशु वहने गंगा तिमी पावन ।

आरूघाट हुँदै समेलि पथमा आँखू र स्थूल पनि
हिँड्दीनौ अब काख ली सयरमा झर्ना र खोला पनि
गंगा एक परन्तु हौ नदनदी सामथ्र्यकी सिञ्चन
छिप्ला चारू अनेक कलकल छटा रोमाञ्चको मञ्चन ।

नाच्दै कोकिलले रमेर वनको आवाज देला कहाँ
काँडे भ्याकुर गण्डकी लहरका जाला सरेरै कहाँ
लेख्दै जाउँ म शब्द शिल्पहरुमा तिम्रो उतारी छदम्
माला मेघ सरी बगाव भरने माधुर्य वीहंगम ।

जो आँफै मुल सिर्जना र शिल्प ललिता सौजन्यकी मञ्जरी
तिम्रो रौनक भाव कुञ्ज दिलको पानी विनाको झरी
बल्ला झल्मल बत्ति माझ धरणिको छर्दै मिठो गौरव
देखिँदैन छटा तथापि अघि झैँ साभार हुन्नौ अब ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७६ माघ २०, ०६: ५३

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७६ माघ २०, ०६: ५३

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७६ माघ २०, ०६: ५३

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...