
महोत्तरी । नगदै भुक्तानी पाउँदापनि उखु किसान सरकारसँग असन्तुष्टि नै रहेका छन् । महोत्तरीको एभरेस्ट चिनी उद्योगले किसानलाई भुक्तानी दिन थालेको छ । पुस ४ बाट क्रसिङ थालेको उद्योग १६ गतेसम्म किसानको १९ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताएको छ । उद्योग क्रसिङ थालेको ११ दिनमा ५ लाख क्विन्टलभन्दा बढी उखुको भुक्तानी किसानलाई दिइसकेको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका प्रशासकीय प्रमुख जितेन्द्रकुमार मिश्रले जनाए । नगदै भुक्तानी पाउँदा उखु किसान खुसी, सरकारसँग असन्तुष्टि कायमै नगदे बाली भनेर लगाएको उखु उधारो दिएर प्रत्येक वर्ष भुक्तानीका लागि आन्दोलन गर्न बाध्य किसान उखुसँगै भुक्तानी पाएपछि खुसी छन् । उखु मिलमा पुर्याएको तीन दिनमै उद्योग भुक्तानी गरेपछि खर्च चलाउन सजिलो भएको गौशाला भरतपुरका जयनाथ महतोले बताए । उद्योग हाताहाती भुक्तानी गरे किसानले छाड्दै गएको उखु खेती पुनः बढ्न थाल्ने उनको भनाइ छ । ‘उखु लिनासाथ भुक्तानी गरेकाले किसान उद्योगप्रति खुसी छन्,’ उनले भने, भुक्तानीमा समस्या नभएपछि अन्य जिल्लाबाट समेत एभरेस्ट उद्योगमा उखु ल्याउने किसान जोडिँदै गएको महतोले जनाए ।
यसै वर्षबाट एभरेस्टमा उखु ल्याउन थालेको सर्लाहीको कविलासी अगर्बाका किसान राजनारायण महतोको भनाइ छ । जिल्लाको चिनी उद्योगले भुक्तानी नदिएपछि आन्दोलन गर्दागर्दै थाकेको उनले सुनाए । एभरेस्ट उद्योगले अघिल्लो वर्ष पनि किसानको भुक्तानी सहजै दिएको र यस वर्ष पनि किसानलाई हाताहाती भुक्तानी गर्छ भनेको सुनेपछि उखु बेच्न यहाँ ल्याएको उनले बताए । भुक्तानीमै समस्याका कारण ५ बिघामा गर्दै आएको उखु खेती यस वर्ष २ बिघामा सीमित गर्नुपरेको उनले सुनाए ।
किसानले उखुको भुक्तानीमा समस्या खेप्दै गएपछि जिल्लामा घट्दै गएको उखु खेती बढाउनेतर्फ आफूहरूले विशेष चासो दिएको उद्योगका महाप्रबन्धक सुरेन्द्रप्रसाद शुक्लाले जनाए । किसानका गुनासा सुन्ने, समयमै समावेशी किसिमबाट कटान पुर्जी दिने, उद्योग क्षेत्रमा आएका सवारीलाई नीतिगत रूपमा सहज गरिदिने, उखु ल्याउने किसान र सवारी चालकलाई पानी र शौचालयको उचित प्रबन्ध गर्ने काम उद्योगले गरेको महाप्रबन्धक शुक्लाको भनाइ छ ।
‘उखु बेच्न आएका बेला किसानले उद्योग परिसरमा बस्न विशेष व्यवस्था माग गरेकाले के गर्न सकिन्छ विषयमा पनि सोचिरहेका छौं,’ उनले भने । उखु खेती घट्दै गएपछि गत वर्ष एभरेस्ट उद्योगले २६ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस वर्ष ३० लाख क्विन्टल क्रसिङको लक्ष्य राखेको छ । यो उद्योगले ०७२÷७३ सम्म ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको महाप्रबन्धक शुक्लाले जनाए । सरकारले बाहिरी देशबाट चिनी आयात नगरे किसानलाई भुक्तानी गर्न उद्योगलाई समस्या नहुने शुक्ला बताउँछन् । सरकारले यस वर्षको उखुको मूल्य एकलौटी तोकेको भन्दै किसान सरकारसँग भने असन्तुष्ट छन् । किसानका माग सम्बोधन नगरी सरकारले चिनीको मूल्य निर्धारण गरेको भन्दै किसानमा असन्तुष्टि रहेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले जनाए । चिनी होलसेलमा ७० मा बिक्री गर्दा ५ सय ६५ मूल्य कायम गरेको सरकारले चिनी होलसेलमै एक सयमा बिक्री हुँदा पनि उखुको मूल्य निर्धारणमा किसानको माग सम्बोधन नगरेको कुशवाहको भनाइ छ ।
सरकारले दिने उखुको अनुदान रकम भुक्तानीमा पनि निकै ढिलाइ गर्दै आएको किसानको गुनासो रहेको छ । गत वर्षको अनुदान रकम यस वर्षको कात्तिकमा दिएको र मूल्य निर्धारण अनि अनुदान रकम दिन पनि सरकार अनुदार रहेको उखु किसान रामछविला महतोले बताए । चिनी उद्योगले किसानका समस्या बुझ्न थाले पनि सरकारले दिने अनुदानमा समस्या बनाइदिएकाले किसानमा निराशा छाएको रहेको उनको भनाइ छ । किसानका गुनासा उद्योगले मात्रै नभएर सरकारले समेत सम्बोधन गर्नुपर्ने एभरेस्ट उद्योगका लेखा प्रमुख ललन चौधरी बताउँछन् । ‘किसानका धेरै समस्या छन्,’ उनले भने, ‘हामीले गर्न सक्ने गर्छौं । सरकारले पनि किसानलाई सहयोग गर्नुपर्छ ।’
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...