मैकोटीलाई कोरोनाले जुटाई दिएको अवसर – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

मैकोटीलाई कोरोनाले जुटाई दिएको अवसर

यार्सागुम्बाको आर्थिक र सामुदायिक व्यबस्थापनको बारेमा अध्यन गरिराखेको म गत साल यहि सिलसिलामा रुकुमको मैकोट पुगेको थिएँ। तथ्यांक विश्लेषणको क्रममा मैले थाहा पाएँ कि त्यंहाको झन्डै ७५% परिवारको सिधा र एक मात्र आम्दानीको स्रोत भनेको यार्सागुम्बा नै रहेछ। हरेक वर्ष परिवार सहित झन्डै दुई महिनाको लागि रासन पानी सहित यार्सागुम्बा टिप्न पुपाल जाने रहेछन् त्यहाँका बासिन्दा। त्यहि दुई महिनाको आम्दानीले वर्षभरिको गुजारा चलाउने रहेछन् मैकोटका अधिकांश परिवारहरु। गत वर्ष यार्सागुम्बा प्रति किलो २० लाख र प्रति गोटा औसतमा ६५० र सबै भन्दा राम्रो गुणस्तरलाई प्रति गोटा एक हजार रुपैयाँ सम्म मूल्य रहेको थियो।

केहि वर्ष यता यार्सागुम्बाको मूल्य आकाशिएपछि रुकुम मात्र होइन अन्य उच्च हिमाली क्षेत्रहरुमा यार्सागुम्बा टिप्ने समय मेला लागे जस्तो हुने गरेको छ। लाखौको संख्यामा मानिसहरु यार्सागुम्बा टिप्न पाटन पुग्ने गरेका छन्। तर यो वर्ष विश्व महामारी कोरोना भाइरसका कारण यार्सागुम्बा संकलन अहिलेको समय अब अन्योलमा परेको छ। सामाजिक दूरी र लकडाउन कायम रहेको अवस्थामा यार्सागुम्बा संकलन प्राय: असम्भव देखिएको छ। सरकारले यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइसकेको छ भने यहि यार्सागुम्बाको भरमा जीवन चलाउनेहरु चिन्तित छन्।

एक दशक अघि देखि यार्सागुम्बाको महत्व बुझेर हिमाली जिल्लाका बासिन्दाहरु यसको संकलन र व्यापारमा लागेका हुन्। त्यति बेला यार्सागुम्बाको मूल्य निकै कम भएता पनि पछिल्ला केहि वर्षहरुमा यसको मूल्य आकासिएको छ भने चीन, हंगकंग, सिँगापुर र लगायतका देशहरुमा यसको मूल्य प्रति किलो २५ लाख नेपाली रुपैयाँ सम्म पर्ने गरेको छ। यसरी अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको मूल्य उच्च भएकोले पनि यार्सागुम्बा संकलनमा बढी आकlर्षत भएका हुन्। तर विश्वमा फैलिएको महामारीले यस वर्ष यार्सागुम्बाको व्यापार पनि खस्किने निश्चित छ। पुरै विश्वकै अर्थतन्त्रमा लकडाउनले धक्का पुराएको अवस्थामा यार्सागुम्बा किन्न अन्तर्राष्ट्रिय ब्यापारीको ओइरो यसपाली नलाग्ने निश्चित नै छ। त्यसैले, स्थानीय ब्यापारीहरु यार्सागुम्बा किन्न आइहालेमा यसपाली मैकोटबासीहरु गत वर्षकै यार्सागुम्बा बेच्ने तयारीमा छन् ।

रुकुमको मैकोटमा तथ्यांक संकलन गर्ने क्रममा मैले स्थानीय संकलक, र यार्सागुम्बा व्यवस्थापन समितिसंग कुराकानी गरेको थिएँ। सोहि क्रममा मैकोटका अगुवा तथा सिजन व्यवस्थापन समितिको पूर्व अधक्ष्य लाजिम बुवा संगको साथले मलाई मेरो अध्ययन गर्न निकै सहज बाताबरण मिल्यो। साथै अरु साथिहरु दिनेश पुन, राज कुमार पुन , किरण पुन , प्रकाश पौडेल, दीपक अर्याल लगाएतका सहयोगी हातले मेरो मैकोट यात्रा अविस्मरण रह्यो । मेरो अध्ययनको लागि साथ दिने सबैलाई धन्यवाद दिन चाहे ।

सो क्रममा अधिकांशले यार्सागुम्बा उत्पादन बर्सेनी घट्दै गएको बताएका थिए। यार्सागुम्बा संकलन घट्नुको कारण बुझ्न खोज्दा उनीहरुले यार्सागुम्बा उत्पादन भन्दा मानविय चाप बढी भएको बताएका थिए भने हरेक वर्ष यार्सागुम्बा टिप्नु भन्दा केहि समयको अन्तरालमा संकलन गर्ने गरेमा संकलन धेरै गर्न सकिने सुझाब पनि मैकोटबासीले दिएका थिए। यो वर्ष कोरोनाले यो सुझावमाथि बिचार गर्ने वातावरण बनाइदिएको छ। हरेक वर्ष लाखौंको संख्याले यार्सागुम्बा टिप्ने भएकोले अहिले यार्सागुम्बाको स्रोत दोहन भैराखेको छ। यदि यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने हो भने दुई हिसाबले फाइदाजनक हुन सक्छ:

१. आर्थिक-सामाजिक पाटो: मैकोटबासी अहिले पूर्ण रूपले यार्सागुम्बामा निर्भर छन्। उनीहरु जागिर, कृषि, ब्यबसाय गर्ने तिर भन्दा पनि यार्सागुम्बा संकलन र यसकै ब्यापारमा बढी आकlर्षत छन्। लाहुर पनि जान छोडेका छन्। गत साल मुस्किलले दुई जना लाहुरमा भर्ती भएका थिए। यार्सागुम्बा टिप्ने सिजन- ( बैसाख- असार ) मा स्कुले बालक देखि लिएर सबै यार्सागुम्बा टिप्ने पाटन जाने गर्छन्। संकलन समय सम्मलाई पुग्ने रासनको व्यवस्था धेरैले उधारो गर्ने रहेछन्। यार्सागुम्बा बेचेर आम्दानी भएपछि तिर्ने गरि रुकुम सदरमुकामसम्म मात्र होइन बुटवल, काठमाडौँसम्म उधारो समान किन्ने गर्दा रहेछन्। यसरी उनीहरुले आर्थिक भार थपेका हुने रहेछन्। आम्दानीको स्रोत अरु कुनै नभएको बेलामा अहिले यार्सागुम्बा टिप्न निषेध भयो भने मैकोटबासी कमसेकम रोजगारीका अन्य स्रोतको खोजि गर्ने थिए की? यार्सागुम्बा टिप्न नपाए पछि उनीहरुले बाँझो राखेका आफ्ना खेत बारीमा उब्जनी गर्ने बारेमा सोच्ने थिए की ? कोरोना संक्रमणले यसपाली त्यहाँका संकलनकर्तालाई यसबारे सोच्न बाध्य पारेको छ।

२. वाताबरणनीय पाटो: अर्को अवसर भनेको प्रकृतिलाई पुनर्स्थापना गर्ने पनि हो। हरेक वर्ष लाखौंको संख्यामा यार्सागुम्बा टिप्न पाटन पुग्नेहरुबाट यार्सागुम्बाको ओभर- हार्वेस्टीङ्ग मात्र होइन बातावरण प्रदूषण पनि उत्तिकै भैराखेको छ। पाटनमा शौचालयको व्यवस्था छ तर अझै व्यवस्थित छैन।फोहोर व्यवस्थापन पनि उचित रुपले नभएकोले वातावरण प्रदुlषत हुने गरेको छ। त्यहाँ संकंलनकर्ताले आफुसंग लागेका भेडा, घोडा, खच्चडहरुले पनि यार्सागुम्बा उम्रिने ठाउंमा चरण गर्दा असर भैराखेको छ। यार्सागुम्बा उम्रने ठाउँमा भेडा बाख्रा चरिचरण गर्दा यार्सागुम्बा उत्पादनमा असर परिराखेको छ । यसले गर्दा मैकोटबासी आफैले यो कुरा स्वीकार गरेका छन् की संकलनकर्ताको लामो समयको पाटन बसाईंले वातावरणमा प्रतिकुल असर परिराखेको छ। त्यसैले हालको अवस्थामा केहि समयका लागि रोक लगाएमा आउँदो वर्षमा अझ धेरै यार्सागुम्बा उत्पादन हुन सक्ने आश उनीहरुको छ। हरेक वर्ष ओभर हार्वेस्ट गरेर स्रोतको दोहन गर्नु भन्दा केहि समयको अन्तरालमा संकलन गरेमा यार्सागुम्बा उत्पादनमा सुधार आउन सक्ने धारणा उनीहरुको थियो। यार्सागुम्बा संरक्षणको लागि अब आगामी वर्षमा सिजन व्यवस्थापन समितिले चरिचरन अर्को पाटनमा गर्ने, क्याम्पहरु यार्सागुम्बा पाउने ठाउँमा नलगाएर अन्न्यत्र व्यवस्थित गर्ने सोच राखेको छव्यवस्थापन समितिले जानकारी दियो । यतिबेला यार्सागुम्बाको अस्थिर संकलनलाई कम गर्न स्थिर र दिगो उपाय अपनाउन आवश्यक छ। यस वर्षको बन्दले यार्सागुम्बालाई पुनर्स्थापना गर्ने समय मिल्छ र अर्को वर्ष लागि राम्रो र प्रभावकारी संकलन तालिका तयार पार्ने अवसर पनि पाएका छौं।

हुन पनि हो, अहिले कोरोनाले यार्सागुम्बा संकलनकर्ताहरुलाई जुटाईदिएको यो अवस्थामा मनन गर्ने हो भने मैकोटबासीलाई र त्यहाको स्थानीय सरकारलाई बैकल्पिक रोजगारीको स्रोत खोज्ने मौका मिलेको छ। यदि अझै पनि यार्सागुम्बाको आम्दानीमा मात्र निर्भर हुने हो भने आगामी दिनमा यस्ता महामारी आएको खण्डमा पनि मैकोटबासीको चुलोमा आगो बल्न सक्छ भन्नेमा आशंका छ। यार्सागुम्बा नेपालको प्राथमिकतामा पर्ने प्रजाति भएकोले यसलाई संरक्षण र मैकोटबासीले व्यवस्थित हिसाबले संकलन गरेर, रोजगारीको अर्को विकल्प खोज्ने हो भने यार्सागुम्बाको दिगो व्यवस्थापनमा मद्दत पुग्ने थियो। साथ साथै, दिगोपनको लागि मैकोटबासीले यार्सागुम्बा संकलनसंगै खेती- उब्जनी गर्न पनि जरुरी छ। उनीहरुकै भनाई अनुसार यार्सागुम्बाको संख्या हरेक वर्ष काम हुदैँ गएको अवस्थामा त्यसको विकल्पको खोजी अबिलम्ब गर्नु पर्छ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ बैशाख २९, ०९: ३७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ बैशाख २९, ०९: ३७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ बैशाख २९, ०९: ३७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...