इलामका घर घरमै जन्म दर्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

इलामका घर घरमै जन्म दर्ता

इलाम । सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्म दर्ता घरघरमै पुर्‍याउन सुरुआत गरेको छ ।

चेतना अभावका कारण समयमा बच्चाको जन्म दर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्म दर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्म दर्ता पुर्‍याई दिने अभियान सुरुआत गरेको हो ।

‘नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूको टोली जानुहुन्छ,’ वडाध्यक्ष उर्गेन बम्जनले भने, ‘उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरूले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।’

त्यसका आधारमा वडाले जन्म दर्ता तयार गर्ने बम्जनले बताए।

उनका अनुसार, जन्म दर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकलाई हस्तान्तरण गरिन्छ ।

वडामा रहेका सात वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्म दर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रूपमा लिइएको बम्जन बताउछन् ।

‘हामीले विगत दुई ‘पहिले स्कुल–स्कुल घुमेर जन्म दर्ता नभएका नानीहरू चेक गर्‍यौँ,’ उनले भने, ‘वडामा सात वटा सामुदायिक र दुई वटा संस्थागत गरी नौ वटा विद्यालय छन् । त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ । जन्म दर्ता गरायौँ र पनि समस्या समाधान भएन ।’

शतप्रतिशतको जन्म दर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीन वटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो ।

खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरूको जन्म दर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्म दर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताए।

‘खोप केन्द्रमा पत्ता लागेकाहरूको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रूपमा यो अभियान सुरु गरेका छौँ,’ उनले भने ।

एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छ भने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ ।

‘कसैले बालबालिकालाई स्कुल पुर्‍याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,’ वडा सचिव सञ्जय ढुङ्गेलले भने, ‘विशेषगरी चेतना स्तर नै कम भएर हो, जनप्रतिनिधिहरूको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।’

यसअघि जन्म दर्ता गर्न छुटेकाहरूको क्रमशः खोज्दै र अब जन्मनेहरूका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् ।

स्थानीय प्रदीप गिरीले भने, ‘जनताप्रति सचेत र जबाफदेही वडाध्यक्ष पाएका छौँ ।

नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सृजनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।’

देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ४, १०: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ४, १०: ०२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ४, १०: ०२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...