
काठमाडौं । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ ।
मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा एक करोड २८ लाख भने खर्च गरेको छ ।
सो अवधिमा मन्दिरले ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ ।
मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा तीन लाख ५७ हजार खर्च हुने गरेको हो ।
बडा दशैं र चैते दशैंमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।
बडा दशैं र चैते दशैं भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी सङ्कलन हुने उनले बताए ।
मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ ।
व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ ।
यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताउँछन् ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ ।
खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो ।
खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त हुनुभएको थियो ।
कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् ।
नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताए ।
मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ ।
त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ ।
परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...