पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरीको निर्माण सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरीको निर्माण सुरु

धनकुटा । खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनः जीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षाको पानी जम्मा गर्ने रिचार्ज पोखरी बनाउन सुरु गरिएको छ ।

मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोग तथा गैरसकारी संस्था हुसाडेक नेपाल धनकुटाको सहकार्यमा धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा रिचार्ज पोखरी निर्माण सुरु गरिएको हो ।

जलाधार र मुलाधार क्षेत्रलाई रिचार्ज गर्न लक्षित गरी धनकुटा नगरपालिकाका १० वडामध्ये आठ र छथर गाउँपालिकाको छमध्ये दुई वडामा रिचार्ज पोखरी निर्माण भइरहेको हुसाडेकका अध्यक्ष सरोज भुजेलले जानकारी दिए ।

गत वर्षबाट पाँच वर्षमा सक्ने गरी शुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत हालसम्म धनकुटा नगरपालिकामा २२ वटा र छथर जोपाटीमा ५८ वटा रिचार्ज पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।

“नयाँ रिचार्ज पोखरी निर्माण तथा पुराना पोखरी पुनःनिर्माण कार्यक्रमले सुक्दै गएका पानीका मुहानमा पानीको वृद्धि भइहेको छ”, भुजेलले भने ।

यसअघि इसिमोडसँग सम्बन्धित स्थानीय तहका वडाध्यक्षहरुले आफ्नो क्षेत्रमा रहेको सामुदायिक वनसँगको सहकार्यमा रिचार्ज पोखरी बनाउने प्रतिबद्धता जनाएका थिए ।

जसअनुसार छथर जोरपाटी गाउँपालिकामा गत वर्षबाट पोखरी निर्माण सुरु भएको र धनकुटा नगरपालिकामा यस वर्षबाट वडा नम्बर १ मा काम शुरु गरिएको भुजेलले जानकारी दिए ।

वडाले धनकुटा बजार र हिले बजारलाई ल्याइएको खानेपानी जलाधार तथा मुलाधार रहेको राना टोल क्षेत्रमा १७ वटा रिर्चाज पोखरी निर्माण गरिएको वडाध्यक्ष वङ्द तामाङले जानकारी दिए ।

आफूहरुलाई इसिमोडले भारतको सिक्किम भ्रमण लगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानी मुहानहरु जीवित भएको देखाएपछि यो काम गर्न आफू उत्साहित भएको तामाङले बताए ।

चालु आर्थिक वर्षमा वडाको जलाधार तथा मुलाधार क्षेत्रमा ७० देखि एक सय वटासम्म रिचार्ज पोखरी निर्माण गरिने उनले जानकारी दिए ।

खानेपानी तथा मुलपानी संरक्षणका लागि तोकिएका सबै वडाहरुमा पनि रिचार्ज पोखरीको कार्यक्रमलाई निरन्तरता दिइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ८, १२: ३८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ८, १२: ३८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ८, १२: ३८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...