महासमितिको म्याण्डेड केन्द्रीय समितिले तलमाथि गर्न नमिल्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper
नेपाली कांग्रेस महासमिति बैठकमा गठबन्धन नगर्न र समानुपातिक खारेज गर्न नेतृत्वलाई दवाब

महासमितिको म्याण्डेड केन्द्रीय समितिले तलमाथि गर्न नमिल्ने

काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा भएको महासमिति बैठकले पार्टी नेतृत्वमाथि कुनै पनि निर्वाचनमा अन्य दलसँग गठबन्धन वा तालमेल गर्न नहुने निष्कर्ष निकालेको छ ।

पार्टी महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठानिक प्रस्तावमाथि सुझाव दिँदै धेरैजसो सहभागीले अन्य राजनीतिक दलसँग गठबन्धन गर्ने नाममा पार्टीमा लामो समय योगदान दिएका कार्यकर्तामाथि अन्याय भएको भन्दै रोष प्रकट गरेका थिए ।

थापाको प्रतिवेदनमाथि केन्द्रीत हुँदै धारणा राख्ने सहभागीहरुले कार्यकर्ताको पार्टीले सही ढंगले मुल्याङ्कन नगरेको, एउटै व्यक्तिले वारम्बार अवसर पाउँदा अरु कार्यकर्तामा निरासा फैलिएको र नेताले पारिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिएको आरोप लगाएका थिए ।

वैठकको तेश्रो दिन फागुन ९ गते मात्र सहभागीहरुले पार्टी केन्द्रीय कार्यसमितिको तर्फबाट महासमिति बैठकमा पेश भएको विभिन्न चार वटा प्रतिवेदनमाथि सुझाव दिन पाएका थिए । सात प्रदेश, पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गरेर आएका सहभागीहरुलाई चारवटा समूहमा विभाजन गरी छलफल चलाइएको थियो ।

सहभागीहरुले संविधानले निर्दिष्ट गरेको ३३ प्रतिशत महिला राज्यको हरेक राजनैतिक तहको नेतृत्वमा पु¥याउनु पर्ने बाध्यकारी नियम समेत नेपाली कांग्रेस भित्र हालसम्म लागू नभएको, देशका ७७ जिल्लामा कांग्रेसको जिल्ला सभापतिमा महिला नभएको र केन्द्रमा परिवारबादकै हाबी रहेको दाबी गरेका थिए ।

कांग्रेसप्रति आकर्षित युवा नयाँ मतदातालाई गठबन्धनको नाममा अन्य दलको चुनाव चिन्ह्मा मतदान गर्न बाध्य पारिँदा नयाँ मतदातामा पार्टीप्रति निरासा छाएको भन्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन पार्टीको संरचनामा सभापति, पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको चयन संगठनको सबैभन्दा तलको सांगठानिक इकाई वुथ समितिबाटै हुनुपर्ने माग गरेका थिए ।

समानुपातिक निर्वाचन प्रणालीको नाममा एउटा क्लस्टरबाट एउटै मात्र व्यक्तिले वारम्बार अवसर पाइरहने प्रबृत्तिको अन्त्य हुनु पर्ने, समावेसी प्रतिनिधित्व निर्वाचनको प्रतिष्पर्धाबाटै सुनिस्चित गर्नुपर्ने भन्दै यसैका कारण पार्टी भित्र असन्तुष्टि बढ्दै गएको सहभागीहरुले राय दिएका छन् ।

पार्टीभित्र नेताहरुको गुटवन्दी मौलाएको, टिकट वितरणमा अपारदर्शी ढंगले मनोमानी गरेको, पार्टीका विभाग तथा प्रतिष्ठान वा समितिहरु तथा भ्रातृ संस्थाहरुको महाधिवेशन ६ महिना भित्रै गर्नु पर्ने, भ्रष्टाचारको आरोप लागेका पार्टीको जुनसुकै तहमा बसेका नेता भए पनि कारबाही हुनु पर्ने सहभागीहरुले सुझाव दिएका छन् ।

सहभागीहरुले पार्टीको नेतृत्ववर्ग लाभको पदमा जानुअघि र पछि सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने, स्थानीय, प्रदेस र संघीय सरकारमा जानेहरुले जनताको सरोकार र विकास निर्माणमा विषेश ध्यान केन्द्रित गर्न पार्टीको सम्वन्धीत कार्य समितिसँग अनिवार्य सहकार्य गर्न निर्देशन दिने व्यवस्था गर्नु पर्ने वताएका छन् ।

पार्टीका पुराना, अनुभवी, इमान्दार कार्यकर्ता, विभिन्न पेशा, वर्ग र क्षेत्रका शुभेच्छुक विशेषज्ञ, वौद्धिक तथा संचार क्षेत्रका व्यक्तिहरुको खोजी र पहिचान गरी सम्मान गर्ने अभियान केन्द्रदेखि वुथसमितिसम्म चलाउनु पर्ने, पार्टीको सदस्यता सधै खुला राख्नु पर्ने जस्ता धारणा सहभागीहरुले राखेका थिए ।

यस्ता छन् महासमिति बैठकका निर्णयहरु –

नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरि १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपलव्धिहरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसात् गर्ने निर्णय गरेको छ ।

बैठकले नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गम गरी नागरिकको अवस्था रूपान्तरण गर्ने, शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने, नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिमा निर्माण भएको गठबन्धन सरकारलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्टाचार, वेथिति र विसंगतिका विरुद्ध वैधानिक रुपमै अभियान संचालन गरि सुशासन कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरूलाई समाधान गर्ने, मुलुकका विद्यमान सबैखाले सामाजिक एवं जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसाविरुद्ध अभियान संचालन गर्ने, तीनै तहका सरकार संचालनमा देखिएका समस्या समाधानका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने, किसान, सहकारीका सदस्य, मीटरव्याज र लघुबित्त पीडितहरूले भोग्दै आएका समस्या अभिलम्व समाधान गरि पीडितलाई न्याय दिलाउन सरकारको गंभिर ध्यानाकर्षण गराउने महासमिति बैठकले निर्णय गरेको छ ।

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु भएको समसामयीक राजनीतिक प्रस्तावले नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको पार्टीको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएको र ती सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रूप दिने गरि तीन वटै प्रस्ताव महासमितिको बैठकले पारित गरेको पार्टीको सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बताए ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने नाराका साथ सम्पन्न बैठकले पार्टी भित्रको सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने प्रतिवद्धता जनाएको छ ।

बैठकमा सहभागी भनिएको दुई हजार ३७३ मध्ये ६३१ सहभागीले आफ्नो विचार, धारणा र सुझाव राखेको थिए । जसलाई अभिलेखीकरण गर्न केन्द्रीय कार्यालय, प्रदेश कार्यसमिति र केन्द्रीय प्रचार प्रसार उपसमितिका तर्फबाट सवै समूहगत छलफलमा ३/३ जनाका दरले टिपोटकर्ताको प्रवन्ध गरिएको दाबी गरिएको छ । प्राप्त विचार, धारणा र सुझावका आधारमा विभिन्न ८ वटा विषयमा प्रतिवद्धता, संकल्प, आत्मसात्, ग्रहण, प्रण र बोध गर्दै प्रस्तुत प्रस्ताव परिमार्जन सहित केन्द्रीय कार्यसमितिले अन्तिम रूप दिने गरि सर्वसम्मत पारित गरिएको पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकबाट प्राप्त विचार, धारणा र सुझावका आधारमा अन्तिम रूप दिई तयार हुने पार्टीको नीतिले नेपाल र नेपाली जनतामा पार्टीको स्पष्ट, नविन विचार र सांगठानिक कार्यक्रमको खाका पस्कने र यसबाट पार्टी सदस्य बीच उर्जा र उत्साह भर्दै मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक सामाजिक रूपान्तरण, धार्मिक सामाजिक एवं सांस्कृतिक सद्भाव वृद्धि गरि समाजमा सकारात्मक आशा, विश्वास र भरोसा जगाउने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बेथिति भोगेपछि ४१२ जना दोहो¥याएर गएनन् गोदावरी

नेपाली कांग्रेसले राजधानीको गोदावरीमा भव्य, सब्य र उत्साहपूर्ण तवरले महासमिति बैठक सम्पन्न गरेको भनी दाबी गरिरहँदा महासमिति सदस्यहरु भने अपमानित भएको, हैरानी भोगेको, भोकै परेको, ट्राफिक जाम र सवारीको अभावले दुख पाएको गुनासो गरेका छन् ।

सहभागीहरुलाई बैठकको पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भएको थियो । जुन दिन सहभागीहरुलाई खाना, नास्ताको त परै जाओस, कालो चियाको पनि प्रवन्ध थिएन् ।

सातदोबाटोबाट गोदाबारी हिँडेका सवारी साधनहर ट्राफिक जाममा परेर सहभागी हैरान भएका, यातायात व्यवस्थापन उपसमितिले भने बमोजिमका सवारी साधन उपलब्ध नहुँदा दुख पाएका, भोक भोकै प्रजातन्त्र दिवसको साँझ घर, डेरा, लज फर्केका महासमिति सदस्यहरुले यति टाढा राखेर किन दुःख दिएको भनी गुनासो गरिरहेका थिए ।

महासमिति बैठकको दोश्रो दिन २३७३ जनालाई भनेर अनुपम फुडल्याण्डले खानाको व्यवस्था गरेको दाबी गरेको थियो । तर, १५ सय जनाले खाना खाए पछि खाना रित्तियो ।

भोकले अत्तालिएका सहभागीहरु गोदाबारीको सो सभाहल नजिक कुनै होटल वा चमेना गृह नभेटेपछि पुनः क्याटरिङकै प्रतिक्षामा बसे । तातो खाना पाउने आशाले बन्दसत्रमा जान छोडेर भातको लाईनमा उभिएका करिव दुई सय सहभागीहले काँचो भात र दालमा चित्त बुझाए भने लाईन बसेका झण्डै तीन सय जना रित्तो हात फर्किएका थिए ।

महासमिति सदस्यभन्दा बढी स्वयम् सेवक, आयोजक र ठूला नेताका पीए, सहयोग, आसेपासेले भातको कुपन कब्जा गर्दा समस्या आईपरेको एक सहभागीले बताए ।

महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु १६५ जना, केन्द्रीय कार्यसमितिका निर्वतमान केन्द्रीय पदाधिकारी एवं सदस्यहरु २६ जना, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट १०५ जना, जनसम्पर्क समितिबाट ९७ जना, संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित १७८० जना, महासमिति सदस्यमा चयन नभएका जिल्ला सभापति ४६ जना, महासमिति सदस्य चयनमा विवाद देखिएपछि महाधिवेशन प्रतिनिधिहरुबाट आमन्त्रित १५४ जना गरि जम्मा २३७३ जनाको सहभागीता रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

उद्घाटन सहभागी २३७३ जना महासमिति सदस्यहरूमध्ये छलफलमा भाग लिने दिन फागुन ९ गते सहभागीको सङ्ख्या करिव २० प्रतिशतले घटेको थियो । छलफललाई सहभागितामूलक, प्रभावकारी र परिणाममुखी बनाउन ४ समूहमा (कोशी र सुदुरपश्चिम, मधेश र कर्णाली, बागमती र गण्डकी, लुम्बिनी र भ्रातृ संघ, शुभेच्छुक संस्था एवं जनसम्पर्क समिति) विभाजन गरियो ।

फागुन ९ गते र १० गते विहान सम्ममा चारै वटा समूहमा भएको छलफलमध्ये कोशी र सुदुरपश्चिम प्रदेशका ४८४ जना सहभागी मध्ये १६२, मधेश र कर्णाली प्रदेशका ५१३ जना मध्ये ११८, बागमती र गण्डकी प्रदेशका ५६१ मध्ये १८८ र लुम्बिनी, भ्रातृ संघ तथा सुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिबाट ४०३ मध्ये १३३ जना सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

यसरी आयोजकको लापरवाहीका कारण हैरानी भोगेका कारण टाढा टाढाबाट आएका आफ्नो सवारी साधन नभएका मध्यमबर्गका कांग्रेसका महासमिति सदस्यहरुले ४१२ जना भने तेश्रो दिनदेखि बैठक स्थल नै नगएको पाइएको छ ।

पार्टी कार्यालयले जनाए अनुसार उद्घाटनको दिन दुई हजार ३७३ जना सहभागी थिए । तर फागुन ९ र १० गतेको छलफलमा भने सबै प्रदेशको जोड्दा एक हजार ९६१ मात्र हुन आउँछ । यसरी ४१२ जना महासमिति सदस्य त गोदावारी नै नभएको प्रष्ट देखिन्छ ।

सहभागी भएका भनिएका कतिपयले हस्ताक्षर मात्रै गरी हल वाहिर गफिनमा व्यस्त थिए । भित्र पसेर हस्ताक्षर गर्दै वाहिर निस्कने महासमिति सदस्यको नेतृत्व भने केन्द्रीय सदस्य शंकर भण्डारीले गर्दथे ।

उनी हिन्दुराष्ट्र महाअभियान भन्दै सभाहलवाहिर टेण्ट टाँगेर महासमिति सदस्यहरुले बोलाउने गर्दथे । वाटो छेकेरै हस्ताक्षर गरिदिनु पर्यो भनेपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि सही दच्काएका थिए ।

(नयाँ विकल्प साप्ताहिक बाट)

 

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १४, १५: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १४, १५: ४१

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १४, १५: ४१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...