
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ ।
नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ ।
त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र हेर्न पाउँछन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् ।
दर्शकले त्यस्ता चलचित्रलाई रोजेका छन् । यसले नेपाली निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पु¥याइरहेको छ ।
यो सम्पूर्ण प्रविधिको सहायताले सम्भव भएको हो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवन (हल) मै प्रदर्शन हुँदा दर्शकको आकर्षण झनै बढेको छ ।
दर्शकले विदेशी चलचित्र झैं गुणस्तरीय रुपमा चलचित्र हेर्न पाएपछि अहिले नेपाल झैं अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ ।
अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ ।
डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो ।
अष्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै निर्माणको अनुभव सङ्गाल्नु भएका वितरक करण श्रेष्ठले हरेक हप्ता नेपाली चलचित्र प्रदर्शन हुनु सुखद पक्ष हुनुका साथै चुनौती थपिएको बताए । उनले भने, “नेपाली चलचित्र धेरै सङ्ख्यामा पुग्नु हाम्रो लागि सुखद पक्ष हो । तर, दर्शकको माग भन्दा पूर्ति बढी हुँदा त्यसले समस्या पनि निम्त्याउन सक्छ । त्यसैले हामीसँग भएको बजारलाई बलियो बनाएर विस्तारमा निर्माता र वितरकले ध्यान दिनु जरुरी छ ।”
पछिल्लो समय नेपाली चलचित्रको बजार अष्ट्रेलियापछि संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरूमा बलियो देखिएको छ । नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्न सके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ । अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मदत गर्नेछ ।
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...