खड्काको नीति प्रस्तावप्रति प्रचण्डको आपत्ति – Naya Bikalpa
November 20, 2026, Friday      Epaper
कांग्रेस मन्त्रीका कारण गठबन्धनमा खटपट

खड्काको नीति प्रस्तावप्रति प्रचण्डको आपत्ति

काठमाडौं । गठबन्धन सरकारको नेतृत्व गरेको एक वर्षमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसप्रति रुष्ट बनेका छन् ।

त्यो पनि अरु नभएर सत्ता गठबन्धनमा कांग्रेसबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकै लिखित प्रस्तावबाट प्रधानमन्त्री दाहाल रुष्ट बनेका हुन् ।

प्रधानमन्त्री दाहाल रुष्ट र असन्तुष्ट मात्रै होइन, सरकारको दोश्रो वरियतामा रहेका उपप्रधानमन्त्री समेत रहेका खड्काले कांग्रेसको हालै सम्पन्न महासमिति वैठकमा पेश गरेको नीति प्रस्तावको लिखित दस्तावेजलाई लिएर चित्त दुखाएका हुन् ।

वर्तमान सत्ता गठबन्धनलाई अर्को निर्वाचनसम्म निरन्तरता दिनु पर्छ भन्ने पक्षमा पार्टीको महासमिति वैठकमा अडान लिएर बसेका खड्काले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सांगठानिक र समसामयिक राजनीतिक प्रस्तावमा गठबन्धनको भावनामाथि चोट पुग्ने गरी कुनै प्रस्ताव ल्याउन नहुने भन्दै दबाब दिँदै आएका थिए ।

तर आफैले प्रस्तुत गरेको नीति प्रस्तावमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओबादीको शसस्त्र द्वन्द्वको घटनाप्रति नकारात्मक टिप्पणी गरेको भने विर्सिएको देखिन्छ ।

पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री समेत रहेका खड्काले तयार पारेको ३९ पृष्ठ लामो दस्तावेज उनले तयार नगरी ‘खेताला लगाएर’ बनाउने जम्मेवारी दिएका थिए कि भन्ने आशंका जन्माएको छ । नत्र सत्ता साझेदार दलप्रति तित्ततापूर्ण अभिव्यक्ति उनीको दस्तावेजमा कसरी आयो होला?

गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा उपप्रधानमन्त्री खड्काले आफ्नो नीति प्रस्तावलाई भन्दा महामन्त्रीहरुले प्रस्ताव गरेको प्रतिवेदनमाथि वढी ध्यान दिँदा आफै चिप्लिएको हुनसक्ने बताईन्छ ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता !’ भन्ने मूल नाराका साथ सम्पन्न महासमिति बैठकमा उपसभापति खड्काले पेश गरेको नीति प्रस्तावको ४ नम्वर पेजमा ‘जनआन्दोलनकै बलमा राजतन्त्रको स्वेच्छाचारी युग समाप्त पार्दै माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्वलाई समेत शान्तिपूर्वक समाधान गरी नेपाली कांग्रेसले फेरि लोकतन्त्र तथा नागरिक हक अधिकारलाई सुरक्षित ग¥यो’ भन्ने वाक्यांसप्रति प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

चितवन महोत्सव उखद्घाटनको अघिल्लो दिन विहीबार नै त्यसतर्फ पुगेका प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा संचारकर्मीसँग कांग्रेसको महासमिति वैठकले पास गरेको नीति प्रस्तावप्रति असन्तष्टि जनाएका हुन् ।

उनले कांग्रेसले अहिले नै माओबादीको शसस्त्र द्वन्द्वाई किन हिंसात्मक भनी टिप्पणी गर्यो? भने प्रश्न गरेका थिए ।

प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमै त्यस्तो टिप्पणी गरे पनि चितवन महोत्सव उद्घाटनकै लागि भरतपुर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने माओबादीप्रति कुनै नराम्रो विषय पार्टीको महासमिति बैठकबाट पारित नभएको दाबी गरे ।

उपसभापति खड्काले पेश गरेको नीति प्रस्तावमा ‘दृश्य/अदृश्य शक्तिको आडमा वि.सं. २०४७ सालको संविधान र संवैधानिक व्यवस्था विरुद्ध प्रहारहरू भए । सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्को दलदलको भासमा फस्न पुग्यो’ भनी माओबादीप्रति घुमाउरो भाषामा दोषारोपण गरेका हुन् ।

त्यस्तै खड्काले अघि सारेको नीति प्रस्तावको पेज नम्वर ३३ को ‘द्वन्द्वपीडित’ शिर्षकमा ‘
सशस्त्र द्वन्द्वमा माओवादी हिंसाबाट पीडित पार्टीका हजारौँ साथीहरूको पीडा र भावनालाई पार्टीको संरचनाभित्र उचित प्रतिनिधित्व गराउने व्यवस्था मिलाइने छ ।

माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर विना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित निर्दोषहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनहरूको प्रतिकूल नहुने गरी न्यायिक निरूपण गरिने छ’ भनिएको छ ।

माओबादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले माओबादीको जनयुद्धलाई माओबादी हिंसा भनी टिप्पणी गरिएको, माओबादी हत्या, हिंसाको चपेटामा आमनागरिक, सरक्षाकर्मी र द्वन्द्वसँग सरोकार नभएका नागरिकले ज्यान गुमाउनु परेको’ जस्ता शब्दावली प्रयोग गरेको प्रति माओबादीका शीर्ष नेताहरुले आपत्ति जनाएका छन् ।

सत्तामा बसेर सत्ता साझेदार दलप्रति तित्ततापूर्ण प्रस्ताव पार्टीको दस्तावेजको रुपमा पारित गरेको भन्दै प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्री खड्कासहित कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि रुष्ट बनेका छन् ।

प्रधानमन्त्री दाहालले महामन्त्री थापाको प्रस्तावमा आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरिने भनी अघि सारेको प्रस्ताव पारित भएको टिप्पणी गरेका छन् । थापाको प्रस्तावमा गठबन्धनलाई निरन्तरता नदिने भनी प्रस्ताव पारित भएको बताई पनि सत्ता गठबन्धनलाई तोड्ने वा निरन्तरता नदिने भनी थापाको प्रस्तामा उल्लेख गरेको पाइँदैन । उनले निर्वाचनको बेला भने कुनै पनि दलसँग तालमेल वा गठबन्धन नगरिने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीलाई गलत सूचना

प्रधानमन्त्री दाहाललाई उनका सचिवालय र सहयोगीले समेत गलत सल्लाह दिएका छन् ।

दाहालले कांग्रेसको महासमिति बैठकबाट वर्तमान राजनीतिक प्ररिवर्तनलाई उल्ट्याउने गरी प्रस्ताव पारित भएको भनी भ्रमपूण अभिव्यक्ति दिएका छन् ।

उनले धर्मनिरपेक्षताको विरोधमा कांग्रेसको महासमिति बैठकमा छलफलको एजेण्डा बनाइएको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

तर पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गर्दै सनातन हिन्दु राज्यको पक्षमा आफूहरु रहेको भनी पार्टी सभापति शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

हिन्दुराज्यको पक्षमा काग्रेसको केन्द्रीय समितिमा कुनै प्रस्ताव दर्ता भएको थिएन भने आर्थिक, लेखा, नीति, सांगठनिक र समसामयिक कुनै पनि प्रस्तावमा धर्मनिरपेक्षताको विषय उल्लेख छैन ।

कांग्रेसका मन्त्रीप्रति प्रचण्डको असन्तुष्टि

नेपाली कांग्रेसको तर्फबाट सरकारमा सामेल भएका तथा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद काण्डमा पटक पटक बयान लिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति प्रधानमन्त्री दाहाल रुष्ट बनेका छन् ।

उनले पार्टी सभापति देउवासँगै भेटेर ति मन्त्रीहरु परिवर्तन गर्न दाहालले दबाब दिइरहेका छन् ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको स्टण्डबाजी सस्तो प्रचार शैलीबाट प्रधानमन्त्री दाहाल रुष्ट बनेका हुन् । साथै बस्नेतकै कारण सदनमा सरकारले ल्याएका विधेयकहरु पेश गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिक्ष् प्रजातन्त्र पार्टी लगायतले नदिए पछि प्रधानमन्त्री दाहाल बस्नेतलाई हटाउन चाहन्छन् ।

आफू भने बमोजिमको योजनामा पर्याप्त बजेट निकास नदिएको, रकामान्तरको लागि नमानेको, राजश्वमा बृद्धि नभएको भन्दै प्रधानमन्त्री दाहाल अर्थमन्त्री महतसँग रुष्ट बनेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजबादीको तर्फबाट भौतिकपूर्वाधार तथा यातायात मन्त्री भएका प्रकाश ज्वालालाई पनि पद छाड्न प्रधानमन्त्री दाहालको दाबाब छ ।

एक महिनाअघि ललितपुरको व्वार्कोमा २ जना युवाको मृत्यु हुने गरी भएको हत्या प्रकरणमा मन्त्री ज्वालामाथि आशंका गरिएकाले उनलाई पनि पद छाड्न दाहालले दबाब दिएका छन् ।

टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई समेत पनि तानेपछि प्रधानमन्त्री दाहाल सकसमा परेका छन् ।

(नयाँ विकल्प साप्ताहिक बाट)

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २१, १२: २९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन २१, १२: २९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २१, १२: २९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...