
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा प्रभावित क्षेत्रहरूको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायतका कार्य प्रभावकारी बनाउन तीनै तहका सरकारसँग समन्वय भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’, भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।
उक्त विषयमा मन्त्री पौडेलले ध्यानाकर्षण भएको जनाउँदै हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेका काम र आगामी योजनाकाबारे जानकारी दिए । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको बताए ।
उक्त टोलीले नियमित ‘केस’ अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको बताउँदै मन्त्री पौडेलले पहिलो पटक सातवटै प्रदेशका मन्त्रीहरूबीच हैजा, डेङ्गीलगायत जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने निर्णय गरेको सदनलाई जानकारी गराए ।
“काठमाडौं उपत्यकाका स्थानीय सरकार प्रमुखहरूसँग हैजा, डेङ्गीलगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तक्र्रिया तथा ठोस कदमहरू चाल्नका लागि कार्य गरिएको छ”, मन्त्री पौडेलले भने । उनले वर्षायाममा देशभर हैजाको जोखिम रहे पनि नयाँ बिरामी नभएको तथा उपचाररत चार जना मात्र रहेको सदनलाई जानकारी दिए ।
मन्त्री पौडेलले भने, “नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन । मन्त्रालयले खानेपानी, सरसफाइका गतिविधि तथा १११५ कल सेन्टर संयन्त्रबाट निगरानी गरिरहेका छौं ।”
देशभरमा हाल ६८ जना हैजाबाट सङ्क्रमित भएका छन् । ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र मकवानपुरगरी पाँच जिल्लामा सङ्क्रमण देखिएको छ । प्रस्ताव सांसद कार्कीले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले हैजाको पुनःनिर्मलीकरणका लागि बृहत् कार्ययोजना बनाइ लागू गर्न आवश्यक औंल्याएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...