
नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा तपाई कुन गुटबाट अगाडी बढ्दै हुनुहुन्छ ?
यो गुट, ऊ गुट भन्ने कुरा हुँदैन । नेपाली कांग्रेस २००७ सालदेखि यहाँसम्म आइपुग्दा झन्डै ७० वर्षको इतिहासमा १३ वटा अधिवेशन भयो । अधिवेशन भनेको आन्तरिक लोकतन्त्रको अत्यन्तै राम्रो पक्ष हो । यसले नेतृत्व चयन गर्ने काम गर्छ ।
त्यो नेतृत्व चयनमा पार्टीकै विभन्न तह–तप्काका साथीहरु अधिवेशनमार्फत चुनाव लडेर नेतृत्वमा पुग्छन । अघिल्लो अधिवेशनमा टीनवटा समूह चुनावी प्रतिस्पर्धामा थियो । त्यो बेला पहिलो चरणमा हामीहरु वैचारिक समूह भनेर कृष्णप्रसाद सिटौला समूहमा आबद्ध थियौं ।
दोस्रो चरणमा अहिलेका पार्टी सभापति शेरबहादुर समूहलाई आफुसँग रहेको भोट खसालेर हामीले जिताएको हो । यसपालि पनि तीनवटै समूह चुनावी प्रतिस्पर्धामा आउने प्रवल सम्भावना देखिन्छ । म सिटौला समूहबाटै मन्त्री पनि भएँ । अस्ति मात्रै साथीभाई भेटघाटको लागि सानो सम्पर्क कार्यालय पनि खोल्नुभएको छ । त्यसमार्पmत भेटघाटका कार्यक्रमहरु भइरहेका छन् ।
१४औं महाअधिवेशा अगाडि किन र के का लागि सम्पर्क कार्यालय खोलिएको हो ?
त्यो त हुन्छ नि अब । कोभिड–१९ कोरोना भाइरसको कारणले घरमा भीडभाड गरेर बस्न समस्या पनि भयो । त्यसकारण घरमाभन्दा बाहिरै एउटा सम्पर्क अफिस लिएर बस्ने र आउने साथीभाइहरुसँग भेटघाट गर्ने भनेर उहाँको घर नजिकै सम्पर्क कार्यालय खोलिएको हो ।
कृष्णप्रसाद सिटौलाले सम्पर्क कार्यालय खोल्नुभएको अर्थ वर्तमान सभापति देउवालाई नै सघाउनु हो ?
बैठक त नियमित जस्तै हुन्छ नि सम्पर्क कार्यालय खोलिसकेपछि । विभिन्न विषयमा कसरी अगाडि जाने भनेर समीक्षादेखि लिएर छलफलहरु भइरहन्छन् । त्यसमा आउने अधिवेशनमा को कताबाट उठ्ने भन्नेलगायतका सबै विषयमा छलफल, बहस हुन्छन् ।
चुनाव लड्ने भएपछि देशव्यापी अभियानमा पनि जानुपर्ने हुन्छ । छलफल गरेपछि कार्यतालिकाहरु तय हुन्छ । त्यो कार्यतालिका अनुसार चुनावी अभियानमा उहाँ जानुहुन्छ ।
के उसोभए कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवाकोमा जान क्याम्प तयार पार्नुभयो होईन त ?
होइन शेरबहादुर देउवाको क्याम्पतिर जान तयार पारेको होइन । हिजो हामीले दोस्रो चरणको चुनावमा समर्थन गरेका हौं ।
भेटघाट पनि त शेरबहादुर देउवासँगै भइरहेको छ नि होईन र ?
कुराकानी त सबैसँग भइराहेको छ नि । रामचन्द्र दाइको मिटिङ पनि जानुभएको छ । शेरबहादुर दाइको मिटिङमा पनि जानुभएको छ । तर, उहाँको यसपालिको स्ट्रेन्थ, क्षमता, कार्यशैली, भीजन जुन छ, त्यसलाई आम कार्यदिशामा लाने हो ।
हिजोको अवस्थामा सुशील दाइनै उठ्ने भएको भए उहाँ उठ्ने कुरा थिएन । उहाँको देहवसान भइसकेपछि उहाँ पनि उठ्ने भन्ने खालको वैचारिक समूहको तेस्रो पोलको रुपमा उठ्नुभयो । अहिले भरखर साउन हुँदैछ, फागुनको ७ देखि १० सम्मको अधिवेशन छ ।
यसलाई हेर्दा झन्डै सात, आठ महिनाको समय छ । यो अवधिमा उहाँले देशव्यापी दौडाहा गरेर आफ्नो शक्ति सन्चित गर्नुहुन्छ । त्यसकारण पहिलोको भन्दा अहिले उहाँको पोजिसन एकदमै राम्रो छ ।
त्यसोभए पार्टीभित्र कृष्णप्रसाद सिटौलालाई क–कसले साथ दिएका छन् त ?
अहिले त उहाँ उठ्ने हिसाबमै लाग्नुभएको छ । साथ भनेको कुरा त त्यो बेला कस्तो पोजिसनमा आउँछ । पहिलो राउन्डमै ५१ प्रतिशत कसैले ल्यायो भने त सकिगयो जसले ल्यायो उसले सभापति जितिहाल्छ ।
५१ प्रतिशत कसैले पनि ल्याउन सकेनन् भने दोस्रो राउन्डको चुनाव हुँदा कहाँनेर कसलाई समर्थन गर्ने भन्ने कुरामा आन्तरिक रुपमा छलफल हुन्छ । त्यसपछि निर्णय हुन्छ । अहिलेसम्म त उहाँ सभापति जित्ने हिसाबमै लाग्नुभएको छ नि ।
त्यसोभए १४औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला नेपाली कांग्रेसको सभापति पदमा उठ्नुहुन्छ ?
उहाँले सभापतिको उम्मदेवारी घोषणा गर्नुभएको छैन । केही दिनपछि घोषणा होला साथीहरुसँग छलफल गरेपछि । मंसिरसम्म क्रियाशीलको समय छ ।
त्यसमा केन्द्रीय कार्यसमिति बोलाएर निर्वाचन आयोग मार्फत् पुस ६ गतेदेखि माघ ६ गतेसम्म गाउँतहदेखि प्रदेशतहसम्म अधिवेशन सकिन्छ । त्यसपछि केन्द्रीय महाधिवेसन सुरु हुन्छ । त्यसपछि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुहुन्छ ।
होइन उहाँको उम्मेदवारीको सम्भावना के छ ? ठ्याक्कै भन्नुस न ?
हामीहरुसँग आन्तरिक छलफल हुँदा उहाँ उठ्ने भन्ने पक्का छ । उहाँ एउटा समूहको सशक्त नेतापनि हो । त्यसकारणले पनि उहाँ पक्का उठ्नुहुन्छ । नभए त उहाँ रामचन्द्र समूहमा मिसिनुहुन्थ्यो नि ।
रामचन्द्र समूहमा उहाँले सहकार्य गर्ने कुरा थियो किन मिलेन ?
पार्टीका विभिन्न एजेन्डा रामचन्द्रसँग मिल्ने हो । विधानको कुरामा रामचन्द्र पौडेलले उठाएको विषयलाई साथ दिनुभएको हो । गएको अधिवेशनमा शेरबहादुर देउवालाई साथ दिनुभयो । र, हरेक विषयमा उहाँसँग कुरा मिल्यो भने उहाँकै साथमा रहनुहुन्छ । जस्तै विधानको विषय छ, उहाँ छलफल गरेर यसरी जाऊ भन्नुभयो भने । त्यो त पछिको कुरा भयो, अधिवेशन पनि सर्न सक्छ ।
उहाँले त पौडेलकै समूहमा जाने र पौडेल समूहसँगै रहने भनेर भन्नुभएको थियो ?
होइन, उहाँले त्यस्तो कुरा भन्नुभएको छैन । शेरबहादुर देउवाले बैठकमा उठाएका विषयमा केही मतमतान्तर देखिएपछि उहाँको सामिप्यता पौडेलसँग देखिएको हो । तर, उहाँ आफ्नो जुन वैचारिक समूह छ, त्यसैमा अडिग रहनुहुन्छ । अहिलेसम्म उहाँसँग कुराकानी गर्दा कतै मिसिनेवाला छैन । आफ्नै स्ट्यानमा हुनुहुन्छ ।
त्यसोभए अब कृष्णप्रसाद सिटौलाले पनि आउने महाधिवेशनमा आफ्नो नयाँ क्याम्प खडा गरेर सभापतिको उम्मेदवारी दिएर विजय हुने रणनीति बनाउनुभयो ?
नयाँ क्याम्प होइन । स्पष्ट रुपमै देखिन्छ नि उहाँको क्याम्पमा गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं र विभिन्न जिल्लाका सभापतिहरु त्यसमा तारामान गुरुङ्देखि लिएर धेरै साथीहरु जोडिएका छन् ।
अब आउने महाधिवेशनको लागि हिड्नुहुन्छ । अनि विभिन्न साथीहरुसँग सल्लाह गरेर अगाडि बढ्नुहुन्छ । अहिलेसम्म त उहाँका हरेक कार्यक्रमहरु भइराखेको हुन्छ । अन्तिम पनि होटेल एल्लो प्यागोडामा केही पत्रकारबीच कार्यक्रम गरेर आफ्ना धारणा राख्नुभएको छ ।
उहाँलाई पार्टीमा एउटा भिजनरी नेतृत्व चाहिन्छ । पार्टीमा अहिलेको परिस्थितिमा भिड्न सक्ने नेतृत्व चाहिन्छ भनेर विभिन्न ठाउँमा राख्नुभएको छ । उम्मेदवारी घोषणा त पछि गर्नुहुन्छ । तर, अहिले तयारी गरेको जस्तो अनुभव मलाई भइरहेको छ ।
रामचन्द्र पौडेल र शेरबहादुर देउवाले प्रतिस्पर्धा गर्ने भन्नुभएको छ, यो अवस्थामा सिटौलाको प्रतिस्पर्धा को सँग ?
कोसँग हुनु तीनवटैसँग हुन्छ नि । प्रतिस्पर्धाको रेसमा डौडिएपछि को पहिला, दोस्रा र तेस्रा हुन्छ उहाँसँग । त्यो त नोमिनेसन दर्ता गरेपछि हुन्छ नि ।
आन्तरिक प्रतिस्पर्धाको चुनावलड्ने हो नि जो पनि लड्न पाउँछ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भइसकेका मान्छेहरु जो पनि पार्टी सभापतिमा चुनाव लड्न पाउँछ नि । पार्टी शुद्धिकरणको लागि त यसरी नेतृत्व चयन गर्न पाइन्छ भनेर विधानमा व्यवस्था गरिएको हो नि ।
कुनै मान्छे नेतृत्वको लागि अगाडि जान्छ भने उसँग कार्यकर्ताहरु जोडिएर जान्छन् । उहाँले घोषणा पत्र ल्याउनुहुन्छ त्यसपछि कार्यकर्ताबीच एउटा भिजन त आइहाल्छ नि । त्यसपछि चुनावमा जाने सभापतिमा जित्ने हो ।
त्यसोभए फागुनमा अधिवेशन हुन्छ, तपाईंलाई विश्वास छ ?
अधिवेशन त २०७७ फागुन ७, ८, ९ मा सम्पन्न गर्ने भनेर केन्द्रीय कार्यसमितिले सर्वसम्मत ढंगले निर्णय गरेको हो । पार्टीको विधानमा व्यवस्था भएअनुसार ४ वर्षको कार्यकाल र थप एक वर्ष गरेर ५ वर्षको अवधि २०७७ साल फागुनमा पुरा हुने भएकाले महाविधेशन गर्ने भनेर टुंगो गरिएको हो ।
त्यो बेलामा नहुनको लागि त केन्द्रीय कार्यसमितिबाट सहमति भयो भने केही समय पर सार्ने सहमति भएन भने त्यही समयमा गर्ने भनिएको छ । त्यसको लागि कार्यतालिका नै आइसकेको छ नि साउन मसान्तसम्ममा क्रियाशीलको टुंगो लगाउने ।
त्यसपछि जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म पुग्ने र मंसिरको अन्तिमसम्म सबै सकेर पुस ६ गतेदेखि गाउँतहदेखि माग ६ गतेसम्ममा जिल्ला र प्रदेश तह सिध्याउने । अनि फागुनको सात गतेबाट केन्द्रीय महाधिवेशन थाल्ने भन्ने कार्यतालिका आइसकेको छ नि ।
त्यस्तै किसिमको विसम परिस्थिति आयो । जस्तो अहिलेको महामारीकै कुरा गरौं । त्यस्तो परिस्थिति आयो जसको कारणले महाधिवेशन गर्न सम्भवै भएन भने नेपालको संविधान अनुसार ६ महिना पर सार्न सकिन्छ ।
त्यसोभए निर्धारित समयबाट ६ महिना पर सर्ने सम्भावना पनि छ होइन त ?
अब त्यस्तै विसम परिस्थिति सिर्जना भयो भने निर्वाचन आयोगमा निवेदन दिएर ६ महिना पर सार्न सकिन्छ । यो चाहीं नेपाली कांग्रेसको विधानभन्दा पनि संविधान सम्मत कुरा हो । पार्टी त्यो अधिकार संविधानले दिएको छ ।
अहिलेको विभाग गठनमा तपाईंहरु कता हुनुहुन्छ ? शेरबहादुर देउवातिर कि रामचन्द्र पौडेलतिर ?
विभाग गठनमा त भागबन्डा नै भएको छ नि । त्यसमा एउटा पक्षले स्वीकारेको छैन । विभाग गठन पार्टी सभापति पक्षधरले गरिरहनुभएको छ । जस्तो खेलकुद क्षेत्रमा मोहन बस्नेको नेतृत्वमा गठन भइसकेको छ ।
त्यसमा एउटा पक्षले अब अधिवेशन नै आइसक्यो किन विभाग चाहियो भनेर असन्तुष्टि जनाएको छ । पार्टी सभापतिले आफ्नो कार्यकालमा विभाग पनि गठन गर्न नसक्ने भनेर अपजस आउँछ भनेर उहाँले आफ्नो पक्षबाट विभाग गठनतिर लाग्नुभएको छ । कतिपय विभागहरु गठन पर्नेथियो त्यो भइरहेको अवस्था पनि छ ।
कृष्णप्रसाद सिटौला त विभाग गठन गर्ने पक्षमा नै हुनुहुन्छ होएन ? यसमा शेरबहादुर देउवालाई साथ दिनु भएको जस्तो देखिन्छ नि ?
विभाग गठन गर्ने कुरामा मेरो सहमति पनि छैन र असहमति पनि छैन भन्ने उहाँको लाइन हो । अहिलेको अवस्थामा विभाग गठन गर्न थाल्दा अलिकति नकारात्मक सन्देश जाला । तर, यो सैद्धात्कि रुपमा भन्दा बागबन्डाको राजनीतिक हिसावले बढेको छ ।
सुशील कोइराला सभापति भएदेखि नै भागबन्डाको राजीतिको रुपमा पार्टी अगाडि बढ्यो । सुशील दाइ सभापति हुँदा अहिलेका सभापति शेरबहादुर देउवाले धेरै भागबन्डा खोजेर पार्टीका कामहरु अड्काउनुभएको थियो । त्यही रोगले रामचन्द्र पौडेल समातेर पार्टी सभापतिलाई अड्काउनुभएको छ । राजनीतिमा चुनाव लडेर जितिसकेको मान्छेलाई काम गर्न दिनुपर्छ ।
त्यो नै प्रजातान्त्रिक प्रणाली हो । बहुदलीय प्रतिस्पर्धामा हजार भोट ल्याएर जितेको छ भने पनि त्यसलाई मान्नुपर्ने हुन्छ । सभापतिले सबैलाई मेटेर काम गर्नुपर्ने हो । त्यो कुरा लोकतान्त्रिक पद्धतिमा पार्टीमा हावी भएन । नितान्त भागबन्डाको राजनीति हावी भयो ।
त्यो लोकतान्त्रिक पद्धति बिपरीत कुरा हो । त्यसकारण उहाँहरुले भागबन्डाको राजनीतिलाई अन्त्य गर्ने घोषणा गर्नुपर्छ । त्यसलाई नेपाली कांग्रेस पार्टीलाई कहीं पनि पु¥याउँदैन । मेरो मान्यता भनेको भागबन्डाको राजनीति अन्त्य हुनुपर्छ । डेमोक्रेसीमा जो जिते पनि श्रीखण्ड ।
तपाईंले भागबन्डाको राजीतिको अन्त्य हुनुपर्छ भन्नुभयो तर यसपालि तीनजना नेताहरुको प्रतिस्पर्धा हुँदैछ रे, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि हो ?
त्यो सम्भावना मैले देखेको छैन । अहिलेका पार्टी सभापतिले छोड्ने कुरा पनि आउँदैन । एक पटक फेरि उठ्ने मौका विधानले उहाँलाई दिएको छ ।
होइन, सभापतिमा उठेर निधिलाई अगाडि बढाउन पनि सक्नुहुन्छ नि त्यो सम्भावना पनि त छ नि ?
विमलेन्द्र निधि आफै उठ्न सक्नुहुन्छ नि उहाँले बढाउने भन्दा पनि । पार्टी सभापतिमा लड्न मधिवेशन प्रनिधिहरु जसलाई पनि अधिकार छ नि । रामचन्द्र पौडेललाई पार्टी सभापति हुने इच्छा होला । उहाँ पनि त्यत्रो त्याग, तपस्या गरेको व्यक्ति हो पार्टीभित्र ।
त्यसकारण एक चोटी पार्टी सभापतिमा जान्छु भन्ने उहाँको पनि नजाहेज कुरा होइन । सबै नेता पुत्रहरुको पनि चाहना हुन्छ ।
त्यसैले त गणेशमान पुत्रको पनि सभापति हुने चाहना छ नि ?
त्यही त मैले भनेको छु नि । सबै नेता सुपुत्रहरुलाई त्यो चाहना, इच्छा छ नि । त्यसमा विमलेन्द्र निधि, महेन्द्र नायराण निधिका सुपुत्र हो, प्रकाशमान गणेशमानको सुपत्र हो । र, शशांक डाक्टरसाव वीपी कोइरालाको सुपुत्र हो ।
ती तीनजना नेताहरुका सुपुत्रहरुलाई उम्मेदवार बनाउँदा के होला ?
त्यसमा त पार्टीमा छलफल हुनुप¥यो । सबैको सहमति हुनुप¥यो । अहिले जुसुकै कुरामा सहमति भएन भने महाधिवेशन हुने देखिँदैन ।
किन भने सभापति पनि आफ्नै हिसाबले अगाडि बढ्नुभएको छ । रामचन्द्र दाइ पनि छोड्नेवाला हुनुहुन्न । त्यसैले नेता सुपुत्रहरुको पनि कुरा आइरहेको छ । कोइराला परिवारबाट पनि नेतृत्वमा जानुपर्छ भन्ने छ । शशांक, शेखर र सुजाता कोइरालामा ।
तर, विमेलेन्द्र निधिको अहिलेसम्म आफै उठ्ने कुरा आएको छैन । उहाँ अहिलेसम्म शेरबहादुर दाइकै टिममा प्रचारप्रसारमा लागिरहनुभएको छ । वैचारिक रुपमा पार्टी फुटेको अवस्थामा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच एकता गरिएको हो । तर, त्यो एकता भावनात्मक हुन सकेन ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् नेपाली काँग्रेसको वर्तमान अवस्थाको बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...