
नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि क्रियाशिल सदस्यता वितरण र नविकरण कार्य धमाधम भइरहँदा पार्टी नेतृत्वमा पुग्न सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच होडवाजी चलेको छ ।
पार्टीको संगठनमा पकड जमाउन र आफ्नो पक्षमा बहुमत प्राप्त गर्न सभापति देउवासहित संस्थापन पक्षका नेताहरु नवप्रवेशीको आड लिइरहेका छन् ।
त्यसैले सभापति देउवाले पार्टीमा छलफलै नगरी राप्रपा छाडेर कांग्रेस प्रवेश गर्दै गर्दा सुनिलबहादुर थापालाई सहमहामन्त्री दिने सार्वजनिक घोषणा गरे । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्वीकृत नगर्दै देउवाले थापालाई सहमहामन्त्री दिने घोषणा गर्नुको खास कारण छ ।
थापालाई सहमहामन्त्री दिने बचन दिएपछि आगामी महाधिवेशनमा थापा र उनीसँगै आएका पुराना राप्रपावालाले आफूलाई नै सहयोग र समर्थन गर्ने आशा देउवामा छ । क्रियाशील सदस्यता वितरण शुरु हुने दिन साउन १० गते नै थापालाई प्रवेश गराउने साईत पनि त्यसरी नै जुराइयो ।
कांग्रेसको १३ औं महाधिवेशन (२०७२ फागुन) देखि हालसम्म आउँदा देउवाले पार्टीमा २५ जना नवप्रवेशीलाई केन्द्रीय कार्यसमितिमा ल्याई सकेका छन् । भने थापासहित झण्डै आधा दर्जनलाई ल्याउने तयारी हुँदैछ ।
पार्टीको पुरानो संस्थापक्ष एकजुट नहुँदा आफूले १३ औं महाधिवेशनमा नेतृत्व लिन सफल भएको राम्ररी बुझेका देउवाले शक्ति आर्जन र संचय गर्ने माध्यमको रुपमा नवप्रवेशीलाई आधार बनाएका छन् ।
पौडेल समूह भने नवप्रवेशीलाई पार्टीमा भित्र्याएकै आधारमा आफ्नो समूह शक्तिशाली हुन्छ भन्ने विश्वासमा छैन । त्यसैले अन्य पार्टीबाट आएकाहरुको नाममा हजारौंको सख्यामा क्रियाशील सदस्यताको फारम वितरण गरेको भन्दै पौडेल समूहले आपत्ति जनाई सकेको छ ।
पुरानो संस्थापन पक्षका नेता तथा तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिमा उम्मेदवार हुँदा प्रतिष्पर्धामा देउवाले नेतृत्व लिएको विश्लेषण गर्दै आएको पौडेल समूहमा आफ्नो समूहमा नवप्रवेशीलाई आकर्षित गर्नुको सट्टा सभापतिमा कसको नाममा सहमति जुट्ला भन्ने पिरलो बढी छ ।
पौडेल समूहबाट सभापतिको लागि स्वयम् रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले उम्मेदवार हुने सार्वजनिक गरिसकेका छन् भने प्रभावशाली नेता डा. शेखर कोइराला विगत तीन वर्षदेखि देश दौडाहा गर्दै सभापतिको तयारीमा जुटेकै छन् ।
पौडेल समूहबाट गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री डा. रामशरण महतले पनि आफूलाई सभापतिको दाबी गर्ने बताई सकेका छन् ।
पुरानो संस्थापन पक्षमा नेताहरु पौडेल, सिंह र कोइराला परिवारका सदस्यबीच सहमतिमा एउटै प्यानल बनाउन सके बिजय हासिल गर्न सकिन्छ भन्ने विश्वासमा रहेको छ । तर, सिटौला समूहलाई समेट्ने प्रयास सफल होला जस्तो अझै देखिन्न ।
१३ औं महाधिवेशनमा आफूले पाएको मतको अंक गणितलाई देउवा पक्षले आधार बनाएर महाधिवेशनमा आफ्नो बर्चश्व कायम गर्ने रणनीति बनाएको देखिन्छ । महाधिवेशनमा संस्थापन पक्षमा लागेका महामन्त्रीका तत्कालिन उम्मेदवार अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य चन्द्र भण्डारीवाहेक कसैले पनि देउवालाई साथ छाड्ेका छैनन् ।
देउवा समूहबाट दुई नेता वाहिरिए पनि पुरानो संस्थापन पक्षका आठ जना केन्द्रीय सदस्यलाई देउवाले आफ्नो समुहमा ल्याई सकेका छन् ।
देउवाले पौडेलसमूहबाट हालसम्म केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, चिनकाजी श्रेष्ठ, बालकृष्ण पाण्डेय, कृष्णकिशोर घिमिरेलाई आफ्नो समूहमा ल्याई सकेका छन् ।
तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट नेपाली कांग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदारसहितका १२ जना हाल केन्द्रीय कार्यसमितिमा छन् । गच्छदारलाई उपसभापतिको जिम्मेवारी दिइएको छ ।
देउवाले गच्छदारसँगै कांग्रेस केन्द्रीय सदस्य भएका रामजनम चौधरी, मोहम्मद नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, हरिप्रसाद न्यौपाने, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडालाई आफ्नो शक्तिको श्रोत मानेका छन् ।
त्यस्तै, तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी छाडेर आएका जंगीलाल राय, अभिषेक प्रताप साह, राप्रपा छाडेका सूर्यबहादुर केसी, तत्कालिन माओवादी केन्द्र छाडेका शम्भुलाल श्रेष्ठ, तात्कालिन एमाले छाडेका मोहन सिंह राठौर केन्द्रीय सदस्य भएसँगै देउवाको समर्थक बनेका छन् ।
अत्य दल छाडेर आएका नन्दनकुमार दत्त, कुमार खड्का, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, दयाराम पाण्डे, जनकराज कलौनी र भूमिबहादुर गुरुङलाई देउवाले केन्द्रीय कार्यसमितिमा ल्याएर नवप्रवेशीलाई प्राथमिकता दिनुमा आगामी महाधिवेशनमा शक्ति आर्जन गर्ने उदेश्य स्पस्ट देखिन्छ ।
राप्रपाबाट करिव १८ केन्द्रीय सदस्य लिएर कांग्रेसमा आएका थापासहित ६ जनालाई केन्द्रीय सदस्यमा ल्याउने तयारीमा देउवा छन् । सम्भवत यही साता बस्ने केन्द्रीय समिति बैठकमा देउवाले उनीहरुलाई केन्द्रमा ल्याउने देखिन्छ ।
देउवाले अन्य पार्टीका नेता कार्यकर्ता कांग्रेसमा भित्र्याएर महाधिवेशनमा पकड जमाउने उदेश्य रहेको पौडेल समूहको बुझाई छ । पौडेल समूहले नेता मात्र आउने तर तल्लो तहका कार्यकर्ता ल्याउन नसक्ने नेता भित्र्याएकै भरमा देउवाको शक्ति आर्जन नहुने दाबी छ ।
पौडेल समूहको ध्यान पार्टीकै पुराना नेता र कार्यकर्तालाई आफ्नो समूहमा आकर्षित गर्न पार्टी नेतृत्वका कमजोर भूमिकालाई देखाउने र पार्टीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पराजय भोग्नुको दोष देउवालाई दिने अभियानमा छन् ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...