संघीयताले बिदा लिने साइत कुरेर बसेको छः चित्र बहादुर केसी – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

संघीयताले बिदा लिने साइत कुरेर बसेको छः चित्र बहादुर केसी

संविधानसभा निर्वाचन पश्चात् मुलुकले संघीयता धाम्न सक्दैन भन्दै आएका पुराना कम्युनिष्ट नेता यतिखेर पनि संघीयता कुनै हालतमा राख्न हुँदैन नेपाली जनताले रुचाएका छैनन् भन्दै निरन्तर संघीय खारेजीको लागी कम्मर कसेर लागि परेका छन् ।

सँधै साधारण पहिरण, साधारण रहनसहन तथा सँधै मिडियाको सम्पर्कमा बसी रहने प्रस्ट वक्ता राष्ट्रिय जनमोर्चा अध्यक्ष,चित्रबहादुर केसी
संविधानमा भएका र संविधानले निर्दिष्ट गरेका व्यवस्थाको विरोध गर्दा गर्दै केही समय राज्यको उपप्रधानमन्त्री समेत बने ।

मुलुकले दैवी प्रकोप व्यहोरीरहेको बेला र सरकारको गतिविधि, प्रदेश सरकारको गतिविधि, स्थानीय सरकारको गतिविधि लगायतका विषयमा नयाँ विकल्प साप्ताहिकका लागि हाम्रा संवाददाताले केसी संग गरेको कुराकानीको सम्पादीत अशंः


कोरोना रोकथाम र नियन्त्रणमा केपी शर्मा ओली नेतृत्वको सरकारको मूल्यांकन कस्तो गर्नुहुन्छ ?


रोगसँग लड्ने कुरामा पुरा सफल पनि भएका छैनन्, पूरा असफल पनि भएको छैनन् । गर्नुपर्ने जति र भनेजस्तो आवश्यकता पुरा भएको छैन ।

त्यसको बारेमा हामीले राम्रो, नराम्रो भन्नुपर्ने आवश्यकता छैन । नेपाली जनताले नै छुट्याउने कुरा हो । स्वास्थ्य सामाग्री खरिदमा के भयो । आइसुलेसन, क्वारेन्टाइन र पीसीआर परीक्षणमा कति चुस्त ढंगले काम गरिरहेका छन् ।

संक्रमितलाई कस्तो व्यवहार गरिएको छ । निजी क्षेत्रका अस्पतालहरुलाई सरकारले भनेका मानेका छन् कि छैनन् । त्यो सबै नेपाली जनतालाई राम्रोसँग थाहा छ । हामीले के मूल्यांकन गर्नु ?


उसोभए संघीय सरकारले गरेन, प्रदेश सरकारले कत्तिको गरेको छ भन्ने लाग्छ ?

संघीय, प्रदेश र स्थानीय सरकारले काम गरेका छन् कि छैनन् भन्ने कुरा त सबैलाई थाहा छ नि । के गर्नुपथ्र्यो, सरकारले के गरिरहेको छ, कुन काम गर्नुपर्ने हो त्यो सबै नेपाली जनतालाई थाहा छ । देख्दा स्थानीयले चाही अलिकति गरेको देखिन्छ ।

तपाईं बताउनुस् संघीयता त अहिले संजीबनी बूटी बनेको छ नि जताततै प्रशंसैप्रशंसा भएको छ ?
असाध्यै संजीबनी बूटी बनेको छ । संघीयता भइसकेपछि अब मान्छेलाई खान, लगाउन, बिरामी हुँदा औषधि उपचार केही पनि गर्नुपरेन । संघीयताको नाममा त्यहाँका जनप्रतिनिधिहरुले तलब, भत्ता, सुविधा भोग गरेपछि सबैलाई पुग्यो ।

जनतालाई केही गर्नुपरेन । राजनीति गर्ने, सत्तामा बस्नेले सधैं सुविधा पाइरहेकै थिए नि । उनीहरुलाई संघीयता नै चाहिएको थिएन । जनताले सुविधा पाउनुप¥यो नि । जनताले चाही केही नपाउने नेता मोटाउने संघीयता ।

गाउँपालिका, नगरपालिका जताततै प्रशंसा भइरहेको छ, जनताहरु पनि हामीले सुविधा पाइरहेका छौं भन्छन्, तपाई चाही किन विरोध गर्नुहुन्छ ?

सत्तामा लागेका र सत्ताका पछाडि हिड्नेले त राणा शासन, पञ्चायत शासन अनि प्रजातन्त्र भन्ने बेलामा त्यो सत्ता र शक्तिमा सामेल भएकाले जहिले पनि सुविधा पाएका छन् नि । त्यो वर्गलाई सुविधा पाउन संघीयता, गणतन्त्र आउनै पर्दैन नि जहिले पनि पाएका छन् नि । सुविधा नपाएका त सर्वसाधारण जनताले न हो ।


तपाईंले संघीयताको विरोध गर्दागर्दै तिनै तहमा संस्थागत रुपमा अगाडि बढी रहेको छ, यसमा के भन्नुहुन्छ ?

हाम्रो देशमा संघीयताले बिदा हुनलाई साइत कुरेर बसेको छ । अनि जताततै माहोल भइगयो नि विकासको । कतिबेला जाने साइत आउँछ भनेर साइत जुराउन लागेको संघीयताले अब देशको विकास गरिहाल्छ नि ।

राष्ट्रिय जनमोर्चाले पहिला नै भनेको थियो । हाम्रो जस्तो मुलुकमा संघीयताको खाँचो छैन भनेर । त्यसबेला सबैले संघीयता आयो भने के–केन हुन्छ भनेर सबै लुडिएर अगाडि आए । अहिले आएर सबैले थाहा पाइसकेका छन्, संघीयताले के गर्दैछ भनेर ।

कहिले बिदा होला हाम्रो देशमा संघीयता, त्यो तपाईंको दिवा सपना हुने हो की ?

ढिलोचाँडो देशले थेग्न सक्दैन । जिल्लामा अहिले पनि सीडिओले नै काम गरिराखेका छन् । प्रदेशको काम भनेको सेवा, सुविधा बढाउने पार्टीका नेता, कार्यकर्ताहरुलाई भर्तिकेन्द्र बनाएर जागिर खुवाउन सजिलो भएको छ ।

त्यहाँबाट जनताको पक्षमा केही काम भएको छैन । त्यसकारण संघीयता बिदा हुने दिन कुरेर बसेको छ, नेपाली जनताको अगाडि । त्यो हामी सबैलाई थाहा छ । संघीयताले जनतालाई सुविधा भएको छ कि सत्ता र शक्तिको ओरिपरी घुम्नेले पाउने हुन् ।

होइन, हाम्रो देशमा संघीयता त बरदान जस्तै सावित भइसक्यो ? संस्थागत भइसक्यो अनि कसरी बिदा हुन्छ ?

बरदान भएको र संस्थागत भएको मुलुकमा कोरोनाले बिचल्नीमा परेको छ । टिकट काटेर एयरपोर्टमा अलपत्र परेर बसेका नेपालीहरुलाई सोध्नुपर्छ । भारतबाट आएर कैंयौं दिनसम्म बोर्डरको पारिपट्टी यातना भोगेर बस्नुपरेकालाई सोध्नुपर्छ ।

ती नेपालीहरुलाई सोध्नुपर्छ यो संघीयता सफल भयो कि भएन, सरकार सफल भयो कि भएन भनेर । अब सत्ता र शक्तिमा बसेर राष्ट्रको गुल्छरा उडाउनेहरुलाई सोध्यो भने त संघीयता सतप्रतिशत सफल भयो भनिहाल्छन् नि । अनि थाहा हुन्छ हाम्रो देशमा संघीयता कसको लागि चाहिएको रहेछ भनेर ।

तर कोरोनालगायतका राष्ट्रिय विपत्तिका बेला प्रदेश र स्थानीय सरकारले राम्रो काम गर्याे भन्ने छ नि ?

राम्रो काम गरेपनि कमसेकम सत्ता र शक्तिमा बस्नेहरु एउटा हेलिकप्टर लिएर जाँदा काम चल्नेमा चार÷पाँचवटा हेलिकप्टर लावालस्कर लगाएर गए । त्यहाँका जनतालई चाहीं कुहिएको चामल पनि पुगेको छैन । त्यसकारण जनताले राम्रोसँग थाहा पाएका छन् । संघीयताको परिणाम के भएको छ भनेर । संघीयताले जनताको काम गरेको छ कि जनप्रतिनिधि र नेता, कार्यकर्ताको भुँडी भर्ने काम भएको छ, सबैलाई थाहा छ ।

यस्तो बेलामा त तपाईंले प्रदेश सरकारले राम्रो काम गर्यो भन्न सक्नुपथ्र्यो नि ?

राम्रो काम गरेको भए त नभेर सुखै पाइने थिएन । त्यसकारण प्रदेश सरकारले गरेका कामको परिणाम । प्रदेश सरकारले प्रदेशअन्तर्गतका जनतालाई दिएको सेवा, सुविधाका बारेमा त त्यहाँका जनताले भन्ने हो नि । मैले भनेर हुने हो र ? त्यहाँका जनतालाई मैले यसो भन भनेर भन्दिने हो र ?

तर जनताले त त्यस्तो आवाज नै केही निकालेको देखिदैन ?

विचरा नेपाली जनता क्वारेन्टाइनमा खान, बस्न र उपचारको उपयुक्त वातावरण नभएर आत्महत्या गरेर मरिराखेका छन् । परीक्षण गरिएको दुई हप्तासम्म रिपोर्ट आएको छैन । स्वास्थ्य सामाग्री र औषधि पाइँदैन ।

शहरमा अटाइनअटाइ निजी अस्पताल छन् बिरामीलाई गेटमा जानसाथ बाघले झम्टेभैंm झन्टेर भित्र पस्न दिँदैनन् कोरोना सर्छ भनेर । त्यसैले संघीयता राम्रो हो कि होइन भनेर जनताले राम्रोसँग थाहा पाइसकेका छन् ।

उनीहरुलाई निजीकरण, उदारीकरणको परिणाम के रहेछ भनेर राम्रोसँग थाहा भयो । यही कोरोनाको नाममा चार÷पाँच महिनामा धेरै अनुभव गरे नि जनताले ।


कोरोनाको बेलामा प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्रीहरु रोग रोकथाम र नियन्त्रणमा राम्रो काम गरेको भन्ने छ नी त अनि तपाई चाही किन विरोधी बन्नुभएको ?

शब्दमा जे भने पनि व्यवहारमा देखिएको छ नि । दुई नम्बर प्रदेश डुवाउमा परेका जनतालाई त्यही बेलामा एउटा सिरानीको खोल किनेको र साढे अठाइसयको बिल बनाएर खाएको पनि थाहा पाए नेपाली जनताले ।

ठाउँ–ठाउँमा क्वारेन्टाइनमा बसेका मान्छेले खानै नपाएर मर्नु परेको छ । कतिपयले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् । कोरोनाको माहामारीसँगै बाढी, पहिरो लगायतका आपतबिपतमा परेका जनतालाई सरकारले कति राहत दिएको छ ?

सेवा, सुविधा कति दिएको छ ? कुन–कुन क्षेत्रमा जनताको दुःख पीडामा मद्दत गरेको छ । लकडाउनको बेलामा कस्ता, वर्ग समुदायलाई राहत दिइयो ?

कति जनताले राहत पाए । त्यो कुरा पीडा भोग्ने पीडितलाई थाहा छ । हामी यहाँ काठमाडौंमा बसेर मिडियामा बोलेर के अर्थ हुन्छ । वास्तविक कुरा बुझ्न त ती पीडितका घर, दैलोमा पुग्नुपर्छ । यहाँ बसेर अन्दाजमा बोलेर वास्तविक कुरा पाइँदैन । सुनेका, अड्कल गरेका सतही कुरा मात्र यहाँबाट पाइने हो ।

अहिलेको कोरोना समस्या देशमा संघीयता नभएको भए कसरी समाधान हुन्थ्यो, जनताहरु त ठूलो संकटमा पर्थे नि ?


त्यही त संघीयताकै कारणले नेपालमा कोरोना डराइराखेको छ होला नी ! संघीयताकै कारण राष्ट्र ऋणमा डुबेको छ । भ्रष्टाचारीहरु असाध्यै डराएका छन् संघीयतादेखि ।

शासकहरु पनि डराएका छन् । विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुले मोजमस्ती गरेका छन् । कमिसन, जागिर खाएका छन् ।

विकासका नाममा जनप्रतिनिधिहरु आफै ठेकदार, आफै बजेट छुट्याउने । आफै डोजर किन्ने, ठेक्कापट्टा पनि आफै लिने गरेका छन् । त्यसकारण संघीयतादेखि सबै डराएका छन् । त्यो त हामीलाई राम्रैसँग थाहा भयो नि होइन र ?

त्यसोभए जनप्रतिनिधिहरु सेवा, सुविधा भोग गर्नमै व्यस्त छन् होइन त ?

सबैलाई त नभनौं । कतिपय मान्छेहरुलाई यस्तो बेलामा पनि ‘अरुलाई अरु रन्को, घर ज्वाइलाई खानको रन्को’ भनेजस्तो यस्तो नेपाली जनतालाई आपतविपत परेको बेलामा पनि जे काम गर्दा पनि प्रशस्त फाइदा उठाउने, कमिसन खाने, भ्रष्टाचार गर्ने, बदमासी गर्ने, तलदेखि माथिसम्म नेपाली जनताले देखिसकेका छन् ।

त्यसैले यो सरकारले कोरोनो रोकथाम र नियन्त्रण, फेरि थपिएको अर्को बाढीपहिरोको आपतकालीन अवस्थाको बारेमा कति काम गरेको छ । त्यसको राम्रोसँग खेलाजोखा नेपाली जनताले गरिरहेका छन् र भविष्यमा पनि राम्रै गर्नेछन् ।