काठमाडौंमा मंगलबार मात्रै कोरोनाका दुई सय ३२ संक्रमित थपिए, दुईको मृत्यु – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

काठमाडौंमा मंगलबार मात्रै कोरोनाका दुई सय ३२ संक्रमित थपिए, दुईको मृत्यु

काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा सरकारले जारी गरेको एक साता लामो निषेधआज्ञाको समयसीमा सकिनै लाग्दा मंगलबार कोरोना भाइरसका संक्रमित हालसम्मकै धेरै देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँमा एक सय ९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । नेपालमा कोरोनाबाट हालसम्म एक सय ६४ जनाको मृत्यु पनि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँग्र कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ । काठमाडौंमा अहिलेसम्म भेटिएका करिब २६ सयमध्ये २२ जना सक्रिय संक्रमित छन् ।

यसैगरी महोत्तरीमा आजै मंगलबार थप दुई जना कोरोनाका संक्रमितको मृत्यु भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका –३ का ७५ बर्षीय एक बृद्ध र बलवा नगरपालिका– ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका ७५ बर्षीय बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, महोत्तरीकै बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

सोमबार मात्रै पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । काठमाडौं र धनुषाका एक÷एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपालमा मंगलबार आठ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ७१ महिला र पाँच सय ८४ पुरूष गरी थप ८५५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।