‘ओली नेतृत्वमा रहुन्जेल एमाले पतन हुने हो, जसलाई प्रधानमन्त्रीको कुर्सी मर्नेबेलासम्म चाहिएको छ’ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

‘ओली नेतृत्वमा रहुन्जेल एमाले पतन हुने हो, जसलाई प्रधानमन्त्रीको कुर्सी मर्नेबेलासम्म चाहिएको छ’

दुई तिहाई नजिक भएको नेकपा फुटेर हाल तीन भागमा विभाजित भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासमा बसेर एक चालीस महिनासम्म गुट भेला गर्दै पार्टीका शिर्ष नेतादेखी ग्रासरुटका कार्यकर्ता समेतलाई काखापाखा लगाएका कारण पार्टीभित्र विग्रह सुरु भएको हो ।

तत्कालीन नेकपासँग एमाले र एमाओवादीको एकीकरणपछि दुई तिहाई नजिक पुगेको सरकारले पार्टीलाई एक ढिक्कामा राख्न सकेन । संविधान समेत मिच्ने काम गर्दै गएको भन्दै हाल एमाओवादी पार्टी आफ्नै पुरानो घर फर्केको छ भने एमाले समेत फुटेको अवस्था छ ।

एमालेबाट माधव कुमार नेपालको नेतृत्वमा एकतीस सांसद् र एक सय पन्ध्र जना केन्द्रीय सदस्यहरु मिलेर निर्वाचन आयोगमा नेकपा एर्ककृत समाजवादी नामक पार्टी दर्ताका लागी आदेश दिएका छन् । सोही समूहका प्रस्ट वक्ता एवम् सांसद् विरोध खतिवडासँग हाम्रा विशेष सम्वाददाताले गरेको कुराकानीको सम्पादीत अशंः


तपाइहरुले एमाले पार्टी फुटाएर नयाँ पार्टी बनाएर आउनुभयो अब सरकारमा चाही कहिले जानुहुन्छ ?
सरकारमा जाने भन्ने तपशिलका कुरा हुन् । पार्टी निर्माण, वामपन्थी आन्दोलनको संरक्षण, संविधान र गणतन्त्रको रक्षा यी हाम्रा प्रमुख मुद्दाहरु हुन् । त्यसकारण तपशिलका कुराहरुमा अहिले नै हाम्रो ध्यान केन्द्रीत भएको छैन । राजनीति बुझेको मान्छेले दलीय व्यवस्थापनमा विभिन्न उद्देश्यको लागी दलहरु खुलेका हुन्छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेलाई सही ढंगले वर्तमान नेतृत्वले लैजान नसकेको हुनाले वामपन्थी आन्दोलन मात्रै होइन, भर्खरै हामीले निर्माण गरेको संविधान, गणतन्त्र र लोकतन्त्र रक्षाको लागी हाम्रो प्रमुख मुद्दामा ध्यान केन्द्रीत छ । अन्य बजारमा बहसमा क–कसले के–के भन्छन् ? दृष्टिकोण र सोंचाइ क–कसका साँघुरा र फराकिला छन् त्यो अनुसार तर्क वितर्क आउँछन् त्यस कुराको विवादमा गइरहनु आवश्यक छैन् ।

तर एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्ति चोइटिय केही फरक पर्दैन एमाले पार्टीलाई भनेर भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
केही फरक नपर्ने भए किन भनिरहेको त ? केही फरक पर्दैनथ्यो भने भनिरहनै पर्दैनथ्यो । यो त आत्तिएर अत्तालिएर उहाँले त्यस्तो भन्नुभएको हो ।

केही व्यक्तिको कुण्ठाको लागि हामीले बनाएको पार्टी नछोड्नुस भनेर केपी शर्मा ओलीले भन्नुभएको छ नि ?
ठिक भन्नुभयो, केही व्यक्तिको कुण्ठाको कारणले एमाले पार्टी ध्वस्त भयो केपी शर्मा ओली भन्ने नाम गरेको एकजना व्यक्तिको कारणले एमाले पार्टी ध्वस्त भयो ।

जसलाई प्रधानमन्त्रीको कुर्सी मर्ने बेलासम्म पनि चाहिने । बरु नेपाल कम्युनिष्ट पार्टी फुटोस् । एमाले फुटोस् तर आफु मलाई, म मेरो भन्ने चिन्तन जबसम्म उहाँसँग रहन्छ, तबसम्म त्यहाँबाट साथीहरु बाहिरिने र सही विचार, सही उद्देश्य बोकेको पार्टीमा सामेल हुने र त्यहाँ छोड्ने क्रमहरु अझ बढ्दै जान्छ ।

तर माधव कुमार नेपालसँग रहेका धेरै मान्छेहरुलेनै उहाँलाई साथ दिएनन् नि किन यहाँलाई के लाग्छ ?
मैले त उहाँहरु केपी शर्मा ओलीको साथमा रहेको पनि थाहा पाएको छैन । उहाँहरु केपी शर्मा ओलीसँग गएको र केपी शर्मा ओलीले राम्रो गर्नुभयो । त्यसैले हामी उहाँसँग हिँड्छौं भनेर उहाँहरुले बोलेको वक्तव्य दिएको मलाई थाहा छैन् ।

नेपालको कानुनअनुसार जति जना आवश्यक थियो हामीले त्यति जनाको दस्तखत लिएर निर्वाचन आयोग गएको हौं । त्यसकारण तपाईले नाम लिएका साथीहरु केपी शर्मा ओली भएको ठाउँ जानुभएको छैन ।

तर युवा नेताहरुको चौतर्फी दबाब छ नि माधव कुमार नेपाललाई निर्णय सच्याउनको लागि के निर्णय सकिएला त ?
जसले गल्ती ग¥यो उही ब्याक हुने हो नि । केपी शर्मा ओलीले गल्ती गर्नुभएको हो, उहाँ ब्याक हुनुपर्छ । गल्ती नभएको मान्छेको ब्याक हुनुपर्ने कारण के छ ? पार्टी माधव कुमार नेपालले होइन केपी शर्मा ओलीले फुटाएका हुन् ।

अब तपाइहरुको विकल्प के छ त केपी शर्मा ओलीसँग सम्झौता गर्ने कि गठबन्धन सरकारमा समावेश हुने ?
सरकार भन्दा ठुलो पार्टी र विचार हो । अहिले हाम्रो सरकारमा जाने भन्ने कुनै कुरा भएको छैन ।

माधव कुमार नेपाललाई मेरो साथ छ, उपप्रधानमन्त्री भएर म सरकारमा जान चाहन्छु भनेर वामदेव गौतमले भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
यो कुरा त उहाँले पहिलेदेखीनै भन्दै आइरहनु भएको छ । वामदेव गौतम मात्रै होइन केपी शर्मा ओलीसँग कोही पनि अडिएर बस्न सक्दैन । जबसम्म एमाले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व रहन्छ, तबसम एमाले पार्टी पतनको ओरालो लाग्ने निश्चित छ ।

साराशंमा के बुझ्नुस् भने हनुमान बाहेक अरु कोही अडिन सक्दैन केपी शर्मा ओलीसँग । त्यो भन्दा बेगर पार्टीमा अरुको नेतृत्व पनि देखेका छैनन् ।

अरुको क्षमता पनि छैन भन्ठानेका छन् । त्यसैगरी उनीहरुलाई पढाइएको छ, घोकाइएको छ । एमाले जिन्दावाद भन्न कहिल्यै सिकाइएन । उनीहरुलाई केपी ओली जिन्दावाद भनेर मात्रै सिकाइयो ।

त्यही मितिबाट नै एमाले पार्टीको पतन सुरु भएको हो । जुन दिन पार्टी जिन्दावाद भन्न सिकाइएन र व्यक्ति जिन्दावाद भन्न सिकाइयो त्यही दिनदेखी पार्टीको पतन सुरु भयो ।

केपी शर्मा ओलीले सभामुखलाई भन्नुभएको छ नि छिटो भन्दा छिटो सूचना टाँसेर उहाँहरुलाई कारवाही गर्नुहोस् भनेर तपाई के भन्नुहुन्छ ?
केपी शर्मा ओलीले गर्नसक्नेनै त्यही हो । बनाउन निर्माण गर्न सक्ने नै होइन नि । सकुशल भएको पार्टी फुटाउने । नयाँ मान्छे प्रवेश गराउनुको सट्टा भएका पुराना संस्थापन कालदेखीका नेतालाई निकाल्ने, जनताका लोकप्रिय मान्छेहरु निकाल्ने ।

बारम्बार चुनाव हारेर एकचोटी जितेर आएका मान्छेलाई ७० करोड घोटाला सहित भ्रष्टहरुलाई मन्त्रालयको जिम्मा लगाउने जस्ता उहाँको चरित्रनै त्यही भएर त मैले पार्टी पतन हुन्छ भनेको ।

डन, गुण्डाहरु दायाँबाँया उहाँको हातमा हुने । अग्रीम पैसाको सर्त राखेर यो मन्त्रालय मलाई दे यति पैसा बुझाउँछु भन्ने खालका मान्छेहरु केपी शर्मा ओलीको मनपर्ने मान्छेको अग्रपंक्तिमा लिष्टको पहिलो नम्बरमा हुन्छन् ।

१४ लाई कार्वाही नभए महेश बस्नेतले अब सभामुखसँग मुठभेड हुन्छ भनेर भन्नुभएको कुरालाई यहाँले कसरी लिनुभएको छ ?
जब मान्छे प्रतिक्रियावादी खाडलमा जान्छ उसले नियम कानुन, संविधान व्यक्तिका सम्मान यी सबै कुरा बिर्सिएर पतनको बाटोतिर जान्छन् । दुईतिहाईको बहुमत आफ्नो पार्टीमा हुँदा जोगाउन नसक्ने । भएको सिंगो एमाले पार्टीलाई जोगाउन नसक्ने ।

पतन हुँदै, स्खलन हुँदै जाने र बिरामीले बर्बराएजस्तै कहिले केपी शर्मा ओली बर्बराँछन् भने कहिले केपी ओलीका हनुमानहरु बर्बराउँछन् । यसको कुनै तुक छैन । सबैभन्दा ठुलो भनेको सोंच र विचार हो ।

उद्देश्य हो, नेतृत्व हो । हामीले आन्दोलनबाट स्थापित गरेका के–के मान्यता छन् र संविधानले के–के कबुल गरेको छ ? कानुनी शासनमा हामी कति प्रतिबद्ध छौं ? भन्ने जस्ता कुरालेनै पार्टीको आउँदा दिनको भविष्य निर्धारण गर्छ ।

अरु क्षणिक आवेग, उत्तेजना जिन्दावाद, मुर्दावाद, आइएम विथ केपी ओली भन्न लगाएर जुलुस् निस्किएको हेर्न मात्र बाँकी छ । कदापी एमाले भनेको म हो र म भनेकै एमाले हो भन्न सुहाउँदैन । मेचीदेखी महाकालीसम्मको कार्यकर्ताको योगदानलाई उनीहरुले देखेकै छैनन् । यस्तै घमण्डले चुर भएका मान्छेहरुले बनिबनाऊ संस्थालाई पनि डुबाउँछन् ।

तपाईहरुको सांसद् पद धरापमा परेको छ नि के भन्नुहुन्छ ?
सांसद् पद ठुलो कुरै होइन । हामीहरु राजासँग लड्दै आएको, जीवन र मृत्युसँग लड्दै आएको, जेलनेल खाएर आएका हौं । त्यो मेहेनतको उसले सदुपयोग गर्छ कि दुरुपयोग गर्छ भन्ने कुरा हो । सांसद् भन्ने कुरा हामीले जनताको मतको कदर गर्दै जिम्मेवारी सम्हालेका हौं ।

निर्वाचन आयोगले माधव कुमार नेपाल र महन्थ ठाकुरको दल दर्ता दु्रतगतिमा अगाडि बढाउने भनेर भनेको छ । अझैपनि २÷४ दिन समय लाग्ने भयो, तर तपाईहरुलाई सरकारमा जान ढिलो हुने भयो नि ?
सरकारमा जाने कुरासँग सम्बन्ध नै छैन भनेर कति चोटी भन्नु म तपाईलाई ? निर्वाचन आयोगले आफ्नो विधिअनुसार समयमा दल दर्ता गरिदिनुप¥यो । हामी राष्ट्रव्यापी पार्टी निर्माणमा लाग्छौं । पार्टीलाई बैधानिकता दिन्छौं ।

विधानहरु पारित गर्छौ । राजनीतिक प्रतिवेदन पारित गर्छौ र नेतृत्व चयन गर्छौ त्यसपछि हामी राष्ट्रव्यापी रुपमा संगठन निर्माणमा लाग्छौं । अहिले भएको परिस्थितिको विषयमा एमाले पार्टी फुट्नुको कारण के ? एमाले क्रमश दक्षिणपन्थी धारमा कसरी गयो ?

केपी शर्मा ओलीको मुखको कुरा र व्यवहारका कुराहरु, राष्ट्रवादका कुराहरु केपी शर्मा ओलीको सरकारमा भएका भ्रष्टाचारका कुराहरु यी सबै कुराहरु हामीले जनताको माझमा लिएर जान्छौं । हाम्रो अहिले मुख्य चिन्ता र चासोको विषय त्यतातिर छ ।

माधव कुरामा नेपालको कारणले एकताको प्रयास सफल हुन सकेन भनेर केपी शर्मा ओलीले भन्नुभएको छ, नि तपाईलाई के लाग्छ ?
शुरुदेखी नै पार्टीलाई धरापमा पार्ने को हो उसले जिम्मेवार लिनुपर्छ । हामी केही पनि होइन भने आत्तिएको किन ? निकाल्न छोडिएको किन ? जनताले चुनेको संसद् पदहरु खाइदिन हतार भएको किन ?

८३ भोटमा खुम्चिएपछि पनि राष्ट्रिय पदलाइृ दुरुपयोग गरेर प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर सत्ताको लालच गरेको किन ? पार्टी एकताको लागि आफुले गर्नुपर्ने त्याग गर्न नसकेको किन ? त्यसैगरी त्यस्ता लोभी पापीका कुराहरु खण्डन गर्नुपर्ने जरुरी पनि छैन् ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र ७, १३: १६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र ७, १३: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ७, १३: १६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...