
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्न समेत कठिन हुँदै गएको छ । पुरानो संस्थापन पक्षको नेतृत्व गरिरहेका रामचन्द्र पौडेलले जतिसक्दो महाअधिवेशन चाडो गर्न कार्यतालिका माग गर्दै आएका छन् भने वर्तमान संस्थापन पक्षले संघीय संरचना अनुसार संरचना तयार पार्नका लागि पचहत्तर जिल्लामा पठाइएको प्रतिनिधिहरुले प्रतिवेदन नबुझाएका कारण कार्यतालिका प्रकाशित गर्न अप्ठ्यारो परेको बताइ रहेको छ ।
काँग्रेसको विधान अनुसार गठन गर्नुपर्ने विभिन्न विभागहरु अहिलेसम्म गठन नहुँदा संगठन चुस्तदुरुस्त हुन नसकेको आम कार्यकर्ताहरुको बुझाई छ ।
वर्तमान संस्थापन पक्षले एकवर्ष म्याद थप गर्ने र विभागहरु पनि थप गरेर विभाग गठन गर्ने अडानमा छ । चर्चामा आएअनुसार काँग्रेसभित्रको गुटका कारण विभाग गठन गर्दा भागवण्डा नमिलेर केन्द्रीय समितिको बैठकसमेत अवरुद्ध भएको काँग्रेसकै नेताहरु बताउँछन् ।
उता शेखर कोइराला भने अब विभाग गठन गर्नु भनेको महाअधिवेशन लम्ब्याउने र पार्टीभित्रको आन्तरिक जीवनलाई नै अलमल्याउनु हो भन्ने तर्क राख्छन् । यिनै शेरोफेरोमा बसेर काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठसँग हाम्रा विशेष संवाददाताले नयाँ विकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अशंः
वर्तमान सभापतिले काँग्रेस पार्टीलाई मिलाएर लैजान सक्नुभएन, सभापतिकै कारणले तीन तहकै चुनावमा ठुलो हार व्यहोर्नुप¥यो भनेर पार्टीभित्रकै नेताहरुको टिकाटिप्पणी किन भइरहन्छ ?
हामी तिनै तहको चुनाव हार्नुमा एउटा कुरा हो । तिनै तहको चुनाव हामीले पनि जित्थ्यौ । अलिकति बुद्धि पु¥याउन सकेको भए हामीसँग आएको शक्तिलाई हामीले लिएको भए जित्ने सम्भावना थियो । हामीले त्यो शक्तिलाई भगायौ । त्यो शक्ति अर्कोसँग गएर मिल्दाखेरी त्रिकोणात्मक लडाइ पनि भएन । त्रिकोणात्मक लडाई हुन्छ भन्ने हाम्रो सोंचाई थियो ।
नेकपा, माओवादी कहि न कहि गएर मिल्नुपर्ने उनीहरुको बाध्यता थियो । हामीसँग मिल्न आएका थिए । त्यो बेला हामी सरकारमा सँगै थियौ । हाम्रो साथीहरुले त्यसमा पनि कन्जुस्याई गर्नुभयो । कन्जुस्याई गरेको कारणले गर्दा उनीहरु एमालेसँग मिल्न गए ।
एउटै नेपाल कम्युनिष्ट पार्टी बनाए । कतिपय ठाउँमा हाम्रै साथीले आफ्नै साथीलाई काँग्रेसले काँग्रेसलाईनै विपक्षीसँग मिलेर जरा काट्ने काम गरेको देखियो । यस्तै कारणले गर्दा हामी यो हालतमा पुगेका हौं । यो हालत नहोस् भनेर पछि शेरबहादुरजी खुरुखुरु दुई÷चार वटा काम त गरिरहनु भएको थियो । ने.वि.संघको महाअधिवेशन गराउने, महिला संघको महाअधिवेशन गराउने र तरुण दलको गठन गर्ने काम गर्नुभयो । अरु काम विभिन्न कारणले रोकिदै आयो ।
काँग्रेसको वर्तमान सभापति शेरबहादुर देउवाले काम गर्न सक्नुभएन उहाँ असफल हुनुभयो भन्ने जस्ता कुरा बाहिर आएका छन् नि तपाईलाई के लाग्छ ?
मैले त उहाँलाई काम गर्नको लागि प्रेरित गरेकै हो । उहाँले सहमति भनेर सहमतिमा कहिल्यै पुग्न सक्नुभएन । उहाँले विभाग गठन गर्छु भन्दै गर्दा विभाग गठन गर्न दिनुप¥यो नि । किनभने यसको समय चौध महिना बाँकी नै छ । चौध महिना काम गर्न सक्यो भने धेरै काम गर्न सकिन्छ । यो कुरा सबै साथीहरुले बुझ्नुपर्ने कुरा हो ।
नेपाली काँग्रेस पार्टीभित्रको गुट र उपगुट सँधै चर्चामा आइरहेको देखिन्छ अनि तपाई चाहिँ कुन गुटभित्र हुनुहुन्छ नि ?
कस्तो गुटैगुट हो ? म कतै गुटतिर छैन । म नेपाली काँग्रेस पार्टीभित्र छु । म नीतिमा आधारित पार्टीले काम गर्नुपर्छ भन्ने पक्षमा हो । पार्टीको नीति के हो भन्दाखेरी लोकतान्त्रिक प्रत्रियाबाट पार्टी भित्रको आन्तरिक निर्वाचन मुख्य कुरा हो । त्यसैले पार्टीको आन्तरिक निर्वाचन भएपछि नेतृत्व परिवर्तन हुुन्छ र त्यो नेतृत्वले काम गर्न पाउनुपर्छ भन्ने कुरामा मेरो मान्यता रहन्छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले छुट्टै भेला बोलाएर समानान्तर संघ गठन गर्ने भन्ने कुरालाई यहाँले कसरी लिनुभएको छ ?
रामचन्द्रजीले त्यो गर्नुभयो भने उहाँको लागि उहाँले निकै ठूलो काम गर्न खोजेको जस्तो ठान्नुहुन्छ होला । त्यो कामले पार्टीलाई कहाँसम्म पु¥याउँछ, त्यो कुरा रामचन्द्र पौडेलेनै बुझ्नुपर्ने कुरा हो । साथीहरुले बुझ्ने कुरा हो, समानान्तरमा जान हुन्छ कि हुन्न भन्ने कुरा नेताहरुलाई थाहा भएकै हुनुपर्छ ।
तर गुरुराज घिमिरेले हामीले ने.वि.संघ समानान्तर संघ गठन गर्छौ भनेर भनिरहँदा यहाँ के भन्नुहुन्छ ?
गुरुराज घिमिरेको कुरा मैले पनि सुनेको छु । उहाँले दुई जना भन्दा तीन जना नेता नै देख्नुभएको छैन । उहाँले शेरबहादुर र रामचन्द्र बाहेक अरु नेता नै छैनन् भन्नुहुन्छ । खोइ उहाँ कुन ठाउँमा हुनुहुन्छ ? त्यो तहका नेताहरु अरुपनि छन् नि दुःख पाएका ।
भाग्यमानी ति दुई नेता होलान्, पोजिसनमा पुगेका होलान् । गुरुराज घिमिरेको कुरा छोड्नुस् । गठन गरे हुन्छ, गुरुराज घिमिरेकै नेतृत्वमा गठन गरे पनि आपत्ति हुँदैन । यस विषयमा मलाई भन्नु केही छैन । प्रजातान्त्रिक प्रणालीमा प्रजातन्त्रलाई अभ्यास गर्ने हो ।
चुनावबाट आएको र चुनिएको साथीहरुलाई काम गर्न दिनुपर्छ । अल्पमत र बहुमत हुन्छ । अल्पमत र बहुमत हुँदैमा गुट र उपगुट भन्न पाइदैन । निर्वाचनमा अल्पमत, बहुमत हुन्छ । अल्पमत, बहुमत हुँदा कि सहमतिमा जानुप¥यो, सहमति हुँदैन भनेदेखि बहुमतियमा जान दिनुपर्छ । आशा छ छिट्टै सहमति हुन्छ ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेल मान्नुभएकै छैन, सहमति कसरी हुन्छ होला के लाग्छ यहाँलाई ?
मंसिर ३० गतेको बैठक एक दिनलाई पोस्टपोण्ड गरेर पौष २ गतेलाई राखिएको थियो । सहमति हुन्छ भनेर सहमति हुन सकेन । अब काम कुरा अगाडि बढ्छ । कृष्ण प्रसाद सिटौलाले पनि सहमति हुन सकेन भने म तपाईहरुको साथमा लागेर अगाडि बढ्छु र निर्णयमा पुग्छु भन्ने कुरामा उहाँले पनि बचन दिनुभएको छ । हामीले प्याकेजमा सबै काम गर्ने भनेका छौं । कार्यतालिका सहितको प्याकेज आउँछ । अब एक वर्र्ष थप्ने काम पनि हुन्छ ।
त्यसोभए एकवर्ष नै किन र के कारणले गर्दा समय थप गर्ने हो सोबारे पनि बताइदिनु हुन्छ कि ?
कुनै हालतमा काँग्रेसको विधि विधानले गर्दा दुई महिनाभित्र हाम्रो महाअधिवेशन हुन सक्दैन । महाअधिवेशनको कार्यतालिका घोषणा गरिसकेपछि सबै काम गर्नलाई एकवर्ष समय लाग्छ । त्यसैले गर्दाखेरी एकवर्ष थप्ने कुरामा सबैको सहमति भइसकेको छ । यो शेरबहादुर देउवाको मात्रै सहमति होइन । रामचन्द्रदेखि लिएर हरेक साथीहरुको बीचमा एकवर्ष थप्ने कुरामा सहमति भइसकेको छ ।
तपाईले सहमति भइसक्यो भनेर भनिरहँदा यसको आधारहरु के–के छन् त ?
एकवर्ष भन्दा धेरै समय थप्न पाइदैन भनेर हामीले भनिसकेका छौं । यो आजको कुरा होइन । नेपाली काँग्रेसको इतिहासमा सुरुदेखि अहिलेसम्म चार वर्षको लागि भनिन्छ तर एकवर्ष थपेर पाँचवर्ष गरिन्छ । अब संविधान निर्माणको बारेमा सुशीलजीको पालामा अर्को ६ महिना थपेको थियो । साँढे पाँचवर्ष बनाउन हुँदैन भनेर पाँच वर्षभित्रमा कार्यतालिका बनाएर गएको हो ।
अहिले पनि कार्यतालिका बनाएर एकवर्ष समय थप्नैपर्छ । हाम्रो विधानले सक्रिय सदस्यको कुरादेखि लिएर गाउँपालिकाको, वडाको, नगरपालिकाको, क्षेत्रको र प्रदेशको सबैको चुनाव गर्दाखेरी एकवर्ष लाग्छ । आउँदो फागुन १९ गते हाम्रो चारवर्ष पुग्छ । २०७७ फागुन १९ गतेसम्म रहन्छ र फागुनको पहिलो हप्तादेखि केन्द्रको महाअधिवेशन भएर फागुन १९ भित्र सबै कुराहरु टुङ्ग्याएर नयाँ नेतृत्वको चयन गरिन्छ ।
तपाईहरुले चारवर्षसम्म के गर्नुभयो र पुनः थप गर्नुपर्छ भनिरहनु भएको छ, कसरी चार वर्षसभित्र महाअधिवेशन हुन्छ त ?
कसरी चारवर्षभित्र महाधिवेशन हुन्छ त ? आवश्यकता प¥यो भने हुने हो नत्र महासमिति त भइसकेको छ । महासमिति गरेर विधान मस्यौदा गर्ने कुरा हो । मुलुकभरको अवस्था के कस्तो छ भनेर बुझ्ने कुरा हो । हरेक राष्ट्रिय महाअधिवेशन भन्दा बीचमा एउटा महासमिति हुन्छ । महासमिति गएको वर्ष भइसक्यो । पहिलेको विधान होस् वा अहिले विधान होस्, विधानले चारवर्षको कार्यकाल भनेको छ ।
त्यसोभए नेतृत्व चारवर्षको कार्यकाल रहेछ त, अनि किन थप्नुप¥यो एकवर्ष ?
चारवर्ष भन्दा पनि अहिलेसम्मको परम्पराको कुरा छ । यो एकवर्ष कसको पालामा थपेको छैन ? हरेकको पालामा थपेको छ । पञ्चायतको बेलामा एउटा कुरा हो । २०४६ सालपछि २०४८ सालमा कृष्णप्रसाद भट्टराइजीले थप्नुभयो । त्यति बेला उहाँ वी.पी.ले दिएको कार्यवाहक सभापति हुनुहुन्थ्यो । २०४८ पछि किसुनजी हुनुभयो, गिरिजाबाबु हुनुभयो, त्यसपछि सुशील कोइराला हुनुभयो र अहिले वर्तमान सभापति शेरबहादुर देउवा हुनुहुन्छ ।
यो परम्परागत रुपमा चलिराखेको छ । गिरिजाप्रसाद कोइरालाको पालामा पाँचवर्ष पुगेर अर्को ६ महिना थपेको हो । अर्लि अधिवेशन गराउनलाई अविश्वासको प्रस्ताव आउनुप¥यो । विशेष अधिवेशन बोलाउनुप¥यो ।
चाहेको भए अहिले पनि बोलाउँदा हुन्छ नि विशेष अधिवेशन किन बोलाउनुहुन्न ? २५ प्रतिशत साथीहरुको सहि ल्याएर, तेस्र्याएर विशेष अधिवेशनको आह्वान गरेर अहिले अधिवेशन गराएर अहिले परिवर्तन गरे हुन्छ । नत्र भनेदेखि पाँच वर्षसम्म गर्दा केही फरक पर्दैन यो परम्परागत कुरा हो ।
त्यसोभए शेरबहादुर देउवाले नेपाली काँग्रेस पार्टीलाई सुधार्न सक्नुभएन भन्ने कुरामा तपाई पनि सहमत हुनुहुन्छ होइन त ?
सुधार्ने र नसुधार्ने के हो भनेदेखि सामुहिक नेतृत्वमा हामी छौं । हामीले सभापतिको हातखुट्टा बाधेकै हो । अहिले त झन बाधेका छौं । १४औं महाअधिवेशन पछि सभापतिले झनै काम गर्न सक्दैन । मैले त शेरबहादुर देउवालाई तपाई खुरुखुरु बहुमतको आधारमा काम गर्नुहोस्, तपाईलाई असक्षम सभापति बनाउन कोशीस हुँदैछ भनेर मैले उहाँलाई व्यक्तिगत रुपमा पनि भनेको हो ।
सामूहिक कार्यसमितिमा बस्दा पनि यो भन्दा चार महिना पहिले पनि भनेको थिए । गठन गर्ने कामहरु, बनाउने कामहरु, संगठन गर्ने कामहरु खुरुखुरु गर्नुहोस्, तपाईसँग हामी छौं । बहुमत सदस्य तपाईहरुसँग छ तपाई अगाडि बढ्नुहोस् भन्दा होइन म गर्छु÷गर्छु भन्ने, सहमतिको लागि प्रयत्न गरेको छु भन्ने त्यसपछि यो मंसिर १४ गते उपनिर्वाचन छ भनेर त्यो बहाना बनाउनुभयो । अब गर्न खोज्नुभएको थियो । फेरि यो प्याकेजको कुरा आएको छ । दुई चार दिन कुरेर सबै कुरा हुन्छ भने हामी तयार छौं ।
तपाईले सभापति बहुमतिय आधारमा जानुपर्छ भनेर भन्दै गर्दा काँग्रेसको इतिहास हेर्ने हो भने वी.पी कोइराला, मातृका प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराईदेखि सुशील कोइरालासम्मका सभापतिहरुले त सहमतिमानै पार्टी चलाएका होइनन् र ?
मातृका प्रसाद कोइरालालाई विश्वेश्वर प्रसाद कोइरालाले पार्टीबाट निकालेका हुन् । तपाईलाई काँग्रेसको इतिहास थाहा छ ? मातृका प्रसाद कोइरालालाई वी.पी कोइरालाले अनुशासन भङ्ग गरे, नियम विपरित काम ग¥यो भनेर सभापतिबाट नै निकालेका हुन् ।
नेपाली काँग्रेस एउटा यस्तो कठोर पार्टी हो कि नीति र कानूनमा यस्तो काम गर्छ । सहमतिबाट भएन भने बहुमतियबाट नै जाने हो । हाम्रो यो नयाँ विधान महासमितिले कार्यसमितिलाई जिम्मा दिएको थियो, अहिलेसम्म यो विधान पास हुने थिएन । अहिलेसम्म यो विधान यत्तिकै रहन्थ्यो । तर के भन्दा आजभन्दा चार महिना पहिले बहुमतको आधारमा नै विधान पास गरेको हो ।
बैठकमा आउँदै नआउने, बैठकमा आएर आफ्नो कुरा राख्नुप¥यो नि । रामचन्द्र पौडेलले आफ्नो कुरा बैठकमा राखेको भए हुन्थ्यो । बैठकमा नआउने कोठाभित्रै कोठे बैठक गरेर बहिष्कार ग¥यो भन्न त पाइदैन नि । बैठकमा आएर आफ्नो कुरा राख्नुपर्छ । बैठकमा बसेर बैठकमै सहमत, असहमत सबै कुरा बैठकमा नै हुनुपर्छ ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...
Wenn Sie nach einem Casino suchen, das Adrenalin liefert, anstatt Sie in eine Marathon-Session zu verwöhnen, Hugo Casino fühlt sich...
Bienvenue à Olympe Casino : Des Frissons Rapides Vous Attendent Olympe Casino vous invite dans un univers où chaque spin...