हामीले ललिता निवास प्रकरणमा मात्र होइन कि वाइडबडीमा र अरु कुरामा दोषीलाई कारवाही हुनुपर्छ भनेर भनिरहेका छौं – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

हामीले ललिता निवास प्रकरणमा मात्र होइन कि वाइडबडीमा र अरु कुरामा दोषीलाई कारवाही हुनुपर्छ भनेर भनिरहेका छौं

रमेशजङ्ग रायमाझी–सांसद, नेता, नेपाली काँग्रेस
निकै लामो समयदेखि ललिता निवासको जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरुलाई अख्तियारले कारवाही चलाउने कुरामा वहस चलिरहँदा हालै मात्र अख्तियारले उच्च तहमा रहेका राजनीतिक तथा प्रशासनिक क्षेत्रका १७५ जना व्यक्तिहरुलाई भ्रष्टाचारको मुद्दा चलाउन थालेको छ ।

यसले गर्दा नेपालको राजनीतिमा निकै लामो समय व्यतित गरेका व्यक्तिहरुलाई ठुलो धक्का लाग्ने देखिन्छ । सत्तापक्ष र विपक्षी दलका दर्जनौ नेताहरुको नाम यो प्रकरणमा जोडिरहेको अवस्थामा सत्तापक्षको नेताहरुलाई बचाउने काम भयो भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा ओर्लिसकेको अवस्था छ ।

राजनीतिक दलका नेताहरुले नियम विपरित अनियमितता गरेको भए कारवाही हुनैपर्छ । तथापि राजा महाराजाहरुले आफूखुसी नेपालको सम्पती हिनामिना गरेका कारण नेपालको राजनीतिक परिवर्तन भएको हो । दुई सय वर्ष इतिहास बोकेको शाहवंसीय राजसंस्था समेत नेपाली जनताले जनआन्दोलन मार्फत फ्याकिदिए ।

जनआन्दोलनको भरमा राजनीतिक दलहरुले आफुलाई सरकार बनाउनेसम्मको म्याण्डेड प्रदान पाए । नेपाली जनताको म्याण्डेडलाई राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूर्तिका लागि सम्पत्ति कमाउने, ठुलाठुला महल बनाउने, ठुलाठुला उद्योगहरुमा लगानी गर्ने र सरकारी जग्गाजमिन समेत मिलीभगतको नाममा मन्त्रीपरिषद्को निर्णयबाट बाडीचुडी गर्ने कार्यलाई नेपाली जनताले पक्कै पनि स्वीर्काने छैनन् ।

त्यसैले यो ललिता प्रकरणमा दोषी नउम्किउन र निर्दोष नफसुन भन्ने हाम्रो अभियान अन्तर्गत हामीले विभिन्न समयमा समाचारहरु सम्प्रेषण गर्दै आयौ र यसैको निरन्तरताको लागि प्रमुख प्रतिपक्षी दलको भुमीका र भ्रष्टाचारको विषयमा काँग्रेस नेता, रमेशजङ्ग रायमाझीसँग नयाँ बिकल्प संवाददाता ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

ललिता निवास प्रकरणमा उच्च तहका धेरै नेताहरु, उच्च पदस्थ व्यक्तिहरु लगायत नेपाली काँग्रेस पार्टीका उपसभापति विजय कुमार गच्छादारलाई समेत भ्रष्टाचारको मुद्दा लाग्यो, यो प्रकरणमा संसदनै अवरुद्ध गर्नुभयो नि ?
यो प्रकरणमा हाम्रा पार्टीका उपसभापति विजयकुमार गच्छादारलाई भ्रष्टाचारको मुद्दा लाग्नुभन्दा पनि सरकारको जुन निकायले छानविन गरेर जसरी भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरियो त्यो सरकारको प्रभावमा परेर गरेको हो कि भन्ने आशंका हामीलाई लागेको छ । कानून सबैका लागि बराबर हो भन्ने कुरा हाम्रो संविधानले नै व्यवस्था गरेको छ, किनकी मन्त्रीपरिषद्को गठन पनि प्रधानमन्त्रीले गर्नुहुन्छ र मन्त्री परिषद्को बैठकको नेतृत्व पनि प्रधानमन्त्रीले नै गर्ने व्यवस्था छ ।

तत्कालीन अवस्थामा उही कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको समयमा एउटा मन्त्रीले ल्याएको प्रस्ताव स्वीकार्ने काम प्रधानमन्त्रीले गरेको छ । मुख्य सचिव, सचिव मार्फत् त्यसलाई स्वीकार्ने कि नस्वीकार्ने, त्यसलाई एजेण्डामा राख्ने कि, नराख्ने, भन्ने कुरा आउँछ । जो नाइके हो, त्यसलाई चाहि केही पनि नगर्ने क्याविनेटमा भएको एउटा मन्त्रीलाई मात्र कारवाही गर्ने त्यो नियत खराब भयो भन्ने हाम्रो बुझाइ हो ।

ललिता प्रकरणमा सबैलाई कारवाही गर्नुपर्छ भनेर जनदबाब सिर्जना भइरहेको अवस्थामा भ्रष्टाचारीलाई कारवाही गर भन्नुपर्ने ठाउँमा अख्तियारले गरेको ठिक छ भनेर तपाईहरुले भन्न सक्नुभएन किन ?
होइन, हामी एउटा व्यक्तिको पछाडि लागेर भ्रष्टाचारीलाई साथ दिएको होइन । तत्कालीन नेकपा एमाले पार्टी टुडिखेलबाट पार्टीका प्रवक्ता प्रदीप नेपालले यो देशको एक नम्बर भ्रष्टाचारी बामदेव गौतम हो भनेर घोषणा गर्नुभएको थियो । आफ्नै पार्टीको नेताको विषयमा, त्यो नेतालाई कुन दिन कारवाही भयो ? कुन दिन उहाँको विषयमा छानविन भयो ? काठमाडौंमा तिनवटा घर बनाउने, तिन÷चार वटा गाडी किन्ने र नाटकीय रुपमा डेरामा बसेर टेम्पोमा हिँड्ने कम्युनिष्ट पार्टीका नेताहरुको चरित्र हामीलाई राम्रोसँग थाहा छ । हामी कारवाहीको विरुद्धमा छैनौं ।

अहिले सरकारले जुन निकायबाट तपाईलाई पनि थाहा छ, नेपालका सम्पूर्ण जनतालाई थाहा छ कि जुन हिसाबले क्याबिनेटमा पास भयो र प्रधानमन्त्रीलाई आफ्नो पार्टीको नेता भएको कारणले छुदै नछुने, नेकपाको महासचिव जो हुनुहुन्छ उहाँको परिवारको नाममा रहेको सम्पत्ति नहुने र उहाँहरुलाई ढाकछोप गर्ने ? हिजोको खरिदार, सुब्बाले गरेको भ्रष्टाचारको मुद्दा अख्तियारले चलाउने अनि अख्तियारले लगायो भन्दैमा त्यो हामी फिर्ता गर्दिन्छौं भनेर मुद्दा फिर्ता लिन मिल्छ ?

सरकारले भ्रष्टाचारीलाई कारवाही गर्छु भनेर भनिरहँदा काँग्रेस पार्टी भ्रष्टाचारीलाई बचाउनुपर्छ भन्दै जुलुस निकाल्दा नेपाली जनताले के भन्लान भन्ने लाग्दैन तपाईलाई ?
त्यस्तो कुरा होइन, यो गलत कुरा हो । हामीलाई हाम्रा मान्छे भएपनि भ्रष्टाचार गर्ने जो कोहीलाई कारवाही हुँदा आपत्ति होइन । तर कुरा के मात्रै हो भने विजयकुमार गच्छादारलाई कारवाही गर्ने कुरामा हाम्रो असहमति होइन । तर कतैकतै सरकारको दबाबमा परेर अख्तियार जुन आफै स्वतन्त्र छ, स्वतन्त्र निकाय हो, त्यसले सरकारको दबाबमा परेर कतै कारवाही अगाडि बढायो कि भन्ने भनाई हो हाम्रो ।

यो प्रकरणमा सरकारको समेत गन्ध आएको हो कि ? किनभने यदि सरकारको गन्ध नआएको भए सरकारको प्रधानमन्त्रीलाई अख्तियारले भोलीनै मुद्दा दर्ता गर्दैछ भन्ने कुरा प्रधानमन्त्रीलाई कसरी थाहा भयो ? स्वतन्त्र संवैधानिक निकायले कारवाही गर्ने कुरा कसरी अगाडि नै थाहा भयो, त्यसैले यो कुराको प्रष्ट हुन्छ कि कतै प्रभावमा परेर अख्तियार फसेको त छैन । दुई तिहाइको सरकार छ, भोलि हामीलाई महाअभियोगको प्रस्ताव लगेर हटाउनु सक्छ कारवाही गर्न सक्छ । भनेर त्रासपूर्ण वातावरणमा अख्तियारले काम गरेको हो कि, हाम्रो शंका यसैमा हो ।

ललिता निवास प्रकरणमा त दोषीलाई कारवाही गर्नुपर्छ भनेर तपाईहरुले संसदमा बोल्नु पनि भयो, तर अहिले आएर भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा तपाईहरु किन डराउने, किन कराउने ?
हामीले ललिता निवास प्रकरणमा मात्र होइन कि वाइडबडीमा पनि भनेका छौं । अरु कुरामा दोषीलाई कारवाही हुनुपर्छ भनेर भनिरहेका छौं । सरकारको नियत के हो भनेर म तपाईहरुजस्ता सञ्चार क्षेत्रलाई बताउन चाहन्छु । किनकी यो भन्दा अगाडि गोकर्ण रिर्सोटको विषयमा कुरा उठ्यो, जनताले औलौ ठड्याए, तपाईहरुको सञ्चामाध्यम मार्फत् कुरा उठ्यो, संसदमा पनि हामीले कुरा उठाइम । तर त्यो कुरालाई डाइभर्ट गर्ने काम भयो ।

अर्कोतिर डाइभर्ट गरेर गोकर्ण रिर्सोटको विषयमा चर्चा परिचर्चाहरु बन्द होस् भन्नको लागि सरकारले तत्काल अख्तियारलाई प्रेसर गरेर मुद्दा दर्ता गरेको हो भन्ने लाग्छ । सरकारका नेताहरुले आफ्नो बचाउको लागि भन्ने कुरा अर्कै हो । उहाँचाहीँ के गर्नको लागि जानुभएको ? खाली उहाँ प्रधानमन्त्री भनेर रातो बत्ति बालेर अगाडि पछाडि सुरक्षा गार्ड लिएर जनताको अगाडि म ठुलो मान्छे हो भनेर देखाउन मात्र जानुभएको हो ? उहाँको त पहिलो दायित्व हुन्छ कि मुलुकमा के–के भइराखेको छ ? यो डकुमेन्ट कसरी आइरहेको छ ? यो डकुमेन्टभित्र के–के छ ? भन्ने कुरा उहाँलाई पहिले नै ब्रिफिङ्ग गरिएको हुन्छ । उहाँहरुको जिम्मेवारी नभए कसको जिम्मेवारी ?

अहिले नेपाली काँग्रेस प्रतिपक्षमा छ, प्रमुख मुद्दा प्रतिपक्षले नै उठाउनु पर्ने समयमा उल्टो भ्रष्टाचारको मुद्दामा परेका नेताहरुलाई साथ दिँदा राजनीतिक हिसाबमा कत्तिको उचित होला के भन्नुहुन्छ तपाई ?
हामीले भ्रष्टाचारको मुद्दामा नेताहरुलाई साथ दिएका नै छैनौं । सरकारको प्रभावमा जुन चिज गरियो त्यसको विरोधमा हामी छौ । भ्रष्टाचारमा को–को मान्छे छन्, तपाई हेर्दै जानुस् न यो मुलुकमा तिन वटा मात्रै काँग्रेसको नेतालाई कारवाही भयो । यो मुलुकमा भ्रष्टाचार काँग्रेसले मात्रै गरेको छ ? जति पनि भ्रष्टाचारको मुद्दामा नेपाली काँग्रेस पार्टी मात्रै जिम्मेवारी ? काँग्रेस भन्दा बढि सत्तामा कम्युनिष्टहरु बसेका छन् । कम्युनिष्ट नेताहरुको चरित्र हेर्नुस् न ! हिजोको रहनसहन र आजको खवाई हेनुस् उहाँहरुको सान हेर्नुस्, उहाँहरुले लगाएका लुगा हेर्नुस्, उहाँहरुले चढ्ने गाडी हेनुस्, उहाँहरुका महलहरु हेनुस् ।

हामीले हाम्रा भ्रष्टाचारमा परेका नेताहरुलाई कहिल्यै जोगाउन पट्टि लागेनौं । खुमबहादुर खड्का लगाएतका नेताहरु कारवाहीमा परे । गोविन्दराज जोशीको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा छ । आजसम्म कम्युनिष्टको कुनचाही नेतालाई आजसम्म मुद्दा चलाइयो र मुद्दा अगाडि बढ्यो ? कम्युनिष्टहरु आफै यो मुलुकलाई तहसनहस बनाउँदै छन्, आफै सरकारमा बसेर, काँग्रेसलाई सक्न पाए हुन्थ्यो भनिरहेका छन् । यो सरकारले अहिले केही काम गरेको छैन ।

उहाँहरुले चुनावको बेला के भन्नुभएको थियो भने नेपाली जनतालाई सुशासन दिन्छौं भन्नुभएको थियो, यही हो त सुशासन ? किनभने ३३ किलो सुन काण्डदेखी वाईडवडी प्रकरणको मुद्दालाई किन आझेलमा पारिरहेको छ । निर्मला पन्तको बलात्कार पछिको निर्ममतापूर्वक हत्या कसले ग¥यो ? खोई त्यो घटनामा संलग्न व्यक्ति ? यही कुरालाई डाइभर्ट गर्नको लागि हामीले भ्रष्टाचारको कुरा रोक्यौ । भ्रष्टाचारीहरुलाई कारवाही ग¥यौ भनेर देखाउनलाई यो सबै नाटकीय रुपमा रचेको रणनीति मात्र हो भन्ने लाग्छ ।

नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् सरकारमा गएका र निर्वाचनबाट जितेका नेताहरुको सम्पत्ति छानविन गरेर जाँदा के हुन्छ ? यसमा तपाईहरुलाई आपत्ति छ र ?
हामीलाई कुनै आपत्ति छैन । हामी त यसको पक्षमा छौं । छानविन गरोस्, कारवाही गर्नुपर्ने कुरामा कारवाही गरोस् तर पूर्वाग्राही हिसाबले कारवाही गर्नु चाहीँ भएन नी ।

उसोभए तपाईले गच्छादार माथिको कारवाही पूर्वाग्राही हो भन्न खोज्नुभएको हो ?
त्यतिबेला क्याविनेटमा बसेका अरु मन्त्रीहरुलाई चाही कारवाही नहुने, एउटा मन्त्री विजयकुमार गच्छादारलाई मात्र कारवाही किन भयो ? त्यतिबेला निर्णय गर्ने मन्त्रीहरु अरु पनि थिए नि । म त भन्छु यो कारवाही नियतवस गरिएको हो ।

हिजो उहाहरुले नेकपा, माओवादी, नेकपा एमाले र विजयकुमार गच्छादार हामी तिन वटै पार्टी मिलेर नेपाली काँग्रेस विरुद्धमा लडौं, काँग्रेसलाई धुलो चटाइदिऊ भनेर विजय कुमार गच्छादारसँग प्रस्ताव राख्दा गच्छादारले मलाई यो स्वीकार्य छैन म नेपाली काँग्रेसमा नै प्रवेश गर्छु । म काँग्रेसमा नै जान्छु । मेरो पार्टी त्यही मिलाएर त्यही काँग्रेसमा चुनाव लड्छु भनेपछि त्यो प्रतिशोधमा भएको त होइन ।

तर संवैधानिक अंग अख्तियारले पूर्वाग्रही रुपमा त्यस्तो निर्णय गर्ला र ? कसैको पनि प्रमाण विना कारवाहीको सिफारिस र मुद्दा दायर गर्न सक्छ होला र ?
अदालतमा मुद्दा छ । अदालतले हेर्ला तर उहाँहरुको जुन नियतवस जस्तो देखिन्छ । उहाँको पार्टीको महासचिवलाई उन्मूक्ति दिने, तर त्यही प्रकरणमा अर्कोलाई कारवाही अगाडि बढाउने कुराले ठुलो आशंका पैदा भएको छ । त्यसैले हामीले सदनमा पनि कुरा उठाउँदैछौं । वैधानिक रुपले हामी कुराहरु उठाउँदै जान्छौं । कतै सरकारको प्रभावमा अख्तियार फस्यो कि भन्ने हाम्रो कुरा हो । अब पनि सँधै सरकारले यस्तैयस्तै गर्दै जान्छ भने हामी जनताको बिचमा जान्छांै, सडकमा उर्लन्छौं र हाम्रा कुरा जनतालाई भन्छौं ।

त्यसोभए भ्रष्टाचारीहरुलाई बचाउन नेपाली काँग्रेस सडकमा ओर्लन्छ भन्न खोज्नु भएको हो ?
होइन, भ्रष्टाचारीलाई संरक्षण होइन । तर सरकारको रवैयाका कारण हामी बाध्य भएर सडकमा जानुपर्ने अवस्था सिर्जना हुँदैछ । संवैधानिक अंग अख्तियारलाई कसैको प्रभावमा परेर काम नगर भन्ने हाम्रा आग्रह रहन्छ । आफुलाई पदमा जोगाइ राख्न र आफु बच्ने नाममा अरुलाई कारवाही गरेर कसैको मतियार नबन भनेर होसियार गराउन हामी सडकमा जान्छौं ।

निर्दोष र दोषी के हो त्यो भोली थाहा नै हुन्छ । हामीले विधि र शासनकै विषयमा कुरा उठाएका छौं । यसरी सरकारको प्रभावमा प्रधानमन्त्रीले बोल्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गर्छ भन्ने कुरा त मैले अघिनै भनिसके । गोकर्ण रिसोर्टका कुराहरु आउने सरकारले केही गर्न नसक्ने र अहिले आएर सरकारले यति धेरै काम ग¥यो भनेर देखाउनको लागि यो सरकार पूर्वाग्राही तरिकाले नाटकीय रुपमा चलेको चाल हो ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७६ माघ २७, ०८: ३२

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७६ माघ २७, ०८: ३२

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७६ माघ २७, ०८: ३२

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...