एकराज पाठक

गत वर्ष सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्छन् भन्ने मिडिया लगभग एउटा पनि थिएन वाल स्ट्रिट जर्नलबाहेक । त्यो पत्रिकाले भने बेलाबखत ट्रम्पको पक्षमा जनमत बनाउन खाजेको जस्तो देखिन्थ्यो । बाँकी सबै हिलारी क्लिन्टनको पक्षमा । अरु त हुँदै भए, त्यहाँको स्टेट ब्रोडकास्टर सिएनएन टेलिभिजनसमेत ट्रम्पकै विपक्षमा अधिक कुर्लिन्थ्यो ।
हिलारीको पक्षमा यसरी मिडिया लागेका थिए कि मानौं यसले हिलारी क्लिन्टनलाई नै धेरै प्रचारले ‘व्याक फायर’ गर्ने त होइन भन्ने त्रास बढाएको देखिन्थ्यो । यसरी हेर्दा सारा अमेरिकी मिडिया नै हिलारीको पक्षमा थियो । त्यसैले पनि ट्रम्प जहाँ जान्थे, जे बोल्ने गर्थे त्यसको विपरित समाचार आउने गर्दथ्यो । भनेको कुरालाई त उनीहरु बंग्याउँदैनथे तर पनि ठूल्ठूला विश्लेषकरु खोज्थे र ट्रम्पले बोलेका कुरा र उनको विचारको गलत अर्थ लाग्नेगरी प्रस्तुती दिनेमात्र होइन कि प्रमाणित नै गरेर छोड्ने प्रयत्न गर्दथे ।
त्यसैले उनले मिडियाको नाम नै ‘फेक मिडिया’ भनेर राखिदिए । उनी जहाँ गएर बोल्थे पहिलो गाली मिडियालाई नै दिन्थे र उनको भाषण खिचिरहेको टेलिभिजन क्यामेरातर्फ ईंगित गर्दै ‘फेक मिडिया’ भनिहाल्थे । पछि नभन्दै परिणाम भने त्यसको ठीक उल्टो आयो । ९९ प्रतिशत मिडियाले हार्छन् भनेका ट्रम्पले नै निर्वाचन जिते । त्यसपछि त झनै मिडियालाई सराप्ने कामबाट ट्रम्प पछि हट्ने कुरै भएन । उनले अब आएर अमेरिकी मिडियाको नाम नै फेक मिडिया राखेका छन् । यो शब्दको बडो रोचक प्रयोग भइरहेको छ किनभने यसको उल्टो अमेरिकी मिडियाले नै ट्रम्पलाई चिन्ने र बोलाउने नाम नै फेक मिडिया भनेर राखिदिएका छन् । अमेरिकी मिडियाले ट्रम्पलाई चिन्नका लागि आफूले मात्र बुझ््ने भाषाका रुपमा यो शब्दावली प्रयोग गर्ने गरेका छन् ।
सन्दर्भका रुपमा नेपालको पहिलो संविधान सभा निर्वाचन वि.सं. २०६४ लाई लिन सकिन्छ । त्यस बेला सबैभन्दा ठूलो दल माओवादी बनेको थियो । तर त्यो कुराको अनुमान नेपालको मिडियाले गर्नै सकेको थिएन । माओवादी मुख्य पात्रका रुपमा जनादेशबाहेक प्रायः कुनै पनि मिडियाले त्यतिधेरै मत ल्याउला भन्ने आँकलन गरेका थिएनन् । त्यसो त देशका अरु राजनैतिक दलमात्र नभएर समाजमा पनि यो विषयको अड्कल कसैले काट्न सकेको थिएन । सबैको एउटा अनुमान थियो की पहिलो दल नेपाली कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा माओवादी हुनेछ । तर परिणाम भने ठ्याक्कै उल्टो आइदियो ।
माओवादी मुलुकको पहिलो पार्टी भयो । देशका मै हुँ भन्ने ठूला मिडियाले पनि मत सर्वेक्षण गरेका थिए । मुख्य समाचारका रुपमा आमुख पेजहरुमा विभिन्न खालका ग्राफहरु समेत बनाएर छापेका थिए । तर न समाचारको अनुमान मिल्थे न त ती ग्राफहरुको चित्रले नै सही सूचना दिन सक्यो । परिणामपछि भने सबैले अनुमानभन्दा भिन्ने परिणाम भनेर समाचार छाप्ने बाहेकको अर्को बिकल्प थिएन र त्यही गरे ।
अहिले अमेरिकी राष्ट्रपति ट्रम्पको त्यहाँका मिडियाप्रति आफ्नै धारणा छ— यहाँका मिडिया जनताको मनमा पुग्नै सकेका छैनन् । हुन पनि हो । किनभने मिडियाले कुनै पनि हालतमा जित्न सक्दैनन् भनेका थिए तर उनले जिते । ती मिडियालाई एउटा भुक्तभोगीको हैसियतमा उनले त्यो भन्न सक्ने र पाउने अधिकार राख्दछन् ।
उनको तर्क छ– अमेरिकी जनताले मलाई रोजिसकेका थिए, म जित्नेवाला थिएँ त्यसैले निर्वाचन अभियानकै क्रममा मैले जितिसकेँ, औपचारिक घोषणा हुनमात्र बाँकी छ भनेको थिएँ तर पनि मिडियाले मेरो खिल्ली उडाए, त्यसैले यी मिडिया जनताको भवनासम्म नै पुग्न नसक्ने फेक मिडिया हुन् । जनताको चाहना नबुझ्ने र उल्टै आफू अनुकूलका व्यक्तिको पक्षमा जबर्जस्त जनमत बनाउन एकोहोरो प्रयास गर्ने मिडियाका रुपमा अमेरिकी मिडियालाई उनले चित्रण गरेका छन् ।
निर्वाचन भएको वर्षदिन पुगिसक्यो, तर उनको रिस अझै मरेको छैन । कुनै भाषण दिन थाल्यो कि उनले जनताको मनमा पुग्न नसकेका फेक मिडिया भनिहाल्छन् । त्यो प्रक्रिया अहिले पनि जारी नै छ । संसारको अब्बल दर्जाको देशका साधन, स्रोत सम्पन्नहरु त यसरी जनताको मनमा पुग्न सकेका रहेनछन् भने हाम्रो देशको हालत झन हे होला ? त्यति धेरै सम्पन्न देशमा त यसरी नागरिकको मनमै पुग्न नसकेको खप्की अझै खाइरहनुपरेको छ भने हाम्रो जस्तो देशका मिडियाले झन् जनताको मन छुन सक्ने कुरा अलिक कम हुने नै भयो ।
चुनाव वास्तवमा पत्रकारहरुको विश्व्सनीयता मापन गर्ने एक सही साधन र समय पनि हो । यससमयमा सञ्चारमाध्यमहरुले के, कसरी आफ्ना कुरा राखेका छन् भनेर नागरिकले बडो चनाखो भइरहेका हुन्छन् । चुनावको समय नागरिकको सबैभन्दा बढी चासो रहेको एक अति संवेदनशील समय हो । त्यसैले पनि लाखौं मानिससँग पहुँच भएका सञ्चार माध्यमलाई पत्रकारले चुनावको बेला आफूखुशी प्रयोग गरी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गर्नुहुँदैन । यदि त्यसो भयो भने मानवीय संवेदनासँग खेलवाड गरेको ठहरिने छ । यस्तो बेलामा सञ्चार जगतको भूमिका अझ महत्वपूर्ण मात्र होइन कि बढी संवेदनशील हुने गर्दछ ।
कतिपय अवस्थामा सञ्चारमा आएका तथ्य तथ्याँकरुको आधारमानै नागरिकले मतदाताको हैसियतमा उम्मेदवारहरुका प्रति आफ्नो धारणा बनाउने गर्दछन् । यसैबाट उनीहरुले कुनै अमुक उम्मेदवारलाई स्वीकार या अस्वीकार गर्ने अवसर पनि प्राप्त गर्छन् । यसैकारण पनि सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने सूचना र जानकारी कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको नभई तथ्यमा आधारित र तटस्थ हुनु जरुरी छ । दलहरुको घोषणापत्र र नीति कार्यक्रमहरु हेरेर र त्यसका आधारमा मत हाल्ने भन्दा पनि उम्मेदवारको व्यक्तिगत विवरणका आधारमा आफ्नो उम्मेदवार छान्ने कम धेरै नागरिकले गर्ने गरेको पाइन्छन् । यसकारण पनि कुनै पनि देशका सञ्चार जगत तोकिएको र आचार संहिताको आधारमा समाचार सम्प्रेषण गर्ने गर्नुपर्दछ ।
कतिपय सञ्चारमाध्यमले त समाचार मात्रले नपुगेर अनेक नामका सर्वेक्षणहरु पनि गर्छन् र आफूले इच्छाएका उम्मेदवारका नाममा धेरै जनमत भएको देखाउने गर्दछन् । यसबाट पनि मतदातामा भ्रम पैदा गर्ने प्रयत्न हुने गर्दछ । यद्यपि त्यो सर्वेक्षणको विश्वसनीयतामा कुनै आधार भेटिदैन । धेरै सञ्चार माध्यमलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाग्रही र त्यहाँका पत्रकार हिलारीबाट प्रभावित भएको भनेर दोष लगाउने एउटा कारण यो पनि हो ।
सिएनएनले आफ्नो प्रशारणमा चुनावको दिनसम्म पनि डोनाल्डभन्दा हिलारी लोकप्रियतामा अघि रहेको देखाएको थियो । उनीहरुले गरेको मत सर्वेक्षणमा शुरुका दिनमा हिलारी लोकप्रियता ट्रम्पको भन्दा चुलिएको अर्थात् ५९ प्रतिशत पुगेको थियो । उक्त टिभीले ट्रम्पको पक्षमा जम्मा ४१ प्रतिशत मात्र देखाएको थियो । तर पछि भने उनको लोकप्रियता डोनाल्डकोभन्दा एक प्रतिशत मात्र माथि भनेर प्रशारण गरेको देखियो । आँखिर यी कुनै पनि सर्वेक्षणले काम दिएनन् ।
नेपालका प्रायः सबैजसो निर्वाचनमा यस्तै विवाद हुने गरेका छन् । वि.सं. २०३६ ताका जनमत संग्रह बहुदलवादी नेताहरुले सरकारी सञ्चारमाध्यमहरु, त्यस समयका रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, र गोरखापत्रले पनि तटस्थ रुपमा समाचार दिनुपर्ने माग गरेका थिए । त्यसै बमोजिम समाचार स्वतन्त्र रुपमा दिँदा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राससका महाप्रबन्धकको राजिनामा मागेको र राजा वीरेन्द्रले भने ती सञ्चारलाई स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता रही आएको छ ।
नेपालका सरकारी सञ्चारमाध्यमहरुको स्वतन्त्रता पनि अपेक्षित छ । तर अपेक्षित रुपमा यीनले पनि सन्तुलित समाचार दिन सकेको केही हदसम्म देखिदैन । अनि नीति क्षेत्रका सञ्चारले त झन स्वतन्त्रता वा तटस्थताभन्दा पनि मत पर्ने पार्टी वा उम्मेदवारलाई बढी मात्रामा हेर्ने गरेका देखिन्छन् । निर्वाचन आयोगको कमिकमजोरीका कारण पनि यस्तो हुने गरेको छ । आयोगले निर्वाचनका बेलामा समाचारदाता वा सम्पादकहरुलाई दिनुपर्ने अभिमुखीकरण कर्मकाण्डी पाराको हुने गरेको छ ।
दिनुपर्ने यथार्थ सूचना दिन नसक्दा तथा तालिम दिने एवं लिने पत्रकार पनि सही छान्न नसक्दा राम्रो र प्रभावकारी सूचना सम्प्रेषण हुन सकेको छैन । अर्को कुरा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गतिविधिहरुका सूचना सम्प्रेषण गर्न मिडिया सेन्टरमा राख्ने पत्रकार सरकारी सञ्चारमाध्यम या निजी क्षेत्रबाट लिँदा क्षमता भन्दा पनि भनसुनको आधारमा लिने गरेकाले पनि सूचनामा गुणस्तरीयता र सन्तुलन हुन सकेको छैन । स्थानीय तह तथा संविधान सभाको निर्वाचनका समयमानै यस्तो महसुस भएको छ ।
फेरि अर्को यथार्थ हामीसँग के पनि छ भने सूचनाको आदान प्रदानका लागि हामीसँग पत्रकारिताका परम्परागत माध्यमको अतिरिक्त अरु पनि धेरैथरी प्रविधि र विधाहरु भित्रिएका छन् । फेसबुक, ट्वीटर, ब्लग, ईमेल, इन्टरनेट च्याटिङ, यू ट्यूब लगायत संसारसामु छन् । यीमध्ये कैयौं साधनहरुमा हामी पनि पारङ्गत भइसकेका छौं । आधुनिक परिभाषाले यिनको नामाकरण ‘सोसियल मिडिया’ भनेर गरेको छ ।
सञ्चारकै विधाका रुपमा यिनको विकास भएकोले विश्व पत्रकारिता जगतले पनि यो परिभाषाप्रति कुनै आपति जनाएको छैन । विना कुनै दस्तुर सञ्चारकै विधाका रुपमा यी माध्यमहरु नागरिकसामू विकास भई आएको तथा स्वयंसेवी रुपमा सामाजिक सञ्चार गर्ने भएकोले पनि यिनलाई सोसियल मिडिया भनिएको होला । कहिँकतै अभियानलाई नागरिक पत्रकारिताको नाम पनि दिएको पाइन्छ ।
अहिले यिनको प्रभाव र प्रयोगले मानौं संसारै ढाकेको छ । प्रतिदिन प्रभावकारी बन्दैछन् यी माध्यम । सन् २००४ देखि सुरु भएको हो संसारमा फेसबुकको प्रयोग । त्यस्तै ब्लगलाई त झन पत्रकारिताकै विधाका रुपमा विकास गरिएको छ । दक्षिण कोरियाको ब्लग जर्नालिज्म विश्वकै उदाहरण बनिसकेको छ । त्यहाँमात्र हजारौं ब्लगहरु सञ्चालित छन् । नेपालमा यतिविधि नभएपनि अनलाइन मिडियाले प्रतिदिन प्रभाव फैलाउँदो छ । हामीमाझ पछिल्लो समयमा धेरै विस्तारिएको सशक्त माध्यम फेसबुक नै हो ।
यति बलियो बनिसकेका यी मिडियाको प्रयोग र उपयोग हामीले कसरी गरिरहेका छौ त ? यो चासोको खोजी अब गर्ने बेला भएको छ । अहिलेको अवस्थालाई हेर्दा हाम्रो प्रयोग त्यति सिर्जनात्मक पाइँदैन । हामीले यो सञ्चारमार्फत गम्भीर राष्ट्रिय तथा सामाजिक मुद्धामा जनमत बनाउन सकिरहेका छैनौं । हाम्रा चासोका सम्बद्ध पक्षलाई घच्घचाउन यी मिडियाको प्रयोग गर्न सक्थ्यौं । तर आफ्नोभन्दा पनि कैयौं गुणा ठूलो रफ्तारमा अमेरिकी राष्ट्रपतिको निर्वाचनताका फेसबुकहरुमा हाम्रो चासो बढेको थियो । यसले हामी आफ्नै मुद्धामा यी सजिला मिडियालाई प्रयोगमा ल्याउन सकिरहेका छैनौं भन्ने स्पष्ट देखाउँछ ।
राजनीतिक दलका राम्रा घोषणापत्र, हिजो घोषणा भएका तर पूरा गर्नुको सट्टा फेरि दोहो¥याएका, राम्रा उम्मेदवारहरुजस्ता विषयमा देशव्यापी र विदेशमा रहेका नेपालीहरुबीच फेसबुकमार्फत ठूलो अभियान थाल्न सक्छौ । लाखौंको जनमतले विचार र समस्यालाई सही दिशातर्फ डो¥याउन सक्छ । निर्वाचनलाई र यसका राम्रा पक्षहरुलाई पनि जनसमक्ष ल्याएर यसलाई सफल बनाउने अभियान हामीले फेसबुकलगायतका यी मिडियामार्फत पनि गर्न सक्छौ, जो दिनमा लाखौंको सञ्चार हुनसक्छ । विदेशतिर यस्ता कैयौं अभियानहरु फेसबुकबाटै गरिएका दर्जनौं उदाहरण छन् ।
त्यसैले यो नागरिक पत्रकारिताको सिर्जनात्मक र अर्थपूर्ण रुपले भरमग्दूर उपयोग गर्न सक्ने उचित अवसर पनि हो । तर यो अभियानलाई भए नभएका गफ लडाएर आफू र आफ्नो पक्षका उम्मेदवारहरु ढाँट्न र पैसा तिरेर बढीभन्दा बढीलाई हेर्ने बनाउन मात्र हामीले अमूल्य समय खर्चिने गरेका छौं । जहाँ कुनै आचार संहिताको कुरा आउँदैन र यसलाई सोसियल भन्ने शब्द अघि जोडिदिएर मिडिया भन्न पनि पाइएकै छ ।
निर्वाचनका बेलाको सञ्चारमाध्यमको कुरा गर्दा यो सबै कुरा हो तर केही पनि होइन भन्न सकिन्छ । माथिका दुई उदाहरणहरु ट्रम्प र नेपालको पहिलो संविधानसभाको प्रसंगलाई हेर्ने हो भने वास्तवमा मिडिया निर्वाचनका लागि केही होइन भन्न सकिन्छ ।
किनभने ती समयमा मिडियाले जे लेखे वा देखे त्यसको उल्टो मतदान गरे जनताले । यसबाट दुई वटामात्र धारणा हामीले बनाउन सक्छौं कि या ती सञ्चारले ती व्यक्ति वा पार्टीप्रति पूर्वाग्रही भएर लेखे या उनीहरु अमेरिकी राष्ट्रपति ट्रम्पले भनेजस्तै जनताको मनमै पुग्न सकेनन् । तर समय या क्रममा जेजस्ता खालका उदाहरणहरु स्थापित भएको भए पनि सञ्चारमाध्यमहरु कुनै पनि देशका नागरिकको सारथी हुन् । उनीहरुको सूचनाको आधारमानै नागरिकले धारणा बनाउने गर्दछन् । त्यसैले यसबेला आचारसंहिताको कुरा अघिपछि भन्दा अझै धेरै गर्नुपर्ने हुन्छ । अघिपछिको आचारसंहिताको कुरा गरेर निर्वाचनको समयमा हुँदैन ।
निर्वाचनको समयमा कुनै पक्ष वा विपक्षमा नउभिने, तटस्थ र स्वतन्त्र खालको सूचना सम्प्रेषण हुनु जरुरी छ । यसबाट मात्र नागरिकमाथि न्याय हुनेछ । अनि दूधको दुध र पानीको पानी छुट्याएर जनताले पार्टी या उम्मेदवारलाई मत दिन सक्छन् । त्यसैले यस बेलाको मिडियालाई समाजको सशक्त सारथीका रुपमा विकास गर्न र सबै नागरिकले सही सूचना प्राप्त गर्नका लागि पनि निर्वाचन आयोगले यस्तै खालको सशक्त मिडिया नीति बनाउनु आवश्यक छ । (साभारः संहिता नामक पुस्तकबाट)
काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...
काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...