मणिबाबुलाई सम्झिँदा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

मणिबाबुलाई सम्झिँदा

डा. गुरुप्रसाद सुवेदी

मिति २०७३ पुस २८ गते बिहान एफ एफ.एम रेडियोबाट प्रसारित समाचारले मलाई अचानक स्तब्ध बनायो । समाचार थियो–पत्रकार महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणिराज उपाध्यायको ९४ वर्षको उमेरमा हिजो राती ८ः०० बजे गङ्गालाल अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन । यो समाचार सुन्नासाथ मेरा मनमा मणिराजजीसँगका विगतका सान्निध्यका क्षणहरु एकपछि अर्को गरी पालैपालो स्मृतिपटलमा आउन थाले । त्यो दुःखद समाचारले एकछिनका लागि मलाई झस्कायो ।

तर मैले तत्काल सोंचे–मृत्यु त अवश्यम्भावी हो, यहाँ पनि त्यही भयो जो अवश्य हुनु थियो जसको विकल्प थिएन । अब उहाँ हामीसँग हुनुहुन्न तर उहाँले दिएका प्रेरणाका भावहरु स्मृति बाँकी छ । उहाँको आदर्श बाँकी छ र उहाँले दिएका प्रेरणाका भावहरु बाँकी छन् । पछाडिको पुस्ताले आफ्ना पूर्वजबाट केही राम्रा कुरा सिक्न र अनुशरण गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । यिनै भाव सहित आज म उहाँप्रति हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्छु र उहाँसँगको सान्निध्यका केही क्षणहरुको चर्चा गर्न चाहन्छु ।

पहिलेदेखि मैले मणिराज उपाध्यायलाई भक्तिमार्गका एक मर्मज्ञ, रसिक साधकको रुपमा चिनेको थिएँ । विगत २५ वर्षभन्दा पहिलादेखि मणिराज उपाध्यायजी आफ्नी ममतामयी माताजीसँगै देवघाटको एउटा सानो कुटीमा बस्नुहुन्थ्यो । आमाको इच्छा पूरा गर्नुपर्छ भन्ने कर्तव्यबोधले नै मणिराजजीलाई देवघाटतर्फ डा¥यएको हुनुपर्छ भन्ने मलाई लाग्छ । मणिराजजीकी आमा सुलक्ष्मी पनि श्रीमद्भागवत् कथाप्रति अतिश्रद्धा गर्नुहुन्थ्यो । आमाले मलाई पनि निकै श्रद्धा र स्नेह गर्नुहुन्थ्यो । बेलाबखतमा आफ्नो कुटीमा बोलाएर भागवत्का श्रीकृष्णलीलासम्बन्धी कुनै प्रसङ्गको चर्चा गर्न लगाउनुहुन्थ्यो । आफू पनि भावुक बन्नुहुन्थ्यो । र अरुलाई पनि भावुक बनाउनुहुन्थ्यो ।

पछि उहाँको देहावसान भयो । त्यसपछि मणिराजजीको देवघाटमा अरु नियमित बसाइ हुन थाल्यो । त्यतिखेर काठामाडौंबाट आएका भक्तहरुको एउटा ठूलै समूह थियो । चितवनतर्फ देवघाटमा । नानु दिदी, बद्री प्याकुरेल, ज्ञानु दिदी, अर्जेल्नी आमा, आम्बु, दीपा, अञ्जु, दमयन्ती, माधवी, सुभद्रा, राधा, श्याम, बिन्दु, रेबन्तकुमारी, डा. द्वारिकाजी, कालिकाप्रसाद, खिलप्रसाद, होमकुमारी मिश्र, भरत मिलन लामिछाने, रञ्जन रञ्जु आचार्य आदि । भगवन्नामरसका रसिक कविप्रसाद गौतमज्यूको सङ्गतले होला उहाँहरु प्रायः सगुण भक्तिधारामा रमाउनुहुन्थ्यो । श्रीकृष्णलीला सम्बन्धी धेरै रहस्यका कुरा बुझ्नुभएको पनि थियो ।

रसिकहरुको त्यो समुदायलाई देखेर प्रसन्न हुने र रस विस्तार गर्ने मेरा पूज्य पिताजी श्री पं. कमलाकान्त सुवेदीले हरिमन्दिरमा नित्य श्रीमद्भागवत्को कथा भन्नुहुन्थ्यो । भागवत्कथा कहिल्यै पनि नछाड्ने रसज्ञ स्रोता हुनुहुन्थ्यो मणिबाबु अर्थात् मणिराज उपाध्याय । अर्का पं. गदाधर घिमिरे र कृष्णप्रसाद रेग्मी जो दुवै अब हामीमाझ हुनुहुन्न । उहाँहरु पनि भागवत्का मर्मज्ञ विद्वान हुनुहुन्थ्यो । भक्त र भागवत् सबैको जमघट भएको त्यतिखेरको त्यो एउटा अविस्मरणीय देवघाट थियो ।

यो वारि (चितवन) तर्फको देवघाटको सत्सङ्गमा हरेक हप्ता महेश सन्यास आश्रमका डा. स्वामी रामनन्द गिरीजी पनि आउनुहुन्थ्यो र भक्तिपरक रहस्यको चर्चा गर्नुहुन्थ्यो । कहिलेकँहि त स्वामीजी पनि विचित्र तरिकाले भक्तिधारामा प्रवाहित हुनुहुन्थ्यो । मधुसूदन सरस्वतीको भगवत्भक्ति रसायन प्रवचनको आधारग्रन्थ हुन्थ्यो । नानु दिदीसँग त कहिलेकहिँ धुमधामसँग सैद्धान्तिक वहस पनि हुने गथ्र्यो ।

भक्तिधाराको मात्र पक्ष लिने नानुले स्वामीज्यूसँग तपाईको वेदान्त शुष्क हो भन्ने र स्वामीज्यूले तिम्रा कृष्ण तिम्रो श्याम सुन्दरको लीलारहस्य सुन भन्दै भक्तिधाराको चर्चा गर्ने गर्नुहुन्थ्यो । त्यसपछि यी सबै कुराका बीचमा रहेर कम बोलेर पनि भक्तिधाराको पक्ष लिने तर कृष्णलीला सम्बन्धी गहन चिन्तन प्रस्तुत गर्ने पालो मणिबाबुको हुन्थ्यो । स्वामीज्यूको वेदान्त प्रवचनमा प्रकट हुने भक्तिरसबाट मणिबाबु निकै प्रभवित हुनुहुन्थ्यो । मणिबाबुसँग स्वामिज्यूको निकै आत्मीयता थियो ।

स्वामिज्यूसँगको आत्मीयताले नै हुनुपर्छ स्वामीज्यूको वेदस्तुतिको प्रवचन पूरै मणिबाबुले रेकर्ड गराउनुभएको थियो । त्यतिमात्र होइन तत्कालिन क्यासेटमा रेकर्ड गरिएको त्यो प्रवचनलाई एक एक औलाले प्ले गराएर पूरै कपिमा लेखेर मणिबाबुले उर्तानुभएको थियो । त्यसको सम्पादन गर्न मलाई अनुरोध भएको थियो । मैले केही काम गरेको पनि थिएँ । तर पछि त्यसको प्रकाशन भने हुन सकेन ।

मणिबाबुसमेतका काठमाडौं निवासीहरुको प्रायः गर्मी र वर्षाको मौसममा काठमाडौं बस्ने र शरद्, हेमन्त र शिशिर ऋतुमा देवघाटमा बस्ने ऋतुचर्या चल्दै आएको छ । २०५९ सालको हिउँदमा यहाँ आउँदा मणिबाबुले एउटा पुस्तकको उपहार ल्याउनुभयो । त्यो उहाँकै श्रीकृष्ण र गोपीहरुको रामलीलासँग सम्बन्धित रामपञ्चाध्यायी थियो । केही वर्षपछि उहाँको अर्को नवरत्न भन्ने पुस्तक पनि आयो । यी दुई रचनाले उहाँलाई श्रीमद्भागवत्को भावरसमा अवगाहन गर्ने कुशल भावुक भक्तको रुपमा चिनाउँछन् ।

म देवघाट क्षेत्र विकास समितिको अध्यक्ष भएको बेला मैले देवघाटको भौतिक विकासका सम्बन्धमा राय लिँदा मणिबाबुले देवघाटको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै देवघाटको प्राकृतिक विशेषतालाई जोगाउने किसिमको विकास चाहिन्छ भन्नुभएको थियो । पहिलो देवघाटमा साङ्लो वा ताल्चा लगाउने चलन थिएन । चोरी चकारी हुँदैनथ्यो । शान्त वातावरण थियो । अहिले क्रमशः देवघाटको पहिचान बदलिँदै गएको छ । व्यापारिक देवघाट बन्न लागेको छ । यसमा सुधार गर्नुपर्छ । देवघाटलाई छिट्टै जोगाउनुपर्छ । यो कुरा उहाँले देवघाटदर्पण अङ्क १ मा प्रकाशित देवघाटबारे भन्नुपर्दा भन्ने लेखमा अभिव्यक्ति गर्नुभएको छ । देवघाट तपोभूमिको रुपमा चिरकालपर्यन्त सुरक्षित रहनुपर्छ, भौतिक उन्नतिको नाममा विकृति फैलाउनुहुन्न भन्ने उहाँको विचार थियो ।

पछि शारीरिक अस्वस्थता बढेपछि मात्र मणिबाबुको देवघाटको बसाई पातलिन थालेको हो । डेड वर्ष पहिले डिल्लीबजारमा अवस्थित उहाँकै घरमा हाम्रो भेट भएको थियो । नियतिले त्यही भेटलाई अन्तिम भेट बनायो । यी मेरा स्मृतिपटलमा रहेका मणिबाबुका केही स्मृतिचित्रहरु हुन् ।
मणिबाबुको अर्को पहिचान भनेको आदर्श पत्रकारिता हो । मणिबाबु २००७ सालपछिको नेपालमा पत्रकारिताको जरा बसाल्ने तत्कालीन पत्रकारहरुको सानो समूहमा पर्नुहुन्छ । उहाँका समकालीनहरुमा हामीले चिनेजानेका मध्ये अब कोही–कोही हुनुहोला । ९४ वर्षको उमेरमा मणिबाबु पनि परलोक हुनुभयो । उहाँको अवसानसँगै पत्रकारिताको आदर्श पनि डग्मगाउँछ कि भन्ने डर लागिरहेको छ । स्वार्थ, पक्ष विपक्ष र राजनीतिको दुष्प्रभावले पत्रकारितालाई धमिल्याउनु हुँदैन भन्ने उहाँको चाहना थियो ।

उहाँको चाहना पूर्ण भइदिए हुन्थ्यो भन्ने हाम्रो पनि चाहना हो । चितवनको पत्रकार समूहले मणिबाबुलाई चिन्यो वा चिनेन, थाहा छैन । वास्तवमा कसैले पनि इतिहास बिर्सिनुहुन्न । मणिबाबुको स्मृतिलाई ताजा बनाइराख्न चितवनको पत्रकार समूहले देवघाटमा रहेको उहाँको विश्रामस्थलमा केही राम्रा काम गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, शारीरिक रुपमा मणिबाबु अब हाम्रो सामु नभए पनि उहाँको आदर्श हाम्रँ सामु अमर बनेर रहेको छ । अतः उहाँका अनुयायीहरुले उहाँको आदर्शको अनुसरण गरुन् । उहाँलाई शाश्वत् शान्ति प्राप्त होस् र उहाँको व्यष्टि आत्मा समष्टि श्रीकृष्ण परमात्मामा समाहित बनोस् भनी उनै अन्तर्यामी भगवान् श्रीकृष्णसँग प्राथना गर्दै यी मणिबाबुप्रतिका स्मृति शब्दावलीहरुलाई यही विश्रान्ति दिन्छु । अस्तु ः (साभारः मणिराज उपाध्यायद्वारा लिखित पत्रकारिताका सतिसाल नामक पुस्तकबाट मिति २०७५ साल बैशाख २३ गते राष्ट्रिय पत्रकारिताको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार राज्य मन्त्री गोकूल प्रसाद बाँस्कोटाले एक समारोहकाबीच विमोचित गर्नुभएको पुस्तकबाट)

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ जेष्ठ ७, ०९: २४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७५ जेष्ठ ७, ०९: २४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७५ जेष्ठ ७, ०९: २४

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...