शोभाका लागि लगाएको फूलबाट आम्दानी गर्दै गृहिणी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

शोभाका लागि लगाएको फूलबाट आम्दानी गर्दै गृहिणी

काठमाडौं–तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि त्यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो ।

तिहारअघि फूल खोज्दै बस्ती÷बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ ।

यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भनिन्, “फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो ।”

वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको बताईन् ।

यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि त्यहाँका सर्वसाधारण गृहिणी व्यावसायिकरूपमै फूल खेती गर्ने टुङ्गोमा पुगेका छन् ।

यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको धुइरो लागेपछि अब चाहिँ फूल खेती व्यावसायिक रूपमै गर्न गृहिणीहरुको रहर जागेको हो ।

तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन् ।

“तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रे’छ” बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भनिन्, “यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक व्यापारीले चार हजार दिन्छु भनेर बैना दिएर गा’छन् ।”

आर्जनका लागि नभई शोभाका लागि लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाहिँ तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमायाको भनाइ छ ।

घर करेसा वरपर शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०÷३५ जति बोटका सयपत्री फूलको तीनहजार दिन्छु भनेको जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठ बताउछिन् ।

करेसाबारी र घरआँगन वरिपरिकै फूलका बोटबाट दीपमायाले तीनहजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूल खेती गर्ने निर्णय गरेका छन् ।

अहिले तिहारअघि फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ÷नगर बस्तीमा लर्को नै लागेको छ । पर्व विशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारु बताउछिन् ।

जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने भर्खरै जिल्लामा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउछन् ।

किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे यस्ता सहयोग बढाइने केन्द्रले जनाएको छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा केही वर्षयता व्यावसायिक रूपमै फूल खेती गर्दै आएका छन् । आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बनौटा र पडौलका किसानको भनाइ छ ।

यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसान बताउँछन् । त्यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको बनौटाका किसान फूलदेव महतो बताउछन् ।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रासस

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक २१, १०: ३९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ कार्तिक २१, १०: ३९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ कार्तिक २१, १०: ३९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...