प्लान्टबाट अस्पतालको शैय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्लान्टबाट अस्पतालको शैय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान

नयाँ विकल्प
म्याग्दी–म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शैय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।

अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शैय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शैय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिए ।

आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शैय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ ।

“उत्पादन केन्द्रबाट सबै शैय्यासम्म अक्सिजन आपूर्ति गर्ने पाइप जोडिएको छ ।” “आवश्यकताका आधारमा चिकित्सक र स्वास्थ्यकर्मीको सुझावअनुसार बिरामीले शैय्यामै अक्सिजन पाउँछन्, सिलिण्डर भरेर ओसार्नु पर्दैन ।”

पाइपबाट शैय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए ।

“श्वासप्रश्वास, आइसीयूमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ ।” “गत पुस महिनादेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।”

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शैय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको हो । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा. कँडेलले बताए ।

हाल १० वटासम्म सिलिण्डर भर्ने डा. कँडेलले बताए । अस्पतालमा अहिले दैनिक २० देखि २५ श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ ।

एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए ।

“सामाजिक विकास मन्त्रालयले गत आवमा रु ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो ।”

“सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएको छ ।”

मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । अक्सिजन उत्पादन केन्द्र र औषधि बिक्रीकक्षको बिहीबार सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरेकी थिईन् ।

लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगतरूपमा रु तीन लाख ५१ हजार खर्चेर औषधि बिक्रीकक्षको भवन निर्माण गरेका हुन् ।

धवलागिरि गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु ३० लाखबाट सघन उपचारकक्षमा एक भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको छ ।

वि.सं २०७२ मा ५० शैय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शैय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको थियो ।

गत साउन महिनादेखि मिर्गौलाको डायलासिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचारकक्षसमेत सञ्चालन गरेको छ । फोहोर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ ।

पचास शैय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ । रासस

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ फाल्गुन २८, १२: ४३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ फाल्गुन २८, १२: ४३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ फाल्गुन २८, १२: ४३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...