
नयाँ विकल्प
म्याग्दी–म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।
बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय गरिएको बताए ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।
त्यसैगरी बेनी अस्पतालमा स्वास्थ्यजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाइ गरिने भएको छ । काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वारेन्टिनमा नराखी काममा खटाइएको अवस्थामा सम्बन्धित कम्पनी तथा व्यक्तिलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकमा सहभागी केही प्रतिनिधिले भने विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने तर विभिन्न ठाउँमा मानिसको भीडभाड हुने मेलाजात्रा र महोत्सव नियन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णयप्रति असहमति जनाएका छन् ।
राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रहविपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरू अनुकूलको निर्णय गरिएको भन्दै असन्तुुष्टि जनाएका छन् ।
दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । यसैगरी फागुपूर्णिमा पर्वको अवसरमा पनि गाउँगाउँमा मेला आयोजना भएका छन् । रासस
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...