मुलुक झनझन अस्थिरतातर्फ नजावस्…… – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मुलुक झनझन अस्थिरतातर्फ नजावस्……

१. नयाँ नयाँ रहस्य फेला पर्दैछ …..
नेपालमा भदौ २३ र २४को आन्दोलन अभूतपूर्व नै थियो । करिब २७ घण्टामा नै एउटा स्थिर भनेर मानिएको करिब दुई तिहाई सांसदहरुको समर्थन भएको सरकार अपदस्त हुने वातावरण बनेको थियो । एउटा सुनामी जस्तै आन्दोलन थियो जसले सरकारमात्र बढारेन, नेपालका महत्वपूर्ण स्थानहरु जलाइए, व्यक्तिका घरहरु लुटिए अनि जलाइए । छानी छानी जलाइए । सुशासनका कुरा गर्दा भिडले धेरै जोखाना त हेर्दैन तर पनि जुन तथ्यहरु उजागर हुन थालेका छन्, तिनले षढयन्त्र लामो समयदेखि पो थियो कि भन्ने अनुमान गर्न थालिएको छ । नेपाल प्रहरी नै सबैभन्दा बढी निसानामा परेको हो र उसका हजार थानभन्दा बढी हतियार हराएका छन्, हजारौ प्रहरी आफ्ना पेसागत केन्द्रबाट विस्थापित भएका हुन् अनि सबै दोष जति प्रहरीलाई थोपरेर मुलुकमा अराजकता अझै फैलाइँदैछ ।

त्यसो त आन्दोलनका उपज सरकारले समेत अनावश्यक घुसपैठ भएर ठुलो क्षति बेहोर्नु परेको बताउन थालेको छ । अब सरकारमा हुनेहरुले पनि के कुरालाई आत्मसात् गर्नुपरेको छ भने अपराधी तत्व कसैको पनि हुँदैन उसको नियत समाजमा अराजकता फैलाउनु नै हुन्छ चाहे त्यो वहुमतको सरकार होस् या अन्तरिम सरकार होस् । २४गतेको अराजकताको तयारीका लागि भएका छलफल पनि अब बाहिर आउन थालेको छ र स्थिति अझै भयावह नै छ भनेर पर्यवेक्षकहरु भन्न थालेका छन् । एकातिर डर समाजमा देखिन्छ भने सधैँ डराएरमात्र पनि समाज गतिशील हुँदैन भन्ने पनि उत्तिकै सत्य हो । त्यसैले भदौ २३ र २४गतेका घटनाहरुको छानबिन गर्न गठित आयोगले पनि सत्यतथ्यप्रति ध्यान दिएर प्रतिवेदन दिएन भने देखी जान्ने , भोगी जान्नेहरुका अनुभवविरुद्ध गलत आरोपसहित प्रतिवेदन आएमा मुलुक झन अस्थिरतातर्फ जाने निश्चित छ । त्यसैले विना दबाब नेपाल प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्छ जसले लुकेका रहस्यहरु जुन साइबर अपराधसँग सम्बन्धित छन् , बाहिर आउन सक्नेछ । २४ भदौको आन्दोलनको सुनामी स्वतःस्फूर्त थियो कि बनी बनाउ थियो भन्ने कुराको विवाद सधैँ रहने र एकअर्कालाई दोषारोपण भइरहने अवस्था सृजना हुनुभन्दा सत्यतथ्यको उत्खनन हुनु आवश्यक छ । देखिएको भन्दा फरक रहस्यको अवस्था भने त्यसको पर्दा खोल्नुपर्छ र मुलुकले एउटा सही मार्गदर्शन पाउनु पर्छ । त्यस्तो रहस्य प्रहरीले , अनुसन्धान विभागले र सेनाको गुप्तचरले पनि पत्ता लगाउनु पर्छ ।

मुलुकको अवस्थालाई सधै अस्थिरतामा राख्नु हुँदैन त्यसैलै जे छ रहस्य, त्यो त खुल्नुपर्छ । जस्तो कि जेनजी भनेर धम्क्याउनेहरु अब प्रहरीको कब्जामा आउन थालेका छन् , उनीहरुको डिस्कर्ड छलफल बाहिर आउन थालेको छ । सर्वोच्च सहितका उच्च र जिल्ला अदालतहरु, नेपालभरका प्रहरी कार्यालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानी छानी फाइलहरु जलाउने गरी आगजनी भएको, कतिपय व्यक्तिगत सम्पत्तिको लुटपाटका सामानहरु फेला पर्न थालेका भन्ने समाचारले पनि केही संकेत गरेकै मान्नुपर्छ । रहस्यलाई ढाकछोप कसैले पनि नगरौँ र सही अनुसन्धानका लागि तोकिएका राज्यका निकायहरुलाई स्वतन्त्ररुपमा अनुसन्धान गर्न दिउँ ।

२.आम निर्वाचन र दलहरुको कर्तव्य
नेपाली समाजमा दलहरुप्रतिको भाष्य कस्तो देखिन्छ भने कोही पनि दलको नाम सुन्न पनि चाहँदैनन् । दलका मानिसहरु पनि छाती ठोकेर हामी ठिक थियौँ तर हाम्राबारेमा गलत भाष्य बनाइएको हो भन्न पनि सक्दैनन् ।त्यसो हुनुमा दलहरुभित्रकै ठेकेदारी प्रथा र एक्लो निर्णयको प्रतिफल हुुनुपर्छ । दलमा नाइकेहरु र उनका आसेपासेहरुले आफैँलाई राज्य ठान्दा यो अवस्था आएको हो भन्न किन हिचकिचाउने र ? तर पनि वहुलवाद भनेको कुनै व्यक्ति या समूहमात्र होइन, असल प्रवृत्तिको समाज हो , त्यसमा रहेका अनेक वुद्धि र क्षमताको सामूहिक प्रयोग र अभ्यासले देशको विकास र देशबासीको हित गर्ने हो । त्यसका लागि दलीय आवश्यकता पर्छ जसले विचारको प्रतिनिधित्व गरेको हुन्छ ।

आम निर्वाचनको घोषणा गरिसकेको अवस्था छ फागुन २१गते अनि सबैको सरोकार भनेको शान्तिसुरक्षाप्रति छ । क्रिया, प्रतिक्रिया , वाद , प्रतिवादले दलहरु निर्वाचनका लागि तयार हुने हो तर कतै निषेधको गन्ध आयो भने मुलुक २००७सालदेखि २०१५सालसम्मको अवस्थामा फर्कने पो होकि भन्ने डर सुरु भएको छ । यदि आपसमा बसेर निर्वाचनलाई सम्पन्न गर्न सकिएन भने त्यसले झन अस्थिरता निम्त्याउने छ । यसमा सरकार सजग हुनैपर्छ । आन्दोलनबाट क्षति पुगेको अर्को पक्ष पनि विस्तारै सडकमा आउने छ र आन्दोलनकारीसँग भिड्ने पनि डर देखिन्छ । राजनीतिको नयाँ नयाँ प्रयोग हुँदा मुलुकलाई झनझन अप्ठेरो पर्नसक्छ । यसमा सरकार चनाखो हुनैपर्छ । जसरी हुन्छ शान्तिसुरक्षाको प्रबन्ध गरियोस् र मात्र निर्वाचनको प्रत्याभूति सम्भव छ ।

३. र अन्त्यमा, चाडहरुको समयमा सबैलाई शुभकामना
तिहारको रमझम सुरु भइसकेको छ । यहीभित्र नै नेपाल सम्बत् ११४६को नयाँ वर्ष सुरु हुनेछ र हामी नेपालीहरुलाई तिहारको उज्यालो चाडको र नेपाल सम्बत्को नयाँ वर्षको शुभकामना । यसैपछि लगत्तै छठीमाताको उपासना गरिन्छ जसलाई हामी छठ भन्छौँ, षठीमाताले हामीलाई वरदान दिऊन् सबैको भलो होस् । तिहारमा भाइतिहारको शुभकामना । भनिन्छ, तिहार उज्यालोको प्रतीक हो, धनधान्यको आराधना गर्ने चाड हो धनकी देवी लक्ष्मीको उपासना गर्ने । दाजुभाइ र दिदीवहिनीका बिचमा सद्भाव बढाउने अनि ह्म पूजा गरे आफ्नौ पूजा गर्ने । ब्रह्मप्रति आराधना गर्ने । सबैलाई यो चाडको शुभकामना । नयाँ वर्षको शुभकामना । छठीमाताले हामी सबैलाई आशीर्वाद दिऊन् । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

 

सम्बन्धित समाचार

उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
  • २०८२ कार्तिक ३, १६: ४२

उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८२ कार्तिक ३, १६: ४२

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०८२ कार्तिक ३, १६: ४२

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...