“जनै धारणको महत्व” – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

“जनै धारणको महत्व”

रमेश कुमार महत

साउन शुक्ल पुर्णिमाको दिन जनै पुर्णिमा अर्थात रक्षा बन्धन गर्ने पर्वको रुपमा मानिन्छ । हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । सनातन हिन्दू धर्मको चाडपर्वहरु प्रकृति र जीवन जगतसँग जोडिएको हुन्छ । आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । हिन्दु ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहिआएको छ ।

यसलाई यज्ञसूत्र वा ब्रह्मसूत्र पनि भनिन्छ । ब्रह्मतत्व र वेदतत्वको ज्ञान गराउने यो सूत्र (धागोको समूहबाट निर्मित जनै) परम पवित्र र प्रजापति ब्रह्माको उत्पत्तिसँगै प्रकट भएको पवित्र बस्तु हो । धर्मशास्त्र अनुसार जनै धारणको ईतिहास र जनैको उत्पत्ती सृष्टिकर्ता ब्रह्मासँगै भएको मानिन्छ ।

बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

जनैको महत्व :

यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेेेशभूषा हो ।
एउटा जनैमा तीन धागोको डोरा वा सूत्र हुन्छन् । यि तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीनगुण, पृथ्वी-अन्तरिक्ष र द्यूलोक गरी तीन लोक , ईश्वर, जीवात्मा र प्रकृति आदिका प्रतिकरा रुपमा जनैमा तीन डोरा वनाईएको छ ।
जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहँदा मात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ ।

जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।

तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात शरीर, वाणी र मनलाई संयममा राख्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ । सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरू देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ ।

शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, सम राख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र ‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनुपर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।

‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा (तत्वज्ञान) प्राप्त गर्नु पर्छ ।

जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ ।

जनैका तीन सूत्रले परमात्मा, जीवात्मा र प्रकृति यी तीन अनादिसत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । यसैगरी म को हुँ, कहांबाट आएको हुँ, मलाई कहाँ जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ ।

प्रत्येक मनुष्यलाई जन्मदैदेखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुने वा उऋण हुने निरन्तर प्रयत्न गर्नुपर्दछ । माता-पिताले जन्म दिएर लालन-पालन गरी सन्तानलाई हुर्काउछन् ।

वायु, अग्नि, जल, पृथ्वी, सूर्य, चन्द्र आदि देव हुन् । हामिले दिनहु उपयोग गर्ने यि प्रकृतिक शक्तिको ‘देव यज्ञ’ गरेर यिनलाई (वातावरणलाई) शुद्ध गरी देवऋणबाट उऋण हुनुपर्छ । समस्त इन्द्रियहरूको सदुपयोग जानेर तिनलाई दृढ बनाउनु र तिनको ठीक प्रयोग गर्नु पनि ‘देवऋण’ तिर्नु हो ।

ठूलाको आदर सम्मान, बराबरीहरूकासंग प्रेम र साना माथि दया माया र ममता प्रदर्शन गर्नेछु । यस प्रकार जनैका तीन डोरा विज्ञानमय महत्व रहि आएको छ । यस्ता अनेकौं महत्वपूर्ण कुराहरूको दिव्य आदर्श जनैले प्रस्तुत गर्दछ ।

तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बाँधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउँदछन् कि हामीले यस संसारबाट निस्कनु छ, मुक्त हुनु छ । संन्यासी संसारको माया, मोह र ममताबाट निक्लेर जान्छ । यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ ।

किन जनै संग गायत्री मन्त्रको सम्वन्ध जोडिएको छ ?
“ओ३म् भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।।”
अर्थः ॐ । प्रणव
भूर । मानवलाई प्राण दिने
भुवः । दुख़ नाश गर्ने
स्वः । सुख़ प्रदान गर्ने
तत । सुर्य भन्दा पनि उज्वल
वरेण्यं । सबैभन्दा उत्तम
भर्गो । उद्धार गर्ने
देवस्य । प्रभु
धीमहि । आत्म अनि मनको योग्य
धियो । बुद्धि, यो मेरो
प्रचोदयात् । हामीलाई शक्ति दिनु । यिनै गायत्री मंन्त्रोच्चारणमा जनैको प्रयोग हुन्छ ।

प्राचीन कालमा पुरूषहरू सरह स्त्रीहरूलाई पनि जनै लगाउने अधिकार थियो । अध्ययन अध्यापनमा कुनै भेद-भाव थिएन । अशल अनुसरण सबैले गर्दा कुनै फरक पर्ने छैन ।
जनै पुर्णिमा अर्थात् रक्षा बन्धनको शुभकामना ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७९ श्रावण २७, १२: ०४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७९ श्रावण २७, १२: ०४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७९ श्रावण २७, १२: ०४

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...