
१. उप प्रधान मन्त्री उपेन्द्र यादव अध्यक्ष रहनु भएको संघीय समाजवादी फोरम र पूर्व प्रधान मन्त्री डाक्टर बाबुराम भट्टराई संयोजक रहनु भएको नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी, नेपाल बनेको छ र त्यसमा पनि दुई जना अध्यक्षको व्यवस्था गरिएको छ । डाक्टर भट्टराईलाई परिषदको अध्यक्ष र यादवलाई दलको कार्यकारी अध्यक्ष बनाइएको छ । नयाँ दले आफ्नो दललाई वैकल्पिक शक्तिको रुपमा प्रक्षेपण गरेको पाइन्छ ।
२. बहुदलीय व्यवस्थामा, संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संसदीय व्यवस्थालाई मानेर दलहरु खोल्नु वा जोडिनु सामान्य प्रजातान्त्रिक प्रक्रिया हो । यसलाई धेरै दलहरुको व्यवस्थापनभन्दा थोरै दलहरुले गर्नुपर्ने व्यवस्थापन चुस्त हुने भन्ठानौँ । नयाँ शक्ति पार्टी राष्ट्रिय पार्टीको रुपमा जनताबाट स्वीकृत हुन सकेको थिएन संविधानको प्रावधानअनुसार । अहिले फोरमसँगको गठबन्धनले डाक्टर बाबुराम भट्टराईमात्र साँसद रहनु भएको नयाँ शक्ति पार्टी पनि प्रकारान्तरले राष्ट्रिय दलमा परिणत भएको छ ।
हुन त आजको प्रमुख सत्ताधारी दल नेकपा(नेकपा)को पहिलेको माओबादी दलको दोस्रो ठूलो नेता हुनुहुन्थ्यो र त्यही दलको नाममा प्रधानमन्त्री समेत हुनु भएको थियो । आफू प्रधानमन्त्री हुँदा संविधान बनाउने कुरामा फिटिक्क कुनै प्रगति गर्न नसकेको कुरा इतिहासमा स्पष्ट छ ।
३. बाबुरामजीको प्रवेशपछि समाजवादी दलमा सरकारमा बस्ने कि नबस्ने भन्ने बहस सुरु भएको छ । सबैले अनुमान गरेका छन् —यदि यो सरकारको विकल्पमा नेकपाभित्रैबाट अर्को तयार हुने बेलामा बल्ल सरकारमा निरन्तर रहने कि बाहिर बसेर समर्थन वा विरोध गर्ने भन्ने कुराको निर्णय होला, नत्र तत्कालै भनेको सरकार छोड्ने जस्तो देखिँदैन ।
४. दुईओटा दल मिले पछि पनि उप प्रधानमन्त्री यादवमा खासै परिवर्तन देखिएको छैन राजनीतिक रुपमा तर डाक्टर भट्टराईमा भने जोस थपिएको छ । एउटा कुरा चाहिँ के सत्य हो भने नेपाली काँग्रेसले डाक्टर भट्टराईलाई प्रत्यक्ष सहयोग गरेर साँसद बनाएको हो । सायद उहाँले आफ्नो अहम जोगाउन पनि काँग्रेससँग सहयोग मागेर जित्नु भएको थियो । सँसदीय निर्वाचनताका एउटा कुरा स्पष्ट आएको थियो —काँग्रेसले डाक्टर बाबुरामजीलाई मत मात्र मागेन, आफ्नो कुनै उम्मेदवार नउठाई विनाशर्त सहयोग गरेको थियो तर उहाँले अर्को क्षेत्रमा काँग्रेसलाई मत माग्नु भएन भनिन्थ्यो । त्यो काँग्रेस र नयाँ शक्ति पार्टीले जान्ने कुरा हो ।
तर राजनीतिक वृत्तमा त्यो बेला पनि अचम्भ मानिएको थियो —कसरी काँग्रेसले डाक्टर बाबुराम भट्टराईलाई आफूले जित्न सक्ने ठाउँमा पनि छोड्यो ? जित्न सक्ने किन पनि मानियो भने बाबुरामजीका विरुद्धमा त उहाँकै सहकर्मी कम्युनिस्ट नेता नारायण काजी उठ्नु भएको थियो । या भनौ बाबुरामजीको केही मत र काँग्रेसको सबै मतले उहाँ जित्नु भयो । अनि पर्यावेक्षकहरु ठान्दथे—अब सँसदमा बाबुरामजीले काँग्रेसको एजेन्डामा आफूलाई लैजानु हुनेछ । तर काँग्रेसले न त कुनै शर्त राखेको पाइयो उहाँसँग , न त कुनै अपेक्षा नै गरेको पाइयो । त्यस्ता धेरै नेताहरुलाई ठाउँ छोड्दै छोड्दै काँग्रेस अल्पमतमा रह्यो सँसदहरुमा ।
५.अहिले डाक्टर बाबुरामजी काँग्रेसलाई म्युजियममा राख्ने कुरा गर्न थाल्नु भएको छ । वास्तवमा एउटा लोक कथा छ जोगी र बिच्छी कीराको । एकदिन जोगी आफ्ना चेलाहरुलाई लिएर नदीमा स्नान गर्न गएछन् । नदीमा स्नान गर्न पसेपछि जोगीले एउटा बिच्छी पानीमा बगेर आएको देखेछन् । अनि हातमा पानीसँगै बिच्छीलाई बाहिर पाखातिर हुत्त्याएछन् । तर बिच्छी जोगीलाई नै डस्न थालेछ र फेरि पानीमै झरेछ जोगीका हातबाट किनभने जोगीलाई उसको डसाइले पानी बाहिर हुत्त्याउन मुस्किल परेछ । तर जोगीले रगताम्य भए पनि बारम्बार कोसिस गरेर बिच्छीलाई पाखामा फाल्न सकेछन् ।
दुवै हात रगताम्य हुँदा पनि जोगीले बिच्छीलाई बचाएको देखेर शिष्यहरुले सोधेछन्— गुरु महाराज, हजुरले त्यसरी डसे पनि किन त्यसलाई बचाउनु नै भयो ? अनि जोगीले भनेछन्—बिच्छीले मलाई चिन्दैनथ्यो तर मैले त बिच्छीलाई बचाउने प्रण गरेको थिएँ । त्यसरी बगेर आउँदा पनि उसले अरुलाई डस्ने आफ्नो गुण बिर्सेन भने म मानिस भएर पनि उसलाई बचाउने गुण कसरी बिर्सन सक्थेँ र ? सबैले आफ्नो जे गुण छ, विशेषता छ देखाउने गर्छन् । मानिसले तर मानवता बिर्सनु हुँदैन ।
६. यो नैतिकताले भरिएको लोककथा हो जसले मानव जीवनको एउटा ऐना हामीमाझ देखाउँछ । ठीक त्यस्तै नेकपाको स्वरमा स्वर थप्दै बाबुरामजीले नेपाली काँग्रेसलाई म्युजियममा राख्न लायक देख्नु भएछ, त्यसमा नेपाली काँग्रेस, त्यसमा पनि गोरखाका, अनि जनयुद्धमा अकारण माओबादीबाट पीडितहरुले धन्यवाद आफ्नो दललाई र बाबुरामजीलाई दिनैपर्छ ।
माथि भने जस्तै भोलि पनि उहाँलाई गोरखामा नै उठ्ने इच्छा लागेछ र अर्को कुनै पार्टीमा जानु भएन छ भने, त्यो बेलाा पनि गोरखामा जित्न त काँग्रेसनै चाहिएला । जोगीको जस्तो गरुन् काँग्रेसले भनेर शुभकामना दिनै पर्छ बाबुरामजीलाई सहयोग गर्ने काँग्रेस र बाबुरामजीलाई जसले गुणको बदला गुणले नै तिरिरहनु भएको छ । हुन त निःशर्त गरेको सहयोगमा काँग्रेसलाई कुनै आपत्ति पनि छैन होला तर हामी बाहिर बसेर पर्यवेक्षण गर्नेहरुका लागि भने लाजै लागेर आयो ।
उहाँले आफ्नो पुरानो दलका साथीहरुसँग कुनै गुनासो भए भन्नुहोस्, नयाँ शक्ति पार्टीको अवसान गरेकोमा अरुलाई केही पनि भन्नु छैन तर कुनै सहयोगी विना सहयोग गर्ने पार्टीलाई विनाकारण गाली गर्नुमा कुनै अभीष्टता होला बाबुरामजीको तर बाहिरबाट हेर्दा पार्टी मिले पछि र नयाँ दल बनेपछि अलि धेरै हौसिनु भएको देखियो ।
७. काँग्रेस पनि जनजागरणमा लागेको छ । सायद यसको जबाफ जनजागरणमा पनि काँग्रेसले देला तर कस्तालाई सँसदीय निर्वाचनमा सहयोग गर्ने, कोसँग मिल्ने , कोसँग नमिल्ने भन्ने कुराको पनि नेपाली काँग्रेसले आगामी दिनमा स्पष्ट नीति बनाओस् ।
८. एउटा प्रसङ्ग बीपीको उदारमनको । २०३६सालमा घोषित जनमतसँग्रहमा नेपाली काँग्रेस विनाशर्त होमियो । बीपी बहुदलीय पक्षले जित्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । राजाबाट निष्पक्ष भूमिका निर्बाह हुने कुरामा पनि उहाँ यसकारणले विश्वस्त हुनुहुन्थ्यो कि राजाले नै जनमतसंग्रहको घोषणा गरेका थिए । अनि बीपीले जनमतसंग्रहपछिको आम निर्वाचन जुन हुने अनुमान गरिन्थ्यो बहुदलीय व्यवस्थामा, त्यसमा सबै प्रमुख नेताहरुलाई सँसदमा ल्याउनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।
उहाँको विचारमा टंकप्रसादजी, मातृका बाबु, डाक्टर के आइ सिँह जस्ता नेताहरु जसको कुनै बलियो दल थिएन, तिनीहरुलाई काँग्रेसले जित्ने ठाउँबाट भने पनि सँसदमा प्रतिनिधित्व गराउनु पर्छ भन्ने थियो । त्यसैले यसपटकको निर्वाचनमा बाबुरामजी, उपेन्द्रजी, प्रचण्डजी, महन्थजी, कमल थापा, पशुपति समशेर, सुनील थापाजीहरुलाई सहयोग गर्नु एउटा राजनीतिक चेतनाको प्रयोग थियो । प्रयोग असफल भयो त्यो पनि काँग्रेसलाई नराम्रो प्रभाव छोड्दै र अत्यन्त अल्पमतको विपक्षी हुनेगरी । तर अचम्भ, त्यत्रो गठबन्धन हुँदा पनि काँग्रेसको औसत मतमा खासै फरक परेन । फरक परेको देखियो साँसदको संख्यामा मात्र ।
९. संसद्मा सत्तापक्षले काँग्रेसको कुनै पनि भनाइलाई गम्भीरताका साथ लिएको छैन । काँग्रेसले त्यो कुरामा पनि पनि गम्भीरताका साथ ध्यान गएको त देखिन्छ तर आपसमा विवादको अन्त्य भने भएको देखिँदैन । भ्रातृ सँस्थाहरुको व्यवस्थापन नभई कसरी काँग्रेस बलियो होला या प्रमुख प्रतिपक्षी भएर सरकारलाई दबाब दिन सक्ला ? एउटा प्रजातान्त्रिक शक्ति कमजोर भयो भने कसरी मुलुकमा कम्युनिस्ट शक्तिले प्रजातन्त्रका नाममा बबन्डर गर्न सक्छ भन्ने कुरा बिस्तारै देखिन थालेको छ । अचम्भ मान्नेहरु पनि छन् पुरानो एमालेबाट कसरी अधिनायकवादको अभ्यास होला भनेर ।
१०. अन्त्यमा यतिमात्र भनौँ—मुलुकमा नयाँ अस्थिरताको जन्म भएको छ, नयाँ नयाँ संक्रमणकालेका उदय हुन थालेको छ । त्यसमा सबै प्रजातन्त्रवादीहरु र प्रगतिवादीहरु एक भएर सँगै गएनन् भने आउने समस्याको समाधान पनि टुक्रे हुनेछ र सँक्रमणकालले नयाँ नयाँ फुलबुट्टा बनाउन भ्याउने छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...