विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रबाट गरिने अपेक्षा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रबाट गरिने अपेक्षा

हरिविनोद अधिकारी

१. भारतमा लोकसभाको निर्वाचन सम्पन्न भएको छ र प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी फेरि प्रधानमन्त्री हुने निश्चित छ । यसैक्रममा आगामी विहीवार प्रधानमन्त्रीको पुनः शपथ लिनका लागि प्रधानमन्त्री पदबाट राजीनामासमेत दिइसक्नु भएको छ ।

गणतन्त्र भारतको प्रधानमन्त्री हुनुभन्दा पहिले उहाँ भारतको गुजरात प्रान्तको मुख्यमन्त्री हुुनुहुन्थ्यो । एउटा सफल मुख्यमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीको रुपमा भारतीय राजनीतिमा उदाउनु भएको थियो । वाक्पटु, भाषणको कलाले जादुमय वातावरण बनाउन सिपालु मोदीले सुरुमा नेपालीहरुको मन जित्नु भएको थियो ।

तर नेपालको संविधानको घोषणापश्चात् जुन राजनीतिक माहौल बन्यो र भारतले नेपालका नाकाबन्दीसमेत लगायो,त्यसले नेपालीहरुमा केही भ्रम, शङ्का र आगामी दिनमा नेपाल भारत सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने विष्मय देखिन्छ । तर कोशी, गण्डकी , शारदा, गंगामा यसबीच धेरै पानी बगेर समुद्रमा पुगेकाले भावी दिन पहिलेको जस्तो नकारान्मक नहुने कुरामा पर्यवेक्षकहरु विश्वस्त देखिन्छन् ।

२. भारतको निर्वाचनलाई विश्वले बडो ध्यानका साथ हेरिरहेको थियो । मोदी सरकारको यस्तो प्रभाव होला भनेर विश्वभर अनुमान गरिएको थिएन तर भारतमा निर्वाचनको परिणामको अनुमान गर्नेहरुले भारतीय जनता पार्टीको सरकार बन्नेसम्मको अनुमान गरेका थिए तर यसरी एउटै भारतीय जनता पार्टीले ५४२मा ३०० साँसदहरुको संख्या नै पु¥याउने छ भन्ने अनुमानचाहिँ लगाएका थिएनन् ।

भारतमा मोदी धेरै पछि स्थिर सरकार लिएर आउनु भएको थियो र अब झन पाँचवर्षका लागि यो सरकार विश्वमा नै बलियो प्रजातान्त्रिक सरकारको रुपमा आम प्रजातन्त्रवादीहरुका लागि आशा र भरोसाको केन्द्र हुनसक्छ । विश्वमा देखिएको अस्थिर राजनीति र मडारिन लागको अशान्तिलाई भारतले शान्तितर्फ मोड्न सक्नुपर्छ भनेर विश्वभरका प्रजातन्त्रवादीहरुले चाहेको देखिन्छ ।

३. भारतीय राष्ट्रिय काँग्रेसले जसरी पनि बलियो प्रतिपक्षको स्थान लेला भन्ने अनुमान पनि गलत साबित भयो ।अध्यक्ष राहुल गान्धी स्वयंले परम्परागतरुपमा विजय हासिल गर्ने निर्वाचन क्षेत्र अमेठीबाट पराजय भोग्नुप¥यो । हुन त उहाँले बायनाडबाट जिते पनि त्यसलाई भाजपाले पलायन भएको अर्थसमेत लगाएको देखियो ।

त्यो कसले कसरी जित्यो वा कहाँबाट जित्यो , त्यो भारतको आन्तरिक मामिला हो तर हामीले भारतको प्रत्येक राजनीतिक मोडले विश्वमा प्रजातन्त्रप्रति कस्तो प्रभाव पर्ला र सहयोग होला भनेर समीक्षा भने गर्नैपर्छ । तेस्रो विश्वमा प्रजातन्त्रका लागि र प्रजातन्त्रका पक्षमा बोल्ने अरु कुनै देश हाल छैनन् । पहिलो विश्व , दोस्रो विश्वमा प्रजातन्त्रका विरुद्धमा खासै कोही पनि केही गर्न सक्दैन तर तेस्रो विश्वमा प्रजातन्त्रको हत्या गर्दा र प्रजातन्त्रलाई त्यहाँका शासकहरुको खेलौना बनाउँदा पनि र प्रजातन्त्रलाई जसरी अर्थ लगाए पनि मान्नुपर्ने त्यहाँका जनताको भाग्य बनेको अवस्था जो छ ।

४. प्रजातन्त्रमा जनता नै भगवान हुन् । जनताको अपेक्षामा एकपटक ठेस लागे पछि उनीहरुले विकल्प खोज्छन् र भारतीय राष्ट्रिय काँग्रेसको विकल्पमा जनताले सोलोढोला भारतीय जनता पार्टीलाई मुलुक फेरि पाँच वर्षका लागि जिम्मा लगाएका छन् । विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रमा जे जति समाजिक, आर्थिक तथा राजनीतिक रुपान्तरण हुनेछन्, ती जनताको इच्छाबमोजिम प्रजातान्त्रिक प्रक्रियाबाट हुनेछन् भन्ने कुरा हालको लोकसभा निर्वाचनले फेरि पुष्टि गरेको पाइन्छ ।

४० वर्षसम्म निष्कण्टक राज्य गरेको काँग्रेस , दुई दशक विना प्रतिरोध बंगालमा राज्य गरेको कम्युनिष्ट पार्टीहरु अब ती ठाउँमा नभेटिने अवस्था देखिन्छ । त्यसको पछिल्तिरको अर्थ के हो भने ती दलहरु जनताको अपेक्षाभन्दा आफ्ना विवादका भुमरीमा परे र आफ्ना नियतलाई जनताको इच्छा भनेर आत्मरतिमा भुले ।

५. भारतमा निर्वाचन भयो र नयाँ सरकारको नेतृत्व पनि फेरि भाजपाले गर्ने अनि भाजपाका नेता प्रधानमन्त्री नरेन्द्र मोदी फेरि प्रधानमन्त्री हुनु भएपछि नेपालमा फेरि शङ्काको वादल देखिन थालेको छ । तर आफू कुनै पनि निर्णय वदनियतपूर्ण नलिने प्रण गर्नुभएका महामहिम मोदीले अब नेपाललाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन गर्नुहुने अनुमान गर्न सकिन्छ ।

हालको सरकारले मोदीको पुनरागमनलाई सहजरुपमा लिएको देखिन्छ तर भारतमा सरकार परिवर्तनसँगै नेपालमा पनि हालको सरकार धरमराएको भनेर राजनीतिक टिप्पणीकारले भन्न थालेका छन्  । नेकपा भित्रै देखिएको असन्तुष्टि र विश्व राजनीतिमा देखिन थालेको ध्रुवीकरणसँग नेपालमा कम्युनिष्ट शासनमा पनि उदार अनुदारको रेखा खिचिन थालेको आभास पाइन्छ ।

६.नेपालको राजनीतिमा सिधै कुनै पनि देशले हस्तक्षेप गर्दैन तर हामीले हस्तक्षेपका लागि आह्वान गछौँ र त्यो हस्तक्षेपले आफूलाई हानि हुन थालेपछि विदेशी हस्तक्षेपको लेपन लगाउँछौँ । भारतको प्रत्यक्ष हस्तक्षेप नहोला तर शक्तिकेन्द्रहरुले मोदी सरकारसँग केही अपेक्षा गरेर नै होला, आधिकारिकरुपमा प्रधानमन्त्री नहुँदै आफूलाई प्रधानमन्त्री सरह मान्ने र अरुलाई पनि तत्कालै वधाइ दिने गैर कूटनीतिक काम हुन थालको पाइन्छ हिजो पनि र आज पनि । स्वाभिमानको लागि कतिपय कुरामा धैर्यता र कतिपय कुरामा शिष्टताको पनि आवश्यकता पर्छ । अनावश्यक शक्ति सञ्चय र आवश्यकताभन्दा बढी सम्मानले नकारात्मकता नै बढाउँछ ।

७. र अन्त्यमा भारतको निर्वाचनले केही तरङ्ग पक्कै ल्याएको होला । नेपालको राजनीतिलाई कतिपय अवस्थामा भारतसँग तुलना गरेर हेर्न पनि थालिएको होला । परिवारवाद, एकलौटी शासन वाद , भारतीय कम्युनिस्टको अवस्था र नेपालमा कम्युनिस्टको बढ्दो अवस्था सबै नै तुलनात्मक विषय बनेका छन् । बेल्ट एन्ड रोड इनिसिएसनमा भारत र अमेरिकाको चाहना र रुचि रहेको पाइँदैन । हामी अलि बढी नै हौसिएका छौँ ।

हाम्रालागि चिनियाँ रेल बढी नै आवश्यक बस्तु ठानेका छौँ । भारतलाई चिढ्याउन हामी बढी नै चीनको आड भरोस लिन थालेका छौँ भनेर भन्न थालेका छन् हाम्रा अरु मित्रहरु । यसमा भारत र अमेरिकासँग नेपालले स्पष्ट हुनु जरुरी छ र मात्र नेपाल भारतको सम्बन्धलाई स्वतन्त्ररुपमा अर्थ लगाउन सकिन्छ । भारतको नयाँ सरकारले नेपाललाई समानताको दृष्टिले हेरोस् र नेपालको प्रजातन्त्रलाई कतैबाट कुनै हानि नहुने कुरामा बढी नै प्रत्याभूत दिने कोसिस गरोस् किनभने संसारको सबैभन्दा ठूलो प्रजातन्त्रको त्यो कर्तव्य पक्कै हुन्छ र पूरा गर्न पनि पर्छ ।

त्यसलाई पक्कै नेपालीहरुले वाह्य हस्तक्षेपको रुपमा लिने छैनन् जस्तो कि यसभन्दा पहिले पनि सहयोग अपेक्षित थियो ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ जेष्ठ १४, ०७: २५

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ जेष्ठ १४, ०७: २५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७६ जेष्ठ १४, ०७: २५

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...