सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ स्थानीय तहले आफूहरूका लागि विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित पालिकाले मल उठाउन आवश्यक पहल नगरेको जनाएको छ।

मन्त्रालयले तत्काल मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई प्रत्यक्ष रूपमा मल बिक्री गरिने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर र अछाम जिल्लाका विभिन्न स्थानीय तहले तोकिएको परिमाणको रासायनिक मल उठाएका छैनन्।

कैलालीमा गोदावरी नगरपालिकाले २१ हजार २३० किलो, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो तथा धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलो रासायनिक मल हालसम्म उठाएका छैनन्।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४०० किलो मल नउठाएको तथ्यांकमा उल्लेख छ।

अछाम जिल्लामा रहेका पाँच स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले पनि हालसम्म मल ढुवानी गरेका छैनन्।

धान रोपाइँको मुख्य सिजन सुरु भइसकेको अवस्थामा स्थानीय तहबाट मल ढुवानी र वितरण प्रक्रियामा आवश्यक समन्वय नहुँदा किसानले मल अभावको समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। वर्षे धान रोपाइँको समय नजिकिँदै जाँदा मल वितरणमा भएको ढिलाइले कृषि उत्पादनमा समेत असर पर्ने जोखिम बढेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनीमार्फत उपलब्ध हुने मलको ५२ प्रतिशत कैलाली र ३२ प्रतिशत कञ्चनपुर मा वितरण गरिने व्यवस्था छ। बाँकी १६ प्रतिशत मल डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटी लगायतका जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ।

प्रदेशका ४३ स्थानीय तहमध्ये १७ पालिकाले मात्र रासायनिक मल उठाएका छन् भने २६ पालिकाले हालसम्म मल नलगेको मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई आवश्यक समन्वय र वितरण प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ आपूर्ति तीव्र
कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ आपूर्ति तीव्र
  • २०८३ जेष्ठ २८, ०७: ५२

काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको...

नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने
नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने
  • २०८३ जेष्ठ २८, ०७: ५२

काठमाडौं । नेपालका लागि खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।...

उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
  • २०८३ जेष्ठ २८, ०७: ५२

काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षमा उखु किसानहरूले पाउनुपर्ने अधिकांश रकम चिनी मिलमार्फत भुक्तानी भइसकेको जनाएको छ। १३ वटा चिनी...