२०४७को मल्लिक आयोग र २०६३को रायमाझी आयोगको सिफारिस कार्यान्वयन आवश्यक – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper
अहिलेको अवस्थाको निर्मम समीक्षा होस्

२०४७को मल्लिक आयोग र २०६३को रायमाझी आयोगको सिफारिस कार्यान्वयन आवश्यक

१. नेपालको राजनीतिले उच्चस्तरको परिवर्तनको माग गर्न लागेको देखिन्छ । जुन तरिकाले मुलुक चलिरहेको रहेछ, त्यसका तरिकामा परिवर्तनको आवश्यकता देखिन्छ । त्यो तरिका भनेको प्रजातन्त्रका मिहिन लक्ष्यहरु पूरा गर्नु हो । प्रजातन्त्रलाई ओझेलमा पारेर सत्ता कब्जाले मात्र प्राथमिकता पाएको अवस्थामा परिवर्तन आवश्यक देखिन्छ । दलहरु सिद्धान्तभन्दा बढी सत्ताको मात्र ताबेदारी गर्न थालेकाले अनावश्यक सङ्कटतर्फ देश होमिन थालेको आभास पाइन थालेको छ ।

२. लोकतन्त्र या प्रजातन्त्र जे भनौँ, त्यसका विश्वव्यापी मान्यता हुन्छन्, जसको सम्मान गर्नु सबै प्रकारका सरकारको कर्तव्य मानिन्छ । मुलुक एउटा व्यक्ति जस्तै हो, उसका पनि दैनिक घटना , परिघटना घटिरहेका हुन्छन् र शासन प्रणालीले तिनको ठिक ठिक तरिकाले समाधान गर्दै जानुपर्छ । शासन प्रणालीप्रति चित्त नबुझ्दा जनताले प्रजातान्त्रिक तरिकाले विरोध गर्न पाउँछन् र सत्तामा हुनेले त्यसका बारेमा चित्त बुझ्ने गरी प्रजातान्त्रिक तरिकाले समाधान खोज्नुपर्छ र मुलुकमा अमन चयन कायम गर्नु गराउनु पर्छ ।

३ं २०८१साल चैत्र १५ गते संघीय राजधानी काठमाडौँमा दुईओटा जनप्रदर्शन आयोजना गरिएका थिए जसलाई स्थानीय जिल्ला प्रशासन कार्यालयले अनुमति पनि दिएको देखिन्छ । आफूलाई राजाबादी भन्नेहरुको आमसभाका लागि तोकिएको स्थान तीनकुने कोटेश्वर रहेछ भने आफूलाई समाजवादी मोर्चा भनेर चिनाउने गणतन्त्रवादीहरुमध्ये चारवटा दलहरुको आमसभा भृकुटी मण्डपमा अनुमति दिइएको रहेछ । अर्थात् एकैदिन एकै समयमा जस्तो दुईओटा जनप्रदर्शनका लागि समय तोकिएको रहेछ । सायद शान्तिपूर्ण रुपमा हुने भनिएको आमसभा जति तोके पनि हुन्छ भनेर स्थानीय प्रशासनले हल्का तरिकाले सोचेको जस्तो पनि लाग्यो किनभन दुवैतर्फबाट शक्ति प्रदर्शन भनेर भनिँदै आएको थियो ।

४. फागुन २५ गते पूर्व महाराज ज्ञानेन्द्रको पोखराबाट काठमाढौँ आउँदा देखिएको मानव भेलाको आडमा राजावादीहरुले शक्ति प्रदर्शनका नाममा आफ्नो तागत देखाउन चाहेका थिए र फागुन पूर्व राजाको भनाइलाई मूर्तरुप दिन जनआन्दोलनको घोषणा गरिएको थियो । आफूलाई राजावादी भन्ने समूह र व्यक्तिहरुको भेलाका रुपमा तीनकुनेमा हुने भनिएको भेला अचानकजस्तो अनियन्त्रित र हिंसात्मकरुपमा प्रस्तुत भएको देखियो । यसमा जनआन्दोलन आयोजकहरुले प्रहरीको ज्यादतीका विरुद्ध देखिएको स्वतःस्फूर्त विद्रोह भनिएको छ भने प्रहरी तथा स्थानीय प्रशासनका तर्फबाट अनियन्त्रित हिंसात्मक भीडलाई नियन्त्रण गर्न र आत्म सुरक्षाका लागि अश्रुग्याँस, रबर गोली र गोली चलाउनु परेको भनिएको छ । जसले जे भने पनि दुईजना नेपालीहरुको ज्यान गएको छ, एकजना सविन महर्जनको गोली लागेर र पत्रकार सुरेश रजकको अनियन्त्रित भीडले व्यक्तिको घरमा लगाएको आगोमा डढेर मृत्यु भएको छ । कैयौँ सरकारी, व्यक्तिगत गाडीहरु जलेका छन्, करिब २०० व्यक्तिहरु घाइते भएका छन् । करोडैाँको क्षति भएको छ, व्यक्तिगत, सामुदायिक तथा सरकारी सम्पत्तिको क्षति यसरी भएको छ कि आन्दोलनकारीहरु नियोजित रुपमा आज के के गर्ने भनेर तयारीसाथ आएको जस्तो पनि देखिन्छ भने तितर वितर भएको अनियन्त्रित भनिएको भीडले जसरी सञ्चार गृह, सञ्चारकर्मी, गणतन्त्रवादी दलहरुका कार्यालय तथा सरकारी कार्यालयहरु, र व्यक्तिगत पसल, स्टोरहरुमा लुटपाट गरिएको देखिन्छ, त्यसले झन्डै झन्डै बाङ्लादेशको जस्तो अवस्था झल्काउँछ । अर्थात् आन्दोलनका कमान्डर मानिने मेडिकल व्यवसायी दुर्गा प्रसाईले आओ आओ भन्दै प्रहरीलाई पेल्दै हिँडेको दृश्यले जुन अराजकताको सीमा नाघेको देखियो, त्यसले तयारी धेरै पहिलेदेखि र अन्तिम रहेको देखिन्छ भन्ने राजनीतिक पर्यवेक्षकको धारणा छ ।

५.आन्दोलनकारीहरुको तर्फबाट जनआन्दोलन समितिको साँचो पूर्र्व राजासँग थियो भन्ने आरोप लाग्नु र पूर्वराजासँगै भेटेर आएपछि पत्रकार सम्मेलनमा जनकमान्डर तोकिनुले , फागुन ६को पूर्व महाराजको अभिव्यक्तिसमेतले निर्णायकरुपमा प्रजातन्त्रको आजको मोडेलविरुद्ध गतिलै तयारी देखिन्छ भन्ने आरोप गणतन्त्रवादी नेताहरुको छ र सिधै चैत्र १५ गतेको हिंसात्मक आन्दोलन या तोडफोड, अनियन्त्रित घटनाको दोष पूर्वराजामाथि लागेको छ । पहिलो प्रदर्शनभन्दा पहिले नै राजावादीहरुले सहमति, सम्झौताका कुरा गर्नु र राजाको पुनस्र्थापनामात्र अन्तिम लक्ष्य भनेर तोकेकोले स्थिति अझै अनियन्त्रित र झन ठुला ठुला दुर्घटना पर्खेर बसेको जस्तो पनि देखिन्छ । त्यतिमात्र होइन, शक्तिशाली स्वतन्त्र न्यायिक आयोगका समेत माग राजावादी राप्रपाबाट आएको छ । एकातिर राप्रपा चैत्र १५गतेको घटनाको जबाफदेही लिन चाहँदैन तर आफ्ना वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल समशेर राणाको २४घन्टाभित्र शीघ्र रिहाइको माग गरेको छ । स्मरणीय छ, मिश्र र राणा फौज्दारी मुद्दाका अभियुक्त बनाउनका लागि स्थानीय प्रशासनले प्रहरी हिरासतमा राखेको छ ।

६. सरकारले शक्तिशाली आयोग बनाओस्, तर यसभन्दा पहिलेका आयोगहरुको शीघ्र प्रकाशन गरेर त्यसका सिफारिस गरिएका कुराहरुको तत्काल कार्यान्वयन गरोस् । यदि तत्कालीन सरकारले तत्कालीन राजासँग केही सम्झौता गरेको छ भने त्यो पनि सार्वजनिक गरोस् जसको सहमतिमा राजगद्दी छोडिएको थियो । २०४७सालको मल्लिक आयोग र २०६३सालको रायमाझी आयोगको शीघ्र सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसहरुलाई कानुनी दायरामा ल्याओस् । चैत्र १५गतेको घटनामा पनि आयोग बनाओस् र त्यसको सिफारिसलाई पनि कार्यान्वयन गर्न हिम्मत गरोस् । अहिले मुलुक संक्रमणकालीन न्यायको अन्तिम किनाराको काममा जोड दिएको बेलामा यसलाई पनि जोडोस् ।

७. र अन्त्यमा, सरकार यसरी चल्दैन । सरकारले जनताका सेवा गरोस् । आपसमा दन्तबझान गर्नुभन्दा मुलुकको अवस्थाको निर्मम समीक्षा गरोस् । मुलुक सबैको हो । शान्तिसुरक्षाको प्रवन्धमा भएको चुकलाई सरकारले भावी दिनमा सुधार गरोस् । यसरी , आजको अवस्थामा धेरै वितृष्णा छ । त्यो वितृष्णा प्रजातन्त्रका विपक्षमा देखिनु हुँदैन भन्ने आम धारणा छ । प्रजातन्त्र भनेको आत्म अनुशासन हो , जनताको मागलाई एकातिर बिर्सनु हुँदैन। भावी दिनमा यस्ता घटना नघटून् भन्नेमा स्थानीय प्रशासन, प्रहरी प्रशासन, गृह प्रशासन सतर्क हुनुपर्छ र आपसमा बसेर सल्लाह गर्ने बानीलाई निरन्तरता दिनुपर्छ । प्रजातन्त्रको विकल्प भनेको उच्चस्तरको सेवासििहतको प्रजातन्त्रमात्र हो, गणतन्त्रको विकल्प पछिल्तिर फर्कनु कदापि होइन, अझ उच्चस्तरको प्रजातान्त्रिक हक अधिकारको प्रयोगसँग नागरिक कर्तव्यको सचेतना पनि हो । अहिलेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले आफ्नो निर्मम समीक्षा गरोस् । राज्यमा अन्य सबै निकायहरुले आफ्ना कामकर्तव्यको समीक्षा गरुन् । बरु त्यसका लागि पनि शक्तिशाली आयोग बनाउन सरकारका सबै अङ्गहरुको तदारुकता देखियोस् । अहिले सुशासन छैन, भ्रष्टाचार मौलाएको छ, कोही कसैलाई टेर्दैनन् भन्ने जनगुनासोको तत्काल संबोधन जरुरी छ । दलहरुमा आन्तरिक प्रजातन्त्र छैन भन्ने पनि गुनासो छ । अनि प्रजातन्त्रको सबैभन्दा ठुलो शक्ति भनेको नै दलहरुको सुव्यवस्थापन हो र आन्तरिक प्रजातन्त्रको जगमा उभिएका कार्यकर्ताहरुले मात्र जनताका भावनाको प्रतिनिधित्व गर्न सक्छन् सरकारमा, संसदमा । जब गणतन्त्रवादी र राजतन्त्रवादीहरुमा सैद्धान्तिक बहस सुरु भएकै हो भने त्यसको संवैधानिक निराकरण पनि तत्काल आवश्यक छ किनभने त्यसको निराकरण २०६५सालमा नै भएको होइन र ? भन्ने धारणा पनि उत्तिकै प्रबल छ ।

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८१ चैत्र १८, १५: २५

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८१ चैत्र १८, १५: २५

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८१ चैत्र १८, १५: २५

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...