पाकिस्तानको आतंकविरुद्ध भारतीय प्रधानमन्त्रीको कडा वक्तव्य – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पाकिस्तानको आतंकविरुद्ध भारतीय प्रधानमन्त्रीको कडा वक्तव्य

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानमा पलाउँदै आएको आतंकवाद विरुद्ध कठोर सन्देश दिएका छन्। ‘अपरेशन सिन्दूर’ मार्फत भारतीय सेनाले पाकिस्तानभित्र रहेका आतङ्कवादी लुकेकास्थान र तालिम केन्द्रहरूमा सटीक आक्रमण गरेको जानकारी दिंदै प्रधानमन्त्री मोदीले भने, “भारत अब आतंकवादको जवाफ आफ्नै सर्तमा दिन्छ। आतंकवादका हरेक श्रोत र संरक्षणदाताहरूमाथि कडा कारबाही गरिन्छ।”

उनका अनुसार मे ६ को रात र मे ७ को बिहान भारतीय सेनाले सीमा पार गरि पाकिस्तानको आतङ्कवादी संरचनामाथि आक्रमण गर्‍यो। यस कारबाहीमा पाकिस्तानस्थित मुरीदके, बहावलपुर जस्ता कुख्यात आतङ्कवादी अड्डाहरू ध्वस्त पारिएको छ। यी स्थानहरू भारतमै नभई विश्वभर गरिएका आतङ्कवादी गतिविधिहरूको मूल जड रहेको बताउँदै उनले भने, “अब भारत शान्तिको पक्षमा छ, तर कमजोरीको प्रतीक होइन। जब शान्तिमा बाधा आउँछ, भारत दृढ भएर प्रतिकार गर्छ।”

प्रधानमन्त्री मोदीले अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको स्मरण गर्दै सो हमलाले सम्पूर्ण देशलाई झस्काएको बताए। उनले आतङ्ककारीहरूले निर्दोष नागरिकहरूको हत्या गरेर एकताविरुद्ध घृणित षड्यन्त्र रचेको उल्लेख गरे। “हामीले हाम्रो बहिनी-बुहारीहरूको सिन्दूर मेटाउनेहरूमाथि सीधा आक्रमण गरेका छौँ,” प्रधानमन्त्री मोदीको भनाइ थियो।

उनले भने, “अपरेशन सिन्दूर कुनै साधारण कारबाही होइन, यो देशको कोटि-कोटि जनताको भावनाको अभिव्यक्ति हो, जसले न्यायको खोजी गरिरहेको थियो। यो नयाँ भारतको न्यु नर्मल हो—जहाँ आतङ्कको जवाफ तुरुन्त, तीव्र र निर्णायक रूपमा दिइन्छ।”

पाकिस्तानको जवाफ र भारतको प्रतिक्रिया

प्रधानमन्त्री मोदीले पाकिस्तानले भारतको आक्रमणपश्चात कायरतापूर्वक भारतीय स्कूल, मन्दिर र सर्वसाधारणको घरहरूमा आक्रमण गर्ने दुस्साहस गरेको आरोप लगाए। उनले थपे, “भारतको वायु रक्षा प्रणालीले पाकिस्तानका मिसाइल र ड्रोनहरूलाई आकाशमै ध्वस्त पारिदियो। पाकिस्तानको आत्मविश्वास चकनाचुर भयो र उनीहरू वार्ताको लागि गुहार गर्न थाले।”

मे १० मा पाकिस्तानी सेनाले भारतका रक्षा अधिकारीसँग सम्पर्क गरेर तनाव नचाहेको सन्देश पठाएको प्रधानमन्त्री मोदीले खुलासा गरे। उनले भने, “हामीले कारबाही स्थगित गरेका छौं, तर ध्यान दिनुहोस्—यो समाप्ति होइन, केवल स्थगन हो। अब पाकिस्तानका हरेक कदमलाई निगरानी गरिनेछ।”

भारतको तीनसूत्रीय नीति

प्रधानमन्त्री मोदीले भारतको नयाँ सुरक्षा रणनीति तीन आधारमा आधारित हुने जानकारी दिए ।

जवाफको अधिकार – भारतमाथि कुनै पनि आतङ्कवादी हमला भएमा कडा प्रतिशोध दिइनेछ।

न्युक्लियर ब्ल्याकमेल अस्वीकार्य – भारतले परमाणु धम्कीको ओछ्यानमा आतंक फैलाउनेहरूलाई बर्दास्त नगर्नेछ।

सरकार र आतङ्ककारीबीच भिन्नता छैन – आतङ्कमा संलग्न सरकारहरूप्रति पनि उस्तै कारबाही हुनेछ।

उनले अपरेशन सिन्दूरमा मारिएका शीर्ष आतङ्ककारीहरूलाई श्रद्धाञ्जली दिन पाकिस्तानी सैन्य अधिकारीहरूको उपस्थितिलाई ‘राज्य–प्रायोजित आतंकवाद’ को प्रमाणका रूपमा चित्रित गरे।

‘मेड इन इन्डिया’ रक्षा क्षमताको प्रदर्शन

प्रधानमन्त्री मोदीले भारतीय सेनाले प्रयोग गरेका स्वदेशी ड्रोन, मिसाइल र रक्षा प्रणालीको प्रशंसा गर्दै भने, “२१औँ शताब्दीको युद्धमा ‘मेड इन इन्डिया’ अब केवल विकल्प होइन, पहिलो रोजाइ बनिसकेको छ।”

उनले भारतको समग्र सुरक्षा क्षमतामा आत्मनिर्भरता बढेको र विश्वले पनि भारतीय प्रविधिलाई अब गम्भीरताका साथ लिने समय आएको बताए।

शान्ति र शक्ति सँगसँगै

भाषणको अन्त्यमा प्रधानमन्त्री मोदीले बुद्धपूर्णिमाको प्रसङ्ग जोड्दै शान्तिको महत्वमा जोड दिए। “भगवान बुद्धले देखाएको शान्तिको बाटो शक्ति हुँदै जान्छ। भारतले शक्ति प्रदर्शन गरेर शान्तिको बाटो सुनिश्चित गरेको छ,” उनले भने।

“भारत शान्तिप्रिय देश हो, तर यदि कसैले भारतको सहनशीलतालाई कमजोरी ठानेर दुस्साहस गर्छ भने उसलाई जवाफ पनि यति नै कठोर हुने छ,” प्रधानमन्त्री मोदीले चेतावनी स्वरूप भने।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ बैशाख ३०, १४: ४२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ बैशाख ३०, १४: ४२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ बैशाख ३०, १४: ४२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...