भुटानविरुद्ध नेपालको सहज जित, सेमिफाइनलमा मलेसियासँग खेल्ने – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

भुटानविरुद्ध नेपालको सहज जित, सेमिफाइनलमा मलेसियासँग खेल्ने

काठमाडौं : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच विकेटको क्षतिमा तीन सय ५८ रन बनायो । श्रीवास्तवले एक सय ६८ रनको योगदान दिए । उनले एक सय ३२ बल खेल्ने क्रममा पाँच छक्का र १६ चौका हाने । यस्तै जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ तथा सुगम बुढाथोकीले ३५ रन बनाए । बलिङतर्फ भुटानका सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट लिए ।

तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ दशमलव ४ ओभरमा ९ विकेट गुमाउँदै मात्र ६० रन बनायो । भुटानका लागि सुजन दावाले १४ तथा उयोग छोफेलले १० रन बनाए । भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन् ।

बलिङतर्फ नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । यस्तै सचिन भट्ट र सुयोग भट्टराईले दुई दुई विकेट लिए ।

नेपाल समूह चरणका चारवटै खेलमा विजेता बनेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त  समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपालले अब बिहीबार सेमिफाइनमा मलेसियासँग खेल्ने छ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए ।

सम्बन्धित समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०८२ असार १७, १४: ४४

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०८२ असार १७, १४: ४४

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८२ असार १७, १४: ४४

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...