समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।

स्वर्गीय प्रदीप गिरि फेलोसिप कार्यक्रमको वीरगञ्जमा उद्घाटन गर्दै सभापति थापाले गिरिका विचार, लेख तथा दर्शनले समावेशिता र संघीयताबाट मुलुक, लोकतन्त्र तथा नेपाली कांग्रेस बलियो हुने दृष्टिकोण प्रस्तुत गरेको बताए ।

स्वर्गीय गिरिको जीवनी र वैचारिक योगदानबारे चर्चा गर्दै थापाले भने, ‘उहाँका लेख, रचना र दर्शनको अध्ययन गर्दा समावेशिता र संघीयता लागू भएमा मुलुक तथा प्रजातन्त्र बलियो हुन्छ भन्ने सोच रहेको स्पष्ट हुन्छ ।’

उनले मधेस आन्दोलनपछि मात्रै संघीयताको अवधारणा आएको भन्ने बुझाइ सही नभएको उल्लेख गर्दै गिरिले लामो समयदेखि समावेशिता र संघीयतामार्फत मुलुक, प्रजातन्त्र र नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने विचार राख्दै आएको बताए ।

थापाले आफूले प्रदीप गिरिलाई प्रत्यक्ष भेट्नुअघि नै उनका लेख तथा रचनाहरू पढ्न थालेको स्मरण गरे । अध्ययन र लेखपढीमा विशेष रुचि राख्ने गिरि नयाँ पुस्ताले सहजै बुझ्न र नजिकबाट आत्मसात् गर्न सक्ने सरल तथा सादगी व्यक्तित्व भएको उनको भनाइ थियो ।

राजनीतिक दृष्टिकोण निर्माणका क्रममा गिरिका विचार बुझ्नु आवश्यक रहेको उल्लेख गर्दै थापाले नेपालको विविधता र लोकतन्त्रलाई कसरी समावेशी तथा सार्थक बनाउने भन्ने विषयमा उनका विचार र प्रयास सधैँ महत्त्वपूर्ण रहने बताए ।

प्रदीप गिरि इन्स्टिच्युटले स्वर्गीय गिरिको जन्मजयन्तीको अवसर पारेर फेलोसिपको पहिलो समूहका लागि सोमबारदेखि आवेदन खुला गरेको जानकारी दिएको छ । वीरगञ्जबाट कार्यक्रम सार्वजनिक गर्दै इन्स्टिच्युटले अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा आवेदन आह्वान गरेको हो ।

स्वर्गीय गिरिका जीवनका आदर्श, मूल्यमान्यता, विचार र दर्शनलाई जीवन्त राख्दै नयाँ पुस्तासँग जोड्ने उद्देश्यले फेलोसिप कार्यक्रम सञ्चालन गरिएको इन्स्टिच्युटले जनाएको छ । नेपाली कांग्रेसका सभापति थापाले फेलोसिपको अनलाइन आवेदन फारम सार्वजनिक गर्दै औपचारिक रूपमा आवेदन खुला गरेका थिए ।

प्रदीप गिरि इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले युवाहरू आफ्नै गाउँठाउँका समस्या पहिचान गर्ने, समाधान खोज्ने र सार्वजनिक नीतिका विषयमा बहस गर्न इच्छुक भए पनि पर्याप्त अवसर नपाएको बताए । क्षमता भएर पनि अवसरबाट वञ्चित युवालाई लक्षित गरी फेलोसिप कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

नेपाली कांग्रेसको सहकार्यमा कार्यक्रम अघि बढाइएको बताउँदै झाले यसले स्वर्गीय प्रदीप गिरिका सोच, विचार र मूल्यमान्यतालाई समाजमा विस्तार गर्न तथा युवालाई सकारात्मक र रचनात्मक सार्वजनिक बहसमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

फेलोसिपका तीन विधामध्ये पहिलो ‘विचार : अनुसन्धान तथा लेखन फेलोसिप’ रहेको छ ।

दोस्रो विधा ‘कर्म : न्याय फेलोसिप’ अन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरिनेछ । उनीहरूले मधेस र संघीय राजधानीमा कानुनी सहायता डेस्क सञ्चालन गर्नेछन् ।

तेस्रो विधा ‘निष्ठापूर्ण असहमति : निबन्ध पुरस्कार’ रहेको छ । यो फेलोसिप नभई वार्षिक निबन्ध पुरस्कार हो । आफ्नै राजनीतिक दल, संस्था, आन्दोलन वा पेसाभित्रका कमजोरीमाथि आलोचनात्मक दृष्टिकोण राखेर लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई पुरस्कार प्रदान गरिनेछ ।

फेलोसिपमा दलित, मधेसी, आदिवासी तथा जनजाति समुदाय, महिला र काठमाडौं उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइनेछ । विशेषगरी दुर्गम तथा सीमान्तकृत क्षेत्रका आवेदकलाई प्राथमिकतामा राखिने इन्स्टिच्युटले जनाएको छ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८३ मंसिर १, १९: ३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८३ मंसिर १, १९: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८३ मंसिर १, १९: ३६

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...